सर्वमान्य पर्व महाशिवरात्रि

सर्वमान्य पर्व महाशिवरात्रि

सनातन हिन्दु धर्मका अनुयायीहरूले फागुन महिनाको कृष्णपक्षको अन्धकारपूर्ण रात्रिका बेला भक्तिभावले मनाउँदै आएको पर्व हो, महाशिवरात्रि। यो सत्यम्, शिवम्, सुन्दरम् परमात्मा शिवले कल्पपूर्व गरेको दिव्य कर्तव्यको यादगार पर्व हो। वर्तमान समयमा सर्वत्र अन्याय, अत्याचार, हत्या, हिंसा, भय र अशान्तिको कोलाहलपूर्ण वातावरण भएकाले यो कठिन अवस्थामा मानिसलाई अनेक प्रकारका दुःख, कष्ट र पीडा भोग्नुपर्ने बाध्यता आइपर्ने भएकाले यो विकट र अन्योलपूर्ण स्थितिलाई नै लाक्षणिक भाषामा रात्रि शब्दबाट सम्बोधन गरिएको हो।

अति धर्मग्लानी र चरम असत्यको बेलामा नै अज्ञान अन्धकारलाई नष्ट गर्न सत्य धर्मस्थापक, सत्य ज्ञानदाता, परमात्मा शिवको यस धरतीमा अवतरण हुन्छ। शिव शब्दको अर्थ नै हो कल्याणकारी हो। त्यसैले परमात्मा शिवले सदा सबैको कल्याण गर्नुहुन्छ। दुःखकष्टबाट उद्धार गरी मुक्ति र जीवनमुक्ति दिनुहुन्छ। शिव अर्थात् प्रकाशस्वरूप, दिव्य ज्योतिर्मय, स्वयम्भू अखण्ड ज्योतिरूप, ओजस्वी, तेजस्वी जसको यादगार सर्वत्र संसारभर ज्योतिर्लिंगम् रूपमा पूजन हुन्छ। अन्य देवपुरुष, महापुरुषको जस्तै उहाँको सुन्दर आकृतिबाट अलंकारित कायिक चित्र कहीँ छैन।

शास्त्रीय भाषामा ज्योतिर्लिंगम् अर्थात् शिवलाई दिव्य प्रकाशमय रूपमा वर्णन गरिएको छ। शिव बीजरूप, आदित्य, आदिरूप, वृक्षपति, उत्पत्ति, पालना र लयकर्र्ताका रूपमा सर्वमान्य र सर्वोपरि रूपमा स्वीकारिएको छ। देवका पनि देव त्रिमूर्ति ब्रह्मा, विष्णु, शंकरका पनि रचयिता, देवात्मा, धर्मात्मा, महात्मा तथा पुण्यात्मा र पैगम्बरका पनि अधिष्ठाता उहाँ बीजरूप हुनुहुन्छ। शिव परमात्मा अकाया, अजन्मा र अयोनिज, जन्म मरणबाट पर हुनुहुन्छ। त्यसैले उहाँलाई ‘शिव परमात्माय नमः’ को मन्त्रबाट पुकार गरिन्छ।

इस्लाम धर्मका प्रवर्तक इब्राहिम तथा मुस्लिम धर्मका पैगम्बर मुहम्मदले परमात्मा अर्थात् अहल्लाहलाई नूर (ज्योति)को रूपमा मान्छन्। मक्कामा संगे असवद शिवलिंग आकारको कालो पत्थर आकाशबाट खसेको किंवदन्ती छ। महात्मा बुद्ध ईश्वरका विषयमा मौन रहे पनि वटवृक्षमुनि बसेर तपस्याको पराकाष्ठामा पुग्दा उहाँलाई बोधिसत्वको साक्षात्कार प्रकाशरूपमै भएको थियो। जापानका बुद्धिष्टहरूले चिनकिन सेकीनामक शिवलिंगाकारको प्रतिमालाई शान्तिको प्रतीक मानेर त्यसको ध्यान गर्छन्। जिसस क्राइष्टले ‘परमात्मा प्रकाशमय हुनुहुन्छ, म उहाँको पुत्र हुँ’ भनेका छन्। शिख धर्ममा गुरुनानकले एकोंअकार, सतनाम्, अकालमूर्त रूपमा परमात्माको महिमा गरेर ‘परमात्मा अशरीरी, अव्यक्तमूर्त हुनुहुन्छ’ भनेका छन्।

ईश्वरको मूल शाश्वत सत्य स्वरूपका विषयमा कहीँकतै विवाद र विरोधाभास छैन। ईश्वर र धर्मका नाममा भएका लडाइँझगडा विवाद वास्तवमा पछिल्ला साम्प्रदायिक अज्ञानजनित सोचका त्रुटिपूर्ण उपज हुन्। प्रत्येक धर्मको मूलमान्यता सत्य, प्रेम, सद्भाव, दया, करुणा र अहिंसा नै हो। यहुदी धर्मका पैगम्बर हजरत मुसालाई पहाडमा आगोको झिल्काको जेहेवाको साक्षात्कार भएकाले उनीहरूले पनि ईश्वरलाई ज्योतिरूपमा नै स्वीकार्छन्। जैन धर्ममा पनि सत्यशीलापति दिव्य प्रकाशमय स्वरूपमा परमसत्तालाई स्वीकार्छन्।

सनातन हिन्दु धर्ममा सोमनाथदेखि पशुपतिनाथसम्मका सबै प्राचीन शिव मन्दिरमा शिवलिंगका ज्योतिर्मयस्वरूप नै पाइन्छन्। वेदमा शिवम् केवल ‘भासकम भासकनामम्’बाट गायन हुनु, गीतामा ज्योतिषा अपि तत् ज्योतिको रूपमा उल्लेख हुनु, शिवपुराण, मनुस्मृति, स्कन्धपुराण आदिमा समेत सृष्टिको महाप्रलयका बेला अण्डाकार ज्योति प्रकट भई त्यसको उद्धार गरेको वर्णन लेखिनु तथा महाभारत वनपर्व, बाल्मीकि रामायणको उत्तरकाण्डमा शिव ज्योतिकै आराधनाको वर्णन हुनुले परमात्मा शिव ज्योतिर्मय नै सर्वज्ञ, सर्वोपरि र सर्वेश्वर भएको पुष्टि हुन्छ।

अरबको एक सहरको नाम अहिले पनि शिवम् नै छ। मोहन्जोदडो, हडप्पा, चुहुन्जोदडोे सभ्यताको उत्खननबाट शिवलिंग, नन्दीगणका प्रतिमा पाइएकाले र बेवोलियन सभ्यतामा सिउन, मिश्रको सभ्यतामा सेवा वा शिवजीबाट निस्किएको सेवाजिया नामले शिव प्रतिमाको पूजा गरिने चलन थियो भन्ने पुष्टि हुन्छ। मिश्रमा शिवलिंगलाई आइसिस अर्थात् ईश शब्दको नाम दिनु तथा रोमको सभ्यतामा प्रियपस नामबाट पुकारिनुले ती सभ्यतामा शिव प्रतिमाको प्रभाव देखिन्छ। चीनको प्राचीन सभ्यतामा शिवलिंगलाई हुवेड–हिफुह नामबाट पुजिन्थ्यो भने युनानमा शिवलिंगलाई फल्लुस नामले पुकारिन्थ्योे। इरानमा ज्वाला शिवलिंगको पूजा हुनु, संयुक्त राज्य अमेरिकाको टेन्सी सहरमा शिवलिंगलाई धनलिंग भनिनु तथा ब्राजिलमा शिव चिह्नका भग्नावशेष प्राप्त हुनुले मात्र होइन, प्रसिद्ध इतिहासकार तथा सोधकर्ता हट्टन र विद्वान् कर्नल टडका अनुसन्धानले शिवको प्रकाशमय स्वरूपका भरपर्दा सर्वमान्य आधार सिद्ध हुन्छन्। जसले शिव परमात्माको विश्वव्यापी सर्वस्वीकार्य ज्योतिर्मय छविको पुष्टि गर्छन्।

