समृद्धशाली गन्धर्व जाति

समाज/संस्कृति

समृद्धशाली गन्धर्व जाति

गन्धर्व जातिसँग पृथक् अस्तित्व, इतिहास, पहिचान तथा पुख्र्यौली ज्ञान परम्परामा आधारित विशिष्ट ज्ञान छ। अर्बाजो, सारंगीमा गाउने मौलिक गायनकला छ।

गन्धर्व जातिसँग पृथक् अस्तित्व, इतिहास, पहिचान तथा पुख्र्यौली ज्ञान परम्परामा आधारित विशिष्ट ज्ञान छ। अर्बाजो, सारंगीमा गाउने मौलिक गायनकला छ। यो अलिखित संस्कृति, ज्ञान, शिल्पकला र बुद्धि उनीहरूसँग मात्र पाइन्छ। मौलिक विभिन्न भाका बनाउन, गायनकला गन्धर्वबाटै पछि अरूले सिकेका हुन्। आदिमकालमा सबैभन्दा पहिला भाका, लय वा सुर, ताल गन्धर्वले सुरुआत गरेका हुन्। उनीहरूले लामो समय प्रकृतिसँगको सामीप्यता र संघर्षबाट सिके, पछि अरूले सिर्जना गरे।

प्रकृतिमा भएको मेघगर्जन, खोलाको सुसाई, हावाको बहावी झोंक्का, चराको चिरबिर, मानवीय उदासी र उराठी क्षणलाई मनोरञ्जनमा भुलाउन भाका, लय, सुर, ताल र संगीत सिर्जनका आधार बने। अमेरिकाको अमेरिकन बार्ड, वेस्टर्न मिनिस्टल, अफ्रिकन ब्यालेड र इष्टर्न म्यूजिकको पुर्खाचाँहि गन्धर्व जाति नै हुन्। अर्थात् सारमा पश्चिमाहरूको संगीतभन्दा गन्धर्व गीत–संगीत, संस्कृति पुरानो छ। राजकुमार गन्धर्वका अनुसार अमेरिकी, अफ्रिकी र युरोपेली संगीतमा समेत गन्धर्व संगीतको प्रभाव देखिन्छ। नेपालमा एउटै गन्धर्व जातिसँग मात्र आफ्नो छुट्टै पिंगुल संगीतशास्त्र छ। यो उनीहरूको मातृभाषाको लिपि पनि हो। हिन्दूकरण हुनुअघिका किराँतीहरूका कुलदेवता शिव र गन्धर्वले मनोरञ्जनका लागि संगीत, नाचगानको विकास गरेका हुन्। विभिन्न धार्मिक ग्रन्थहरूमा भनिएको छ– ‘गन्धर्वले बजाएको संगीतमा किराँती शिवजी नाचे।’

चारवेदमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद छन्। त्यही गन्धर्व र किराँतीसँग जोडिएको संगीतलाई सामवेद रचनामा पछि समावेश गरिएको हो। नेपालको पहिलो लिखित गोपाल वंशावलीमा दमाईं जातिको उल्लेख छ। वाल्मीकि र वेदव्यासले लेखेको रामायण र महाभारत ग्रन्थको स्रोत दमाईं, बादी र गन्धर्व हुन् भन्ने कुरा प्राच्य महाकाव्यमा उल्लेख छ। यो तथ्य सन्दर्भले ज्ञानका खानी र श्रुति स्मृतिपरम्पराका जननी समुदायको पहिचान दिलाएको छ।

पदमबहादुर गान्धारी गन्धर्वका अनुसार धर्मशास्त्रमा विभिन्न परिस्थिति र देवगणहरूसँग बसेर गन्धर्वले वाद्यवादन बजाएको र प्रमुख भूमिका रहेको पाइन्छ। बाइबलको उत्पत्तिको चार अध्यायमा तालबाजा र सुरबाजा बजाउने गन्धर्वको उल्लेख छ। श्रीमद् भागवतमा र कृष्णलीलामा जब गन्धर्वले अर्बाजो र सारंगी बजाइरहेका थिए, जब उनीहरूको ताल खुस्कियो र स्वर्गबाट दुईजना गन्धर्व पृथ्वीमा झरे भन्ने उल्लेख छ।

आदिम सञ्चारकर्मी र समाचार वाहककोरूपमा पनि गन्धर्वलाई चिनिन्छ। किराँती शिवसँगसँगै हिमाली भूक्षेत्रमा विचरण गर्ने रैथाने मूलवासी गन्धर्व जातिले जंगली युगमा नाउर र कृषि युगबाट खसी, बाख्रा, बोका र भेडाको आन्द्राबाट अर्बाजो र सारंगीको तार बनाउने ज्ञानको विकास गरे। बकाइनो, साँज, खिर्रो, सालको काठबाट बनेको अर्बाजो, सारंगी, कुकुरडाइनाको धनु, घोडाको पुच्छर, स्वर तिखो पार्न सल्लाको खोटो र श्रीखण्डको सुन्दरी, बाख्राको छाला र आन्द्रा, बाख्राकै आन्द्राको तार, कालो दाललाई पिनेर बनाएको लेपनले सारंगीमा छाला टाँसिन्छ।

लामो जैविक प्रक्रियाबाट आन्द्राबाट तार बनाउने विधि, प्रक्रिया र ज्ञानको विकास गर्न त्यति सजिलो र सहज थिएन। यो गन्धर्व ज्ञान प्रक्रियाले पूर्णता पाउन हजारौं वर्ष लियो। गोरखाका पदबहादुर गान्धारी गन्धर्वका अनुसार आन्द्रालाई कीटाणुबाट बचाउन, कुहिन, सड्न, गल्न दिँदैन र तारलाई जैविक प्रक्रियाबाट बलियो बनाउन धागसेपुवा (गन्धर्व भाषामा एक प्रकारको वनस्पति)सँगै जाडोमा १५ दिन र गर्मीमा एक हप्ता राखिन्छ। यो विशेष प्रकारको जडीबुटीले घाउखटिरा, लुतो, चिलाउने, काटेको ठाउँमा रगत थाम्ने काम गर्दछ। आन्द्रालाई लाई दुहिएर मसिनो तारको रूपमा ओसिलो ठाउँमा सुकाएर तार तयार गरिन्छ। सारंगी बनाउने काठलाई ३–६ महिनासम्म पानीमा गाडेर राख्दा कीरा लाग्दैन र टिकाउ हुन्छ। यसरी खोज्दै जाँदा असली आदिवासी र प्रकृतिपूजक मूलवासी गन्धर्वलगायत सिंगो शिल्पी समुदाय रहेको सप्रमाण पुष्टि हुन्छ।

पुरानो अर्बाजो ३०–३२ इन्च र सारंगी २०–२२ इन्च लम्बाइको हुन्छ। अर्बाजो भाले ताल बाजा र सारंगी पोथी सुर बाजा हो। आन्द्रापछि प्यारासुटको तार, नाइलन, प्लास्टिक र ब्याडमिन्टनका तार र पछिल्लोपटक धातुका तार सारंगीमा प्रयोग गर्न थालियो। कामीले औंजार, सार्की र बादीले छाला र दमाईंले सारंगी सुरक्षाको लागि खोल बनाइदिन्छन्। सारंगीको आकारप्रकार, स्वरूप र बनावटमा गोरखा, दाङ, सल्यान, कास्की, दैलेख र काठमाडौंको फरक छन्। काठमाडौंतिर बजाइने सारंगीलाई काँठे सारंगी भनिन्छ। धादिङ, गोरखा, तनहुँ, लमजुङतिर बजाइने सारंगीलाई पश्चिमी सारंगी भनिन्छ। राजस्थान, अफगानिस्थान, मणिपुर र नेपालका सारंगीका सुर, ताल करिबकरिब मिल्दाजुल्दा हुन्छन्।

गन्धर्व मछुवाको रूपमा समेत परिचित छन्। गीतसंगीतका सिर्जनाकार एवं माछा मार्ने कलाको ज्ञानका सिर्जनाकारको रूपमा चिनिन्छन्। गन्धर्व भाषमा मरोवाई एक प्रकारको वनस्पतिबाट माछा मार्ने डोरी तयार गर्थे। यो हेर्दा हरियो देखिन्छ, पानीमा तलसम्म डुब्छ, र पनि लामो समयसम्म टिकाउ हुन्छ। हिउँदमा कास्की विजयपुर खोलामा तलबाट माथितिर माछा मार्छन्। साउन, भदौमा महिलाले भुटी माछा मार्छन्। फलामे बल्छीमा कीरा, फट्याङ्ग्रा र गड्यौला राखी डोरीमा फलामे ढिम्का राखेर छ्याप्पछ्याप्प पानीमा माछा मार्छन्।

गन्धर्व इतिवृत्तान्त

नेपाल गन्धर्व वा किन्नर भूमि पनि हो। सीप–कला, सांस्कृतिक सम्पदाका धनी, गर्विलो इतिहास बोकेका नेपालका गन्धर्व जाति अनादिवासी हुन्। इतिहासकार तथा लेखकहरूले उनीहरूको उद्भावस्थलका बारेमा फरक–फरक दृष्टिकोण राख्ने गरेका छन्। तर महाभारत, पौराणिक ग्रन्थ, वनपर्व, आदिपर्व ग्रन्थ र ऐतिहासिक तथ्य प्रमाणहरूले गन्धर्व जातिको मूल उद्गमथलो गण्डकी क्षेत्र भएको पुष्टि गर्दछ। भाषिक विकासक्रम र परिवर्तनको दौरानमा ‘गण्ड’, ‘गन्द’ र ‘गन्ध’ बाट अपभं्रश हुँदै ‘गन्धर्व’ हुन गएको विभिन्न अध्ययन अनुसन्धानमा उल्लेख गरेको पाइन्छ।

त्यो समयमा गन्धर्वहरू सांस्कृतिक अभियन्ता, कलाकार, गायक, लेखक, विद्वान्, राजामहाराजा, शासक, प्रशासक तथा विशेष ज्ञान प्राप्त ‘ऋषि’ उपाधिधारी पनि थुप्रै थिए। दलित देवो भवः पुस्तकमा आचार्य किशोर कुँडालले प्रस्तावनाको पृष्ठ–४, मा शुद्रकुलका ऋषिहरू उल्लेख गरेका छन्। जसमा– कवषआइलुष, महिदास, ऐतरेय, ऋषि दीर्घतमा, औशिज काक्षीवान, वत्सकाण्वायन, सुदक्षिण, क्षैमि, रैक्व ऋृषि, सत्यकाम, जाबाल आदि। त्यसैगरी, वाल्मीकि, नारद, शम्बुक र भारद्वाज पनि शुद्रवंशकै विद्वान ऋषिहरू थिए। यस सन्दर्भमा ‘गण्ड’ बाट गन्धर्व (गण्डव) ऋषिको नामबाट प्रादुर्भाव भई मध्य नेपालको भू–खण्डमा सप्तगण्डकीको रूपमा गण्डकी नदी प्रवाहित छ।

पूर्वमा लाङटाङ (गोसाइँथान)देखि पश्चिममा धौलाश्री (धवलागिरी) बीच गण्डकीको प्रभाव क्षेत्र पर्छ। यसको सात सहायक नदीमा त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी, मादी, सेती, कालीगण्डकी (शालिग्राम), दरौंदी हो। गण्डकीले मध्य नेपालको करिब ३७,८४५ वर्गकिलोमिटर भूमि समेटेको छ। यो करिब ३३८ किलोमिटर लामो छ। यसको प्रवाह १,७१३ क्युबिक मिटर प्रतिसेकेन्ड छ। सप्तगण्डकी क्षेत्रमा चौबिसी राज्यहरू थिए (पाँडे, रामकुमार, २०५५ : नेपाल परिचय)।

विश्वका प्राचीन चर्चित सभ्यताहरू नदी किनारबाटै विकसित भएको पाइन्छ। जस्तैः– मिश्रको सभ्यता नील नदी, मेसोपोटामियाको सभ्यता युफ्रेटस र टाइग्रिस नदी, बेबिलोन, ग्रिसेली, भारतको सभ्यता सिन्धु, गंगा, ब्रम्हपुत्र नदी र चीनको सभ्यता ह्वाङ– हो, पीत र याङ्सी नदी आसपासमै भएको थियो। पानीकै कारण त्यस्ता चिन्तन सभ्यता केन्द्रको उत्पति, विस्तार र विकास सम्भव भएको हो। नेपालका विभिन्न सभ्यताहरू पनि नदीकिनार र आसपासका क्षेत्रमै विकसित भएको पाइन्छ। अझै नेपाल भन्नेबित्तिकै विश्वको सर्वोच्च शिखर हिमालय क्षेत्र भएको भूमि भन्ने खुलस्तै छ। नेपाली नदी सभ्यताहरूमा–अनादिकालीन कर्नाली–भेरी हिमाली शिल्प (मानव) सभ्यता, राप्ती, बागमती, नारायणी, कमला र कोशी सभ्यताको विकासमा वरदान सावित जस्तै भएका छन्। यसैगरी गण्डक वा गण्डकी नदी सभ्यताको विकासमा अनादिवासी गन्धर्व जातिको महत्त्वपूर्ण योगदान रहिआएको छ। गण्डकी जलाधारको आसपासका क्षेत्रमा गण्डकी नदी सभ्यताको विकास गन्धर्व पूर्वजहरूले गरेका थिए। यो वास्वविकता इतिहासमा कतै उल्लेख गरिएको पाइँदैन।

त्यसै भू–क्षेत्रमा गन्धर्वहरू पनि फैलिएको देखिन्छ। त्यसबाट के प्रमाणित हुन्छ भने यिनीहरू नेपालका अनादिवासी भूमिपुत्र हुन्। धेरैको बुझाइ के छ भने ‘ऋषि’ भन्नासाथ क्षेत्री, बाहुन जात वा शासकहरू हुन्। तर यो बिल्कुलै सत्य होइन। सत्य के हो भने ‘ऋषि’ भन्नाले आदिमकालीन समयका बौद्धिक वर्गका जमात वा समूह हुन्। अर्थात् ‘ऋषि’ वर्तमान समयमा शिक्षाको उच्चतम उपाधि विद्यावारिधि जस्तै हो। डा. स्वामी प्रपन्नाचार्य, डा. जगमान गुरुङ, पद्मसिंह विश्वकर्मा र पण्डित, रिपलाल विश्वकर्मा जातले फरक भए पनि विज्ञताको हिसाबले पहिलाको पदावली वा संज्ञाका आधारमा ऋषि नै हुन्। अर्थात् संस्कृति भाषका ज्ञाता, संस्कृतिविद्, प्राज्ञिक व्यक्तित्व, चिन्तनीय प्रज्ञाले भरिपूर्ण जसले ज्ञानगुण, बुद्धि, विवेक र वुद्धिजीवीको रूपमा काम गर्ने गर्दथे। गण्डकी क्षेत्रमा गन्धर्व (गण्डव) नामका ‘ऋषि’ थिए। पछि गण्डवबाटै गन्धर्व कायम भएको पाइन्छ। जो अत्यन्तै बौद्धिक र विद्वान कहलिएका थिए।

वरिष्ठ किराँत अध्ययेता/लेखक रामचन्द्र राईको शोधअनुसार किराँत शब्द ‘मुन्धुम’बाट संस्कृतको ‘मन्त्रम’, किराँत ‘ऋसिया’बाट संस्कृतको ‘ऋचा’ र किराँत ‘ऋसियामुना’बाट संस्कृतिको ‘ऋषिमुनि’ भएको हो। रिसिया (ऋसिया) भनेको कसैलाई सम्बोधन गरेर मुन्धुम फलाक्नु हो। संस्कृतको ऋचा पनि वेदमा फलाकिएका शब्दहरू हुन्। किराँतमा मुन्धुम फलाक्ने मानिसलाई रिसियामुना वा रिसियामिना (मुना–मिनामान्छे) भनिन्छ। संस्कृतमा पनि वेदज्ञाता वा जानकारलाई रिसिमुनि (ऋषिमुनि) भनिन्छ। त्यसैले यहाँ स्मरणीय के छ भने किराँत सभ्यता र संस्कृतिकै समकालीन गण्डव ऋषि थिए। उनी ललितकला, नाचगान, सीप–कला, कौशलमा पोख्त थिए। यस क्षेत्रको ठूलो भू–भागमा गन्धर्वहरूले राज्यसमेत चलाएका थिए।

त्यसैगरी, पाँच पाण्डवले वनवासको क्रममा केही समय धौलागिरि (धौलाश्री) क्षेत्रमा पनि बिताएका थिए। यस क्षेत्रमा पाण्डवहरूको चियोचर्चा गर्नको लागि दुर्योधनका साथ कर्णलगायत कौरवहरू आएका थिए। जहाँ गन्धर्व राजाहरूले गौरवशाली, वैभवपूर्ण राज्यशासन गरिरहेका थिए। पछि कौरव र गन्धर्व राजाको बीचमा यस क्षेत्रको सरोवर (सम्भवतः फेवाताल आसपासको क्षेत्र) मा ठूलो लडाइँ भयो। युद्धकौशल र चतु¥याइँमा अत्यन्तै कुशल गन्धर्व राजा र उनका सैनिकहरूले कौरवहरूलाई पराजित गरेका थिए। कर्ण र दुर्योधनलाई त गन्धर्व राजा र सैनिकहरूले बाँधेर नै राखेका थिए। सो कुरा महाभारतको वनपर्वको आठौं अध्यायमा उल्लेख छ।

गन्धर्व राजाले अर्थात् गन्धर्व (गण्डव) ऋषिले गण्डव, गण्डक, गण्डकीमा बसेर विभिन्न भूगोल र क्षेत्रमा राजकाज गरेको यी तथ्यले पुष्टि गर्छन्। जसको राज्यकेन्द्र मणिपुर (पहिला गाविस)मा रहेको थियो। पछि पुरानो नाम मणिपुरमा ‘वेणी’ थपेर ‘वेणीमणिपुर’ नामकरण गरियो। सो क्षेत्र हाल नवलपरासी, गण्डकी नदीको त्रिवेणीधामको उत्तरतर्फ अरुण खोलाभन्दा माथि पाल्पा जिल्लासँगै जोडिएको पहाडी क्षेत्रमा छ।

सो पुरानो गाउँ अहिले ‘मध्यबिन्दु’ नगरपालिका र ‘विनयी त्रिवेणी’ गाउँपालिकाको रूपमा कायम भएको छ। जहाँ गन्धर्व शासनकालमा राजा चित्ररथ गन्धर्वले शासन गरिरहेका थिए। चित्ररथ गन्धर्वले सत्यावतीपुत्र राजा चित्रांगद गन्धर्वलाई मारेको महाभारत आदि पर्वको तेस्रो अध्यायमा उल्लेख गरिएको छ। सो समयमा गन्धर्व राज्यशासन पूर्वमा त्रिशूली, पश्चिममा राप्ती, उत्तरमा हिमालय क्षेत्र र दक्षिणमा त्रिवेणीधाम, अवध र गंगा नदीसम्म फैलिएको पाइन्छ। आजसम्म भौगोलिक तथ्य प्रमाणको रूपमा गन्धर्व राजकाज र उनीहरूको पैतृकभूमिको नामकरण अपभं्रशित हुँदै आएको पाइन्छ। तर नेपालको पुरानो प्राचीन दस्तावेजहरूमा भने त्यति भौगोलिक नाम बिग्रिएको पाइँदैन। जस्तो– वेणीमणिपुर, नवलपरासी निर्वाचन क्षेत्र नंं. ३, गौंडा (गण्ड), लमजुङ निर्वाचन क्षेत्र नं. १, र गौंडाकोट (गन्धर्वकोट), गुल्मी निर्वाचन क्षेत्र नं. २ मा छन् (नेपालका निर्वाचनहरू, २०६५ : नयाँ कोतपर्व दैनिक)।

यी नामहरू सबै ‘गण्ड’ गन्धर्वबाट विभिन्न रूप फेरिँदै परिवर्तन भएको तथ्यमाथि नै उल्लेख गरिसकिएको छ। गन्र्धवको रूप नै परिर्वतन गरी नामकरण भएका नगरपालिकाहरू पनि छन्। जसमा बागलुङको गण्डकोट हुँदै गल्कोट (गन्धर्वकोट), स्याङ्जाको गल्याङकोट (गन्धर्वकोट), गोर्खाको गण्डकी (गण्ड) र कपिलवस्तु जिल्लाको वाणगंगा (पहिला सारंगीलाई ‘वाण’ भनिन्थ्यो) नगरपालिका रहेका छन् (भट्टराई, परिवर्तन, २०७३ : गाउँपालिका/नगरपालिका)। 

इमानसिंह चेमजोङका अनुसार नजिकै शिवस्थान छ भने किराँतहरू त्यसछेउ सिउँडी रोप्छन्। जबकि शिवस्थानको प्रतीक हो, त्रिशूल। तर लिम्बू भाषाको लुङडिङ्वा रोप्ने कुराले त्रिशूलको पूर्वरूप पाटे सिउँडी हो भन्ने स्पष्टै छ। नभन्दै झट्ट हेर्दा यो त्रिशूल जस्तै देखिन्छ र समानान्तर बरोबरी शैलीमा चिर्ने हो भने दुरुस्तै त्रिशूल नै हो। अर्थात् त्रिशूल पाटे सिउँडीको प्रतीक हो। भलै आजभोलिका अधिकांश त्रिशूल नामधारी आयुध त्रिशूल नभई एकतिर दुई शूल वा तीरमात्र भएका अशुद्ध त्रिशूल किन नहोऊन् ? यसैले बज्र रोक्ने शंकु (अंकुश) जसले बोक्छ, त्यो शंकर हो, शशांक हो। सुषुतले दिएको अर्को नाम महावृक्ष पनि हो। महादेवको वृक्ष भएकाले त्यस्तो बन्न गएको हो।

किराँती शिव महादेवलाई चढाइने रङ पहेंलो हो, जुन पाटे सिउँडीकै फूलको रङ हो। जुन फूल शिवरात्रि पर्नेताका फागुन–चैतमै फुल्ने गर्छ। जसरी ‘इलियोकार्पस स्फेरिकस’को फल रुद्राक्ष अर्थात् रुद्रको आँखा हुन्छ। त्यसैगरी, पाटे सिउँडीको बियाँको नाम बज्राक्ष (बज्रको आँखा) हो। यही सिउँडीको घार (फेद)बाट कुनै बेला बन्ने भएकोले सारंगी भएको बुझिन्छ। जसलाई आजभोलि ढोडेसारंगी भनिन्छ र यसबाट बनेकोलाई ढोडेमादल। तुलनात्मक रूपमा मकैको ढोडजस्तै कमलो सिउँडी हुने भएकोले नामै ढोडेसारंगी राखेको हुन सक्छ।

गोरखादेखि बागलुङ भेगका गण्डक प्रदेश जहाँ सम्भवतः अन्नपूर्ण, माछापुच्छे« हिमालले गर्दा बन्ने वायुचक्र (भर्टेक्स) र घनादी प्रणाली जिम्मेवार छ। तर पाटे सिउँडीको घनत्व इलाका महाभारतको पनि भिरालो हो र ‘नेगेटिभ पल्स’ निम्त्याउने धेरै नै जिम्मेवार रानी सल्लाको कारणले पनि। यसैले देवघाटको उत्तरी भेग बढी सम्भावनाको ठाउँ हो, एउटा अवधारणा विकासको अर्थात् रामानन्दप्रसाद सिंहले बुद्धलाई जसरी थारू भनेका थिए। किराँतेश्वरमा केन्द्रित हुने हो भने शिवको परिकल्पना मगर, गुरुङको हो भन्ने देखिन्छ। मगरहरूले मृतको आत्मबाट छुटकारा लिने प्रक्रिया ‘डैसिबाङ’अन्र्तगत मलामीहरूले दुधिलो चोप आउने बिरुवामा टाउको ठोक्नुपर्दा सिउँडी पनि पर्छ।

गुरुङको निम्ति तोंतोसी शिववृक्ष हो। अन्य समुदायले पनि आफ्नो भाषिक नामअनुसार प्रयोग गर्ने गर्छन्। यसरी चुरे र महाभारत शृंखलाबीचको मनसुन नठोकिने सुक्खा भिरालाका ११ देखि १२ सय मिटरबीच त्यस शिवको प्राकपरिकल्पना भयो। जतिबेला भर्खरै पशुपालनको युग सुरु भएको थियो। तर लुगाको निम्ति वनस्पतिको रेसा निकाल्ने ज्ञान आइसकेको थिएन। त्यसैले शिवले हिंस्रक बाघ मारेर त्यसको छाला मात्र बेर्छन् (सौरभ, २०७१ : असहमति)। यहाँ उल्लेख सिउँडी, ढोडेसारंगी, किराँतेश्वर शिववृक्ष सिउँडी र बज्रपर्ने प्रसंग निकै महत्त्वपूर्ण छ।

  • मौलिक विभिन्न भाका बनाउन, गायनकला गन्धर्वबाटै पछि अरूले सिकेका हुन्। आदिमकालमा सबैभन्दा पहिला भाका, लय वा सुर, ताल गन्धर्वले सुरुआत गरेका हुन्। उनीहरूले लामो समय प्रकृतिसँगको सामीप्यता र संघर्षबाट सिके, पछि अरूले सिर्जना गरे।
  •  
  • नेपाल गन्धर्व वा किन्नर भूमि पनि हो। सीप–कला, सांस्कृतिक सम्पदाका धनी, गर्विलो इतिहास बोकेका नेपालका गन्धर्व जाति अनादिवासी हुन्। इतिहासकार तथा लेखकहरूले उनीहरूको उद्भावस्थलका बारेमा फरक–फरक दृष्टिकोण राख्ने गरेका छन्। 
  • गन्धर्व शिवका गण हुन्। जो गण्डक क्षेत्रमा सारंगी बन्ने सिउँडी विशेष रूपमा पाइने उल्लेख छ। महाभारत शृंखलाबीचमा शिवको मुख्य विचरण क्षेत्र पनि उल्लेख गरिएको छ। शिवकै गण भएकाले गन्धर्वहरूको मुख्य बसोबास क्षेत्र पनि गण्डक क्षेत्र हो।

गन्धर्व शिवका गण हुन्। जो गण्डक क्षेत्रमा सारंगी बन्ने सिउँडी विशेष रूपमा पाइने उल्लेख छ। महाभारत शृंखलाबीचमा शिवको मुख्य विचरण क्षेत्र पनि उल्लेख गरिएको छ। शिवकै गण भएकाले गन्धर्वहरूको मुख्य बसोबास क्षेत्र पनि गण्डक क्षेत्र हो। विभिन्न प्रसंग र तथ्यले पनि यसलाई पुष्टि गर्दछ। बज्र पर्ने खतराबाट टरिन्छ। घर छेउछाउमै सिउँडी रोप्यो भने भन्ने पुख्र्यौली ज्ञान असत्य थिएन। अनि कमलो र रेसादार वनस्पतिका घारको सारंगी बनाउँदा। तुलनात्मक रूपमा अरूभन्दा राम्रो बज्ने नै भयो। बज्र पर्नमा प्रमुख भूमिका खेल्ने आकाशको ‘नेगेटिभ पल्स’ तल झरेपछि जमिनबाट त्यसलाई ‘पोजेटिभ पल्स’लाई न्युट्रलाइज गर्ने। तŒव रहेको सिउँडीको सारंगी बन्नुमा वैज्ञानिक कारण छ। यो ज्ञान, सीप–कला, प्रविधिसँगै वैज्ञानिक रूपमा पनि।

गन्धर्व पुर्खाको मौलिक ज्ञान परम्परा अतलुनीय छ। जुन ढोडे सारंगी बजाउँदा सांगीतिक थेरापीले स्वस्थ हुने भयो। बोकेर हिँड्दा नकारात्मक ऊर्जाबाट सुरक्षित हुने भयो। घरमा झुन्ड्याउँदा बाह््य नकारात्मक ऊर्जालाई नास गरिदिन्छ। गन्धर्व बालबालिका जन्मिँदा शिरतिर सारंगी राखिदिने वैज्ञानिक कारण पनि यही हो। जुन बालबालिकालाई जीवनभर नकारात्मक ऊर्जाले नसताओस् भन्ने देखिन्छ। शिव (महावृक्ष) वृक्ष पाटे सिउँडी, किराँतेश्वर शिवकै उपासक गण। र सिउँडीकै सारंगी बनाएर शिवसँगै हिँड्ने, नाच्ने, गाउने गन्धर्व हुन्। जो नेपालका आदिम रैथाने मूलवासी भित्र पर्छन्, किराँतेश्वर महादेव (शिव)लाई रैथाने आदिवासी मान्ने सवालमा।

अहिलेसम्म नेपालको समाजशास्त्र–मानवशास्त्र पूर्वाग्रही र एकांकी रूपमा किन पढाइँदै छ ? अनार्य किराँतेश्वर आर्यकरण भए जस्तै गन्धर्वको वास्तविक पहिचान र अस्तित्व पनि लोप भएकै हो ? उल्टै अपमानित कथित दलित समूहमा राखेर सिंगो नेपाली मौलिक सांस्कृतिक सभ्यताका जग गन्धर्वलाई तिरष्कृत किन गरियो ? किराँती समूह आदिवासीमा रहँदा गन्धर्वलाई उपेक्षा गरिनुपर्ने कारण के हो ? कतिपय समूहलाई केही शताब्दी पार गर्नेबित्तिकै आदिवासीमा राख्नेले किराँतीकै समकालीन हिमाली शिल्प (मानव) सभ्यताको विकासकर्ता रैथाने गन्धर्वलाई छुटाउनु सौतेनी व्यवहार हो।

बनिबनाउ पश्चिमा परिभाषाले किराँतीका समकालीन नेपालका रैथाने मूलवासी गन्धर्वलाई आदिवासी भनेर राज्यले बुझ्दैन भने जसको बिहे उसले नै हेर्न नपाउनु भने जस्तै हो। मानवशास्त्रीय–समाजशास्त्रीय विषयलाई नै कसैको उक्साहटमा साम्प्रदायिक र राजनीतिक दाउपेचको विषय बनाइनु राम्रो संकेत होइन। नेपालका गन्धर्वजस्तै हजारौंवर्ष पुराना कति जाति, समुदायलाई आफ्नो पैतृक पुख्र्यौली माटोबाट विस्थापित किन गरिँदै छ ? यो खोजको विषय बनेको छ। तथ्यका आधारमा नेपालका सबै जाति समुदाय आप्रवासी र आदिवासी हुन्भन्दा फरक नपर्ला। मैले यसो किन भनेको भने आदिवासी परिभाषा र सूचीकरण बसोबासको मितिको आधारमा हुनुपर्छ। अनुहारका आधारमा होइन, यो नै वैज्ञानिक विधि हो।

यी माथिका विभिन्न ऐतिहासिक, धार्मिक, पौराणिक र वर्तमान भौगोलिक तथ्यप्रमाण नामकरणहरूको संश्लेषणबाट गन्धर्व जातिको मूल उद्गमथलो गण्डकी क्षेत्र नै रहेको प्रमाणित गर्दछ। जो तथ्यहरूले प्रमाणित र भौगोलिक उपस्थितिले पुष्टि गर्छन्। जसले गन्धर्वचुली हिमाललाई केन्द्र बनाएर अनादिकालीन हिमाली शिल्प (मानव) सभ्यताको विकास गरेका थिए।

पूर्वज गन्धर्व, किन्नरहरू नेपाली लोकसंगीतका अग्रज मानिन्छन्। प्रतीकात्मक रूपमा गन्धर्व जातिलाई स्वर्गका गवैया जाति पनि भनिन्छ। अक्सर धार्मिक साहित्यहरूमा यक्ष, किन्नर, गन्धर्वसँगसँगै आउने कारण यही हो। यो जातिको मूलथलो कास्कीको बाटुलेचौरलाई मानिन्छ। कुनै समय गण्डकी क्षेत्रबाट राप्ती भेरी हुँदै कर्णाली प्रदेशसम्म पुगेको देखिन्छ। विस्तारै पूर्वी क्षेत्रमा समेत विस्तार भएको पाइन्छ।
 
गन्धर्वचुली हिमाल 

उनै गण्डव नामका गन्धर्वले माछापुच्छ्रे हिमशृंखलामा रहेको गन्धर्वचुली (६,२४८ मिटर, २०,४९९ फिट) हिमालयको काखमा बसेर ध्यान, तपस्या र राजकाजसमेत गरेका थिए। पछि उनै गन्धर्व (गण्डव) कै नामबाट सो हिमालको नाम ‘गन्धर्वचुली’ नामकरण गरिएको हो। त्यो गन्धर्वचुली हिमालबाट बगेर आएको नदीहरूलाई पछि गन्धर्वकै नामबाट गण्डकी नदीको रूपमा नामकरण गरियो।

अहिले गन्धर्वचुली हिमाल कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा रहेको छ। यसरी गन्धर्व (गण्डव)कै नामबाट गण्डकी नदी र गन्धर्वचुली हिमालको नामकरण गरिएको छ। यो हिमालको प्रथम आरोहण सन् २०१३ मे ६ मा कोस्मिन एन्ड्रन र क्रिस्टिना पोगासियनले गरेका थिए। गण्डकी प्रदेश, कास्की जिल्ला माछापुच्छे गाउँपालिकामा रहेको गन्धर्वचुली अन्नपूर्ण हिमशृंखलामा अवस्थित छ। कास्कीको घान्द्रुकबाट चुली २३.६ किलोमिटरको दूरीमा रहेको छ। काठमाडौंबाट लुम्ले हुँदै जान सकिन्छ।

नेपालको पर्यटन विकासमा रैथाने शिल्पी (कथित दलित) समुदायको योगदानः गन्धर्वचुली–सार्की (चमार) सृंगी हिमालको बारेमा एकदिवसीय विमर्श कार्यक्रम २०औं अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय पर्वतीय मापदण्डअनुसार ५८ सय मिटरभन्दा अग्लालाई हिमाल घोषणा गरिन्छ। नेपालमा गणना भएका १,७९२ हिमालमध्ये ५८ सयभन्दा माथिका हिमाल छन्। नेपालका १७ सयदेखि १८ सयवटा चढ्न मिल्ने हिमालमध्ये ४१९ वटा हिमाल मात्रै खुल्ला गरिएको छ। 

अन्त्यमा, विभिन्न ऐतिहासिक तथ्य प्रमाण र जानकारहरूका अनुसार खसहरूले कुमाउँ गढवालमा चार सय वर्ष जति शासन गरेका थिए। ई.पू.पाँचौं शताब्दीतिर वर्तमान नेपालको प्रदेश सातको बैतडी र दार्चुला जिल्लाको दोभानको गोकुलेश्वर क्षेत्रमा प्रवेश गरेका थिए। इतिहास र तथ्य प्रमाणले यही कुराको पुष्टि गर्छन्। तर त्यसभन्दा निकै पहिला नै रैथाने शिल्पी (कथित दलित) समुदायका पूर्वजहरूले त्यस क्षेत्रमा हिमाली शिल्प (मानव) सभ्यताका विकास गरिसकेका थिए। अर्थात् मानवीय सभ्यताको आविष्कार, सिर्जना र विकास गरिसकेको पाइन्छ। 

खसहरूको ठूलो समूहको प्रवेशपछि गन्धर्वबाहेक अनादिवासी शिल्पी समुदायहरू पैतृक भूमिबाट विस्थापित भई लुम्बिनी, गण्डकी, बाग्मती, सुनकोशी हुँदै विभिन्न भूभागमा स्थानान्तरण भएका थिए। सांगीतिक क्षेत्रलाई मूलधार मान्ने जाति गन्धर्वको उद्गमथलो गण्डकी क्षेत्र रहेको देखिन्छ। शासकीय पक्षधर लेखक, इतिहासकारहरूले पृथ्वीनारायाण शाहसँगसँगै यी समुदाय नेपालको अन्य भूगोलमा प्रवेश गरेका हुन भन्ने गर्दछन्। जुन कुरा एकदमै तथ्यहीन कुरा हो। शाहवंशीय वा पृथ्वीनारायण शाहको इतिहास अढाई सय वर्ष जतिमात्रै भएको छ। तर अनादिवासी रैथाने शिल्पी समुदायको इतिहास नेपालमा हजारौं वर्ष पुरानो छ। जुन तथ्य इतिहास आजसम्म लेखिएकै छैन, बाहिर आएकै छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.