नेपाल धितोपत्र बोर्डले कहिले र कस्तो पाउला अध्यक्ष ?

बोर्ड अध्यक्ष छान्ने कार्यविधि बनेसँगै आवेदन खुला

नेपाल धितोपत्र बोर्डले कहिले र कस्तो पाउला अध्यक्ष ?
फाइल तस्बिर।

काठमाडौं : नेपाल धितोपत्र बोर्ड अध्यक्षको नियुक्तिको लागि समिति बनेको करिब डेढ महिनापछि बल्ल कार्यविधि बनेको छ। अध्यक्ष चयनको कार्यविधि बनेसँगै बुधबार सार्वजनिक सूचना प्रकाशन गर्दै आवेदन माग भएको छ। तर, पुस २० गतेदेखि रिक्त पद यो वर्ष भने पूर्ति नहुने पक्का भएको छ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षको छनोट तथा सिफारिससम्बन्धी कार्यविधिअनुसार अध्यक्ष चयनको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गत माघ पहिलो साता नै गठन भएको थियो। समितिले छनोट प्रक्रियाको पहिलो चरणको सुरुवातै ढिला गरेकाले केही समय लागेको छ।

बोर्ड अध्यक्ष सिफारिस गर्न गठन भएको समितिले मंगलबारमात्र कार्यविधि तयार गरेको हो। यसअनुसार अब लामो समयदेखि खाली रहेको बोर्ड अध्यक्षको लागि उक्त कार्यविधिअनुसार नै उपयुक्त तीन व्यक्तिको नाम सिफारिस हुनेछ। बुधबारको सूचनाअनुसार तीन जनाभन्दा कमको आवेदन परेमा दोस्रो पटक ७ दिनका लागि अवधि तोकेर आवेदन दिन विज्ञापन गर्नु पर्नेछ। ‘तीन जनाभन्दा कम आवेदकको आवेदन परेको अवस्थामा पहिलो चरणमा परेका आवेदनहरूलाई यथावत् राखी थप आवेदनको लागि सात दिनको म्याद दिई पुनः दरखास्त आह्वान गरिनेछ,’ कार्यविधिमा उल्लेख छ।

त्यसपछि आवेदकलाई चार आधारमा मूल्यांकन गरिनेछ। आवेदकको व्यावसायिक कार्ययोजना, शैक्षिक योग्यता, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तापछि योग्य तीन उम्मेदवारको नाम सरकारलाई सिफारिस गर्नेछ। सरकारले तीनै तीनमध्ये एकलाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ।

हाल बोर्ड अध्यक्ष पद रिक्त हुँदा नियमित नीतिगत कामकारबाहीसमेत रोकिएको छ। प्रशासनिक कार्यका लागि कार्यकारी निर्देशक डा. नवराज अधिकारीले कायममुकायमको भूमिका निभाइरहेका छन्। ढिलै भए पनि सिफारिस समितिले कार्यविधि बनाएपछि अब कस्तो अध्यक्ष आउलान् भन्ने चासो सबैको छ। भावी अध्यक्षले पुँजी बजारका समस्याहरूबारे बुझेको नियमन गर्न सक्ने, अनुभवी, इमान्दार र वित्तीय क्षेत्रमा प्रतिष्ठित व्यक्तित्व हुनुपर्नेमा जोड दिन्छन्, नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्की। कार्कीका अनुसार उनी केही समययता पुँजी बजारमा केही विचलनहरू देखिएको बताउँछन्। कार्की भन्छन्, ‘आईपीओ, एफपीओ जारी गर्ने प्रसंगमा अध्यक्ष, सञ्चालकहरूमा इमान्दारिता नहुँदा समस्या देखिए। म हुँदा नै सञ्चालक, कर्मचारीका लागि र सूचीकृत कम्पनीहरूका लागि पनि आचारसंहिता लागू गरिएको थियो। यो इमान्दारीपूर्वक लागू भएन। यसको पालना पूर्ण रूपमा गर्ने व्यक्ति चाहिन्छ।’

अर्कातर्फ लामो समयदेखि दुईओटा कमोडिटी एक्सचेन्ज (वस्तु विनिमय बजार) ल्याउने भनेको पनि टुंगो लागेको छैन। यसैले अब आउने अध्यक्षले मनोपोली बजार भइरहेकोले दुई कमोडिटी एक्सचेन्ज ल्याउनुपर्ने पूर्वअध्यक्ष डा. कार्कीले सुझाव दिए। धितोपत्र दलालहरूको शुल्क घटाउनेबारे अर्थ मन्त्रालयमा काम अड्किएको बताउँदै उनले वास्तवमा ब्रोकर शुल्क अधिकतमको सीमा राखेर खुला प्रतिस्पर्धा गरिनु पर्नेमा उनले ध्यानाकर्षण गराए।
पूर्वअध्यक्ष कार्कीले दक्षिण एसियामध्ये नेपालमा ट्रेडिङ लागत उच्च भएकाले घटाउन सुझाव दिएका छन्। ‘प्राथमिक बजार, दोस्रो बजारको सुधार गर्दै सहभागीहरूको क्षमता वृद्धि, स्टकको नियामकीय र सुपरभाइजरी, धितोपत्र बोर्डमा मौद्रिक नीतिको हस्तक्षेपलाई तटस्थ बनाइनु प¥यो,’ डा. कार्कीले थपे। 

बोर्डका अर्का पूर्वअध्यक्ष डा. चिरञ्जीवी नेपाल कार्यविधिले तोकेअनुसार मापदण्डमै रहेर आउने अध्यक्ष उचित हुने बताउँछन्। अबको अध्यक्षले गर्नुपर्ने कामबारे सुझाव दिँदै भन्छन्, ‘नेपाल जत्रो मुलुकलाई दुईवटा स्टक एक्सचेन्च चाहिँदैन भनेको हो तर अर्को स्टक एक्सचेन्ज आयो भने अबको नयाँ अध्यक्षलाई ठूलो चुनौती हुन्छ। किनभने सेयरको मूल्यमा ठूलो चलखेल हुनेछ। यसैले अत्यन्त नियमन गर्न सक्ने, इमान्दार, काम गर्न सक्ने क्षमतावान् अध्यक्ष जरुरी छ।’ बजारलाई राम्रोसँग अध्ययन गरेर सेयर मूल्यलाई स्थिर गर्ने खालका अन्तर्राष्ट्रिय बजारका विभिन्न खालका औजारहरू छन्, त्यसलाई प्रयोग गरेर सेयर बजारलाई अझै आधुनिक बनाउनुपर्ने उनको सुझाव छ। बजारलाई आधुनिकसँगै पारदर्शी, सेयर मूल्यलाई बढी उतारचढाव हुन नदिने क्षमता भएको व्यक्ति अध्यक्ष हुनुपर्नेमा उनले जोड दिए।

केही समययता पुँजीबजारमा विचलन देखिएको छ यो। केही काम अड्किएका पनि छन्। आउने दिनमा ब्रोकर शुल्कमा अधिकतम सीमा राखेर खुला प्रतिस्पर्धा गरिनुपर्छ। बोर्डले विद्युतीय निगरानी प्रणालीमार्फत सुपरिवेक्षण बढाउनुपर्छ। इन्डेक्स डेरिभेटिभ र क्रसब्रोडर ट्रेडिङको पनि सुरुआत गर्न आवश्यक छ।
डा.रेवतबहादुर कार्की, पूर्वअध्यक्ष, नेपाल धितोपत्र बोर्ड

अर्को स्टक एक्सचेन्ज ल्याउँदा नयाँ अध्यक्षलाई ठूलो चुनौती हुन्छ। यसैले कडा नियमन गर्न सक्ने, इमान्दार तथा क्षमतावान् अध्यक्ष आउनु पर्छ। धितोपत्र बजारलाई थप आधुनिक, पारदर्शी बनाउन तथा मूल्यलाई बढी उतारचढाव हुन नदिने क्षमता भएको व्यक्ति अबको बोर्ड अध्यक्ष हुनुपर्छ।
डा. चिरञ्जीवी नेपाल , पूर्वअध्यक्ष, नेपाल धितोपत्र बोर्ड

कस्तो व्यक्ति बन्छन् अध्यक्ष ? 

कार्यविधिअनुसार बोर्ड अध्यक्ष बन्नका लागि धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको अनुभव हुनु पर्नेछ। दरखास्त आह्वानपछि इच्छुक व्यक्तिको आवश्यक योग्यता तथा अनुभव तोकिएको छ।

जसअनुरूप धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरको लब्ध प्रतिष्ठित व्यक्ति हुनु पर्नेछ। यस्तै, धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव हासिल गरेको र सोही ऐनको दफा ११ बमोजिम अयोग्य नभएको हुनुपर्ने छ। साथै, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधनसहित) को दफा ३ (ग) बमोजिम ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको व्यक्ति योग्य हुनेछन्।

यससँगै, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) ले तोकेबमोजिम देहायको अयोग्यता नरहेको हुनुपर्छ। जसमा भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएको र प्रचलित कानुनबमोजिम कालोसूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको, मानसिक सन्तुलन ठीक नभएको हुनुपर्नेछ।

कसरी छानिन्छन् अध्यक्ष ?

सिफारिस समितिले तोकिएबमोजिमको योग्यता र अनुभव भएका आवेदकहरूले दरखास्तसाथ पेस गरेको व्यावसायिक कार्ययोजनाको परीक्षण गर्नेछ। परीक्षणबाट प्राप्त अंकको आधारमा औसत अंक निर्धारण गरी व्यावसायिक कार्ययोजना बापतको प्राप्तांक गणना गरिनेछ। तोकिएबमोजिमको योग्यता र पेसागत अनुभव भएका आवेदकहरूको शैक्षिक योग्यताबापतको प्राप्तांक तथा पेस भएको व्यावसायिक कार्ययोजनाबापतको प्राप्तांकको योगफल निर्धारण गरी उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारहरूमध्ये सम्भव भएसम्म पाँच जना उम्मेदवारहरूको संक्षिप्त सूची तयार गरी व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका लागि छनोट गर्नेछ।

व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणका लागि छनोटमा परेका आवेदकहरूले तोकिएको मिति र समयमा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गर्नु पर्नेछ। प्रस्तुतीकरणका लागि ३० मिनेट समय प्रदान गरिनेछ। व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका लागि छनोट भई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका लागि उपस्थित उम्मेदवारहरूको शैक्षिक योग्यताबापतको प्राप्तांक पेस भएको व्यावसायिक कार्ययोजनाबापत नियमअनुसार प्राप्तांक, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको औसत प्राप्तांक तथा अन्तर्वार्ताको औसत प्राप्तांकको योगफल निर्धारण गरी उच्चतम अंक प्राप्त गर्ने तीन जना उम्मेदवारहरूको नाम वर्णानुक्रमानुसार सिफारिस गरिनेछ।

तर तीनजना भन्दा कम आवेदकको आवेदन परेको अवस्थामा पहिलो चरणमा परेका आवेदनहरूलाई यथावत् राखी थप आवेदनको लागि सात दिनको म्याद दिई पुनः दरखास्त आह्वान गरिनेछ। पुनः दरखास्त आह्वान गर्दा थप आवेदन परे वा नपरे पनि छनोटसम्बन्धी प्रक्रियालाई अगाडि बढाउन सकिनेछ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.