वन्यजन्तु चोरी सिकारीमा प्रहरीकै मिलेमतो

वन्यजन्तु चोरी सिकारीमा प्रहरीकै मिलेमतो
सुन्नुहोस्

विराटनगर : मोरङमा वन्यजन्तुको अवैध चोरी सिकारीमा प्रहरीकै मिलेमतो रहेको आशंका गरिएको छ । पहिचान खुल्दा पनि सिकारी पक्राउ नपरेपछि प्रहरीको भूमिका शंकास्पद एवं विवादास्पद देखिएको हो । वन्यजन्तुको चोरी सिकारी एवं तस्करीमा प्रहरीकै मिलेमतो रहेको आरोप लागेको छ । पछिल्लो समय मोरङका जंगलबाट वन्यजन्तुको चोरी सिकारी गर्ने समूहलाई प्रहरीले सहयोग गरिरहेको आशंका गरिएको हो ।  

मोरङको कानेपोखरीको भुल्के–सुन्तली सामुदायिक वन क्षेत्रबाट गत फागुन ४ गते बिहान भरुवा बन्दुकलगायत बरामद भएको थियो । कानेपोखरी गाउँपालिका–६ सीताधापस्थित केशरबहादुर कार्कीको घरनजिकको माचभित्रबाट लोड गरिएको बन्दुक बरामद भएको हो । कार्कीको घरको खाटमा ३ वटा टर्च लाइट, खुकुरी, गाडीको ब्यारिङ र भरुवा बन्दुकमा लाग्ने अन्दाजी १ सय ग्राम बारुद फेला प¥यो । घरभित्र चार्ज गरिरहेको अवस्थामा २ वटा मोबाइल भेटिए । घरधनी कार्कीले उक्त मोबाइल आफ्नो नभएको बताए । केही व्यक्तिहरू आफ्नो घरभित्र प्रवेश गरेर बसेको कार्कीले स्वीकार गरेका छन् । उनी त्यतिबेलै पक्राउ परेका थिए ।

तर, प्रहरीको जोडबलमा सरकारी वकिल कार्यालयले उनलाई हाजिर जमानीमा छाडिदिएको पाइएको छ । घरमा कार्की र उनकी श्रीमती मात्रै बस्ने गरेको खुलेको छ । वन्यजन्तुको सिकार गरेको प्रमाण फेला नपरेकाले यस घटनालाई हातहतियार खरखजना मुद्दासँग जोडेर अनुसन्धान गरिएको प्रहरीको भनाइ छ । 

सामुदायिक वन उपभोक्ता समितिको गस्ती टोलीले बन्दुकसहितका सामान फेला पारेर इलाका प्रहरी कार्यालय पथरीको जिम्मा लगाएको थियो । गस्ती टोलीलाई देख्नासाथ ४ जना व्यक्तिहरू कार्कीको घरभित्रबाट निस्किएर फरार भएको वन उपभोक्ता समितिका अध्यक्ष भीमराज लिम्बूले बताए । घर र वरपर खोजतलास गर्दा वन्यजन्तुको चोरी सिकारीमा प्रयोग गरिँदै आएको बन्दुकसहितका सामान फेला परेको जानकारी उनले दिए । 

‘वन छेउकै घरमा वन्यजन्तुको चोरी सिकारी गर्नेहरू लुकेर बसेका रहेछन् । गस्ती देखेपछि उनीहरू भागे,’ लिम्बू भन्छन्, ‘खोजतलास गर्दा बन्दुकसहितका सामान फेला पारेर त्यतिबेलै प्रहरीलाई बुझाइयो । तर, प्रहरीको भूमिका नै शंकास्पद छ ।’ उनका अनुसार चोरी सिकारीमा संलग्नको पहिचान खुल्ने आधार बरामद भएको मोबाइल हो । तर, अहिलेसम्म पक्राउ नगर्नु आश्चर्यको विषय भएको लिम्बू बताउँछन् । त्यतिबेला चोरी सिकारी गर्ने समूहलाई भेटिन्छ कि भनेर व्यापक खोजी गर्दा पनि फेला पार्न नसकिएको उनले बताए ।

‘घटना भएको १ महिना हुन लाग्दासमेत सिकारीको पहिचान गरेर पक्राउ गर्नुपर्नेमा प्रहरीले चासो दिएन । अनुसन्धान गर्दैछौं र खोज्दैछौं भन्ने जवाफ मात्रै दिन्छ,’ उनी भन्छन्, ‘घटनाको अनुसन्धान प्रभावकारी देखिएन । न त अहिलेसम्म सिकारी नै पक्राउ परे ।’ उनका अनुसार वन्यजन्तुको चोरी सिकारीमा संलग्नले वन छेउको घरलाई आश्रयस्थल बनाउने गरेको सूचना केही समयदेखि आइरहेको थियो । 

‘सिकार खेल्न आउनेहरू कार्कीको घरमा नियमितजस्तो बस्दा रहेछन् । वन्यजन्तुको चहलपहललाई ध्यान दिएर सिकार गर्न निस्किने गरेको पाइयो । बँदेल, मृगलगायतका वन्यजन्तुको सिकार गरेपछि त्यही घरमा मासु बाँडफाँट गर्ने गरेको पनि थाहा भयो,’ अध्यक्ष लिम्बू भन्छन्, ‘पछिल्लो समय वन क्षेत्रमा वन्यजन्तुको अवैध चोरी सिकारी गर्ने समूह सक्रिय छ । तर, पक्राउ भने पर्दैनन् । यसमा प्रहरीको मिलेमतो हुनसक्ने देखिन्छ ।’ उनका अनुसार प्रहरीकै मिलेमतोमा चोरी सिकारी व्यापक भइरहेको जनगुनासो आउने गरेको छ । 

चोरी सिकारी रोक्नैपर्छ भनेर उपभोक्ता समिति सक्रिय हुँदासमेत प्रहरीलगायतका निकायबाट साथ नपाउने गरिएको गुनासