खण्डहर दरबारको पाठबोध

खण्डहर दरबारको पाठबोध

सैनिक अस्पतालभित्र कलम बढी घुमेको छ। त्यहाँबाट बाहिर आउन नपाउँदा पाठकको टाउको पनि झन्झनाउँछ।

प्रिय साधक नगेन्द्रज्यू, खण्डहर दरबार (२०७९), तपाईंको नयाँ उपन्यास पढें । शीर्षकले नै यसको विषयवस्तु बुझाउँछ । आयो– कथा बुनोट र विन्यासको कुरा त्यस दिशामा उपन्यासकारको इन्जिनियरिङ अत्यन्त सरल, स्पष्ट र निश्छल छ । शब्द र लोकल मिथक टिपेर दौड्ने र सत्यता थाह गर्न नसकिने कयौं सामग्री समावेश गरेर उपन्यासले परम्परागत उपन्यास लेखनमा छल र अज्ञान रहेको थियो कि भन्ने प्रश्न पनि उठाएको छ । यो स्तुत्य सन्दर्भ हो ।

आगे– यसको कथा–विस्तारको इन्जिनियरिङ भीमसेन स्तम्भ पुरानो (भर्खरै ढलेको) धरहराको विधिमा छ । कथा सञ्चयनको जग र कथा–बीज अत्यन्त पक्का र आधिकारिक ढंगले लिइएको संकेत मिल्छ । भान्से, पूजाकोठे, सुसारे, ड्राइभर, रक्षकहरू यदि आधिकारिक पात्र र स्रोत मानिन्छन् भने यो उपन्यास त्यस्तै ढंगको पठनको अपेक्षा राख्तछ । उपन्यासले ठाउँ र पात्रलाई कतै परिवर्तन गरेको छैन । दरबारमा भएको युगान्तकारी घटनालाई 
लिएर कयौं आख्यान लेखिए ती यस सन्दर्भमा तुलनीय छैनन् । किन्तु साहित्यकार कति निकट पुग्छ र कति अविश्सनीयता टिपेर हिँड्छ भन्ने सत्य जान्न पनि तुलना त गर्नै पर्ने होला कि !

दरबारको यस अवाञ्छित अप्रिय घटनाको पृष्ठभूमिमा को थियो भन्ने सत्य यो उपन्यासले औंल्याएको छ, त्यो पनि झन्नै दूधभित्र घिउको अस्तित्वले देखिन्छ– कथाभित्र । नछोडी पढ्यो भने घटनाको सूत्रधार अवश्य फेला परेको अनुभव गर्नेछ– पाठकले । स्थापित मान्यता र धूमिल हुँदै गएका विश्वास पुनः जीवित गराइदिन्छ कि न । लेखन मीठो छ । कथाको उठान नै रोचक छ । उपन्यासले ठाउँ ठाउँमा महŒवपूर्ण वाक्य बोलेको छ । त्यसबाट कथानक डोर्‍याउन सजिलो पर्ने रहेछ । मैले पनि यो वाक्य पढें– ‘...दीपेन्द्रले गोली चलाएको हो भनेर जनतालाई विश्वास छैन । त्यो कुराको चेतना छ तँलाई ?’ उपन्यासको यो वाक्य छाता जस्तै भएको ठानें, किनभने यसकै छाताभित्र कथाले वस्तु र घटना शृंखला उन्दै हिँडेको देखें ।

घटनास्थल सफा पार्नु, वीर अस्पताललाई छल्नु, सैनिक रेखदेखमा चिकित्सा गराइनु र चिकित्सा–क्रियामा घुमाउने प्रक्रियाले नियन्त्रण गर्नु, चिकित्सा टोलीको तेजोबध गर्नु आदि कुराले अघिपछिका सम्पूर्ण गतिविधि सुनियोजित हुन् भन्ने कुरा औंल्याएर कलम समाउनेको शक्ति र पहुँचलाई आदरणीय र असाधारण बनाइदिएकोमा लेखनीलाई सश्रद्धा चुम्बन गर्दछु ।

अलिकति टिप्पणी पनि छ– सैनिक अस्पतालभित्र कलम बढी घुमेको छ । त्यहाँबाट बाहिर आउन नपाउँदा पाठकको टाउको पनि झन्झनाउँछ । योजनावद्ध–प्रशासनिक अपराधमाथि शोध गर्नेलाई चाहिँ बडो घतलाग्दो सामग्री हात पर्नेछ भन्ने बुझ्दैछु । फेरि पनि चिकित्सकहरूको प्रयास र तत्परता प्रशंसनीय छ– यद्यपि होच्याइयो । हामी पाठक चिकित्सकहरूप्रति सम्मान गर्छौं– उपन्यासमा ।

प्रिय लेखक, कयौं विषयमा लेख्न सकिन्छ । किन्तु एक–दुई प्रसंग कोट्याएर म कलम रोक्न चाहन्छु । युवराज दीपेन्द्र र देवयानीको संवाद प्रसंगलाई सम्बन्ध, प्रणय, इतिहास, सम्भावना र शंकाजस्ता कुरामा तपाईंको कलमले विस्तार पाउनुपर्ने थियो कि भन्ने लाग्छ । म त्यो भागले प्रश्रय पाउनुपर्ने थियो केही प्यारामा भन्ने ठान्छु । अर्को, पशुपतिशमशेर जबरा र देवयानीबीचको संवादलाई अझ विस्तारमा पुर्‍याउनुपर्ने थियो कि पशुपतिशमशेर त नेपालको राजनीतिलाई बुझ्ने तटस्थ र मानक व्यक्ति पनि हुन् । कयौं सन्दर्भ तानिन सक्थे । सही मूल्यांकन गर्ने आधार मिल्थ्यो कि ! त्यो फेरिको लेखनमा आउन सकोस् ।

अर्को देवयानीको मनोदशालाई यो उपन्यासले ऐजन मौकामा उजागर गर्न सक्थ्यो । त्यो प्रसंग यहाँ छलियो भन्ने लाग्छ । तपाईंको यी भाग कतै अर्काले उछिनेर नहिँडोस् । स्मरण गराउन चाहन्छु, राम–सीतासँग लक्ष्मण वन जान लागेपछि उर्मिला (लक्ष्मणकी पत्नी)को अवस्थाबारे कसैले वास्ता गरेन । धेरै समयपछि महाकवि अयोध्यासिंह हरिऔधले ‘साकेत’ महाकाव्यमा उर्मिलाको पीडा र उद्वेलित स्थितिको चर्चा गरे । के यो प्रसंग तपाईंले अरूकै जिम्मा दिनुभएको हो ?रानाभाट र जाँच टोलीको सन्दर्भ साँघुरो पारेर सकियो । अपुर्ण ।

प्रिय लेखक, साहित्यले ग्राम्य, अश्लील, जटिल, अप्रसिद्ध कुरालाई समावेश गर्न वर्जित गरेको छ । तर यो हिजोको रुढ र पुरातन कुरा हो । अहिले युग फेरियो । धेरै अप्रिय र त्याज्य कुरा ग्राह्य भएका होलान् । विशेष चर्चा फेरि कतै । ‘काटो’ प्रसंग बीभत्स, कहालीलाग्दो त्राटक नै लाग्छ । त्यो रीत संस्कृति हो भन्न मन मान्दैन । प्रिय र श्लाध्य कुरामात्र संस्कृति हुन्छ । घिनलाग्दो कुरा संस्कृति हुने गर्दैन । हामी त्यसको औचित्यबारे बहस गर्न सक्छौं किन्तु त्यस्ता कतिपय प्रसंगलाई संकेतबाटै पूर्णता दिनुपर्ने होला कि भन्छु । अन्यथा अझ घृणा र आक्रोश फैलाउँछ– त्यस्ता सन्दर्भले । यो मननीय छ कि न ।

भाषिक स्वरूप विगलित पार्ने र संस्कृतिको ज्ञानकोशलाई नष्ट गर्ने राष्ट्रिय चिन्तन चलेका वेला हामी पाठकले सुधारको कामना गर्नु व्यर्थ छ । त्यो पक्षमा मौनता वेश । प्रिय लेखक म जान्दछु– इन्जिनियर नगेन्द्र न्यौपाने यात्रा साहित्यको मानक या आदर्श लेखक पनि हो । जसरी वाङ्देलको चित्रकारले उनको साहित्यकारलाई पोषित गरेको छ, ऊर्जा भरेको छ, रंग–रेखाको विन्यासले सन्तुलन–दीक्षा दिएको छ, ठीक त्यसैगरी नगेन्द्रको इन्जिनियरले पनि उनको साहित्यलाई निश्चित बाटो, यात्रा र पहुँचमा वाञ्छित विधि–प्रविधिले सुललित र सन्तुलित सृजनको मन्त्रणा दिएको छ भन्ने लाग्दछ ।

यद्यपि दरबार बाहिरकी महारानीले नै नगेन्द्रको लेखनलाई औपन्यासिक विस्तारमा स्थापित गरिसकेको हो र यो खण्डहर दरबारले अझ माझिएको देखाएकै हो, फेरि पनि किन किन ‘कंगो र इथोपियाको सेरोफेरो’को मुक्त–विचरणलाई उछिन्ने लेखन–विधिको छाप भेट्न सकिरहेको छैन । शायद पहिली प्रेयसीको छविलाई नयाँ प्रेयसीले मेट्न सक्तिन कि न ! २ सय ४३ पृष्ठको ३५ सर्गको यो आख्यान मलाई छोटो नै लाग्यो । चाँडै नसकियोस् भनेर जोगाएर फारुफारु गरेर सकें । अझै सर्ग थपिएको भए हुन्थ्यो भन्ने कामना गरें । सरल र तर्करहित भाव–विन्यासले लाखौं पाठक लाभान्वित हुन सक्लान् । बाँकी फेरि ।


 समीक्षा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.