इपीजी प्रतिवेदन नेपाल र भारतले एकसाथ बुझ्नेगरी तयारी भइरहेको छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरवलोकन गर्न गठित प्रबुद्ध व्यक्तिको समूह (इपीजी)को प्रतिवेदन बुझ्न दुवै देशका तर्फबाट गृहकार्य भइरहेको बताएका छन्।
बुधबार बसेको राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री दाहालले प्रतिवेदन दुवै देशले एकैसाथ बुझ्नेगरी आन्तरिक तयारी गरिएको जानकारी दिए। उनले एकैपटक बुझ्ने स्थिति नआएमा के गर्ने भनेर नेपालले निर्णय लिने अवस्था आउने पनि स्पष्ट पारे।
प्रधानमन्त्री दाहालले संघीय निजामती ऐन ल्याएर संघीयतालाई बलियो बनाउनेमा आफ्नो जोड रहेको भन्दै केही दिनभित्रै सदनमा पेस हुने बताए। त्यस्तै तराई-मधेस द्रूतमार्गको प्रस्थान विन्दुको खोकना क्षेत्रमा जग्गा अधिग्रहण गर्ने काममा सहमति खोज्ने काम भइरहेको बताए। उनले कूल २४ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये तीन वटा सम्पन्न भइसकेको र अन्यको पनि निर्माण तीव्ररूपमा भइरहेको बताए।
त्यस्तै प्रधानमन्त्री दाहालले संसदीय समितिले दिएको निर्देशन र सुझावहरूलाई सरकारले गम्भीरताका साथ लिएको बताए। उनले प्रदेश समन्वय परिषद्को बैठक बसेर संघीयता कार्यान्वयनको सम्बन्धमा भएको विभिन्न निर्णयहरू कार्यान्वयन भइरहेको बताए।