उल्लेखित तथ्यहरूबाट शिवरात्रि पर्व सनातनी सम्प्रदायहरूको मात्रै नभएर सम्पूर्ण मानव जाति, धर्म र संस्कृतिको समेत आस्थाको पर्व हो भन्न सकिन्छ। वर्तमानमा जसरीे शिवरात्रि पर्वलाई मनाउने गरिन्छ, त्यतिले मात्रै शिव परमात्माको विश्वकल्याणको महान् कर्तव्यको महिमालाई जनमानसमा प्रभावकारी रूपमा प्रवाहित गर्न सकिँदैन। प्रचलित रीतिरिवाज तथा कथावस्तुको रूपभन्दा त्यसको सारलाई बुझ्ने कोसिस गरेमा शिवरात्रि पर्वले मानव जीवन पद्धतिमा नयाँ मोड ल्याउने सशक्त सन्देश दिनेछ। शिव बुटीका नाममा सेवन गरिने भाङ र धतुरोजस्ता अस्वस्थ्यकर र विवेकलाई शून्य पार्ने तŒवहरूको कुलतबाट आमसमाज मुक्त हुनेछ।

वास्तवमा नराम्रा स्वभाव, संस्कार, कुलतबाट स्वयंमा दृढ मनोबल राखी आफूलाई सुरक्षित राख्नु र बचाउनु नै सच्चा व्रत हो। आत्मविभोर भई परमात्माको प्यारमा लवलिन भएर परमात्मा शिवको सानिध्यको अनुपम अलौकिक अनुभूति गर्नु नै सच्चा उपवास हो। निरन्तर ज्ञान योगको चिन्तन तथा अभ्यासमा संलग्न रही काम, क्रोध, लोभ, मोह, अहंकार आदि विकारहरूलाई परास्त गर्न सक्नु, ज्ञान प्रकाशबाट अज्ञान अन्धकारलाई नास गर्नु नै वास्तवमा जागृति हो। यसै चेतनाको आधारमा शिवरात्रि पर्वको मर्मलाई आचरणबद्ध गर्न सकेमा मानव जीवनमा सकारात्मक परिवर्तन भई समाज, राष्ट्र तथा विश्वमा सुख, शान्ति र समृिद्घको नयाँ वातावरण बन्नेछ।

सृष्टिचक्रको पुनरावृतिको कालखण्डमा पुनः परमात्मा शिव भगवान् पशुपतिनाथले प्रजापिता ब्रह्माको भाग्यशाली रथ (नन्दीगण) को मानवीय कायाद्वारा विगत ८८ वर्षदेखि विश्व नवनिर्माण तथा महापरिवर्तनको दिव्य कर्तव्य गरिरहनु भएको छ। यसबाट परमात्मा शिवबाबाले हाम्रा लागि सुख, शान्ति र पवित्रता सम्पन्न स्वर्गिक दुनियाँको राज्य भाग्य ईश्वरीय उपहारका रूपमा प्रदान गरिरहनु भएको छ। पवित्र र राजयोगी जीवनपद्धति अवलम्बन गरी यो उपहार लिन इच्छुक आत्मालाई सेवा गर्न ब्रह्माकुमारीजको विश्वव्यापी सेवा अनवरत रूपमा चलिरहेको छ। अतः यस वर्षको शिवरात्रि पर्वमा यस अद्भुत रहस्यप्रति चासो राखी स्पष्ट हुन सम्पूर्ण पाठक वृन्दमा हार्दिक अपिल पनि गर्छौं।

डा. राज ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.