लोमान्थाङमा बन्यो रिङरोड

लोमान्थाङमा बन्यो रिङरोड
सुन्नुहोस्

जोमसोम : चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्माणाधीन रिङरोड सडक सम्पन्न भएको छ। लोमान्थाङ गाउँपालिकाका ३ वटा वडा जोड्ने निर्माणाधीन रिङरोड सडक हालै सकिएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ।

गण्डकी प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडक’ निर्माणकार्य अघि बढाएकोमा अहिले सम्पन्न भई हस्तान्तरणको तयारीमा रहेको बताइएको छ। यसअघि लोमान्थाङ गाउँपालिकाका १,२ र ५ नम्बर वडाका  जनतालाई कोरला नाका, लोमान्थाङ बजार र सदरमुकाम जोमसोमसम्म आवतजावत तथा मालसामान ढुवानीका लागि सहज बनाउने उद्देश्यले २०७५ सालमा रिङरोड सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको थियो। सडकको २०७६ साल असार २६ गते २४ करोड लागतमा ठेक्का सम्झौता गरिएको थियो।

रिङरोडको सुरुवाती ठेक्का सम्झौता २ वर्षको तोकिएको थियो। सम्झौता मुताविक लोमान्थाङ रिङरोड २०७८ असारमा सकिनुपर्ने थियो। तर, निर्माणको चरम ढिलासुस्ती र बहानाबाजीका कारण रिङरोड सडक निर्माणमा निकै बिलम्ब हुन पुगेको थियो।

१० दशमलव ५ किमि लामो लोमान्थाङ रिङरोड सडक निर्माणको जिम्मा इमोटल कन्टक्सन जेभीले पाएको थियो। लोमान्थाङ रिङरोड सडक तत्कालका लागि ग्राभेलका रूपमा विस्तार गरिएको छ। सडकको ड्रेनसहित ८ मिटर चौडा गरिएको छ। निर्माण कम्पनीले सडक स्तरोन्नतिमा ढिलाइ गरेका कारण पूर्वाधार विकास कार्यालयले कम्पनीको ठेक्का मोबिलाई जेसनबापत लिएको ९७ लाख रकम फिर्ता लिएको थियो।

लोमान्थाङ रिङरोड सडकले लोमान्थाङ, छोन्हुप र छोसेरको कनेक्टिभिटी जोडिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी घनश्याम रोक्काले जानकारी दिए। ‘प्रदेशअन्तर्गतका दुईमध्ये लोमान्थाङ रिङरोड सडक सम्पन्न भइसकेको छ, हामीलाई हस्तान्तरण गरी वित्तीय भुक्तानी गर्ने प्रक्रियामा छ,’ सूचना अधिकारी रोक्काले भने,‘पटक–पटकको ताकेताले ढिलै भए पनि रिङरोड निर्माण कम्पनीले कामलाई सम्पन्न गर्‍यो, अब लोमान्थाङका गाउँपालिकालाई महत्वपूर्ण सडक सञ्जालले जोडिए।’

लोमान्थाङ गाउँपालिकाको ३ वटा वडालाई जोमसोम—कोरला राष्ट्रिय राजमार्ग सडकमा जोडिएको हो। भौगोलिक रुपले अत्यन्तै विकट मानिएका सीमावर्ती गाउँपालिकाका वडाहरू सडक कनेक्टिभिटीले जोडिएसँगै स्थानीयलाई आवतजावत र मालसामान ढुवानी गर्न निकै सजिलो भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए।

‘सडक सञ्जालले राष्ट्रिय राजमार्गसँग जोडिएको छ, अब चीनको कोरलानाकामा पुगेर सामान ल्याउनसमेत सजिलै भयो,’ अध्यक्ष गुरुङले भने पोखरादेखि सामान ल्याउन र विपद् उद्दारका बेलामा समेत सडकको पहुँच निकै सुविधा प्राप्त हुनेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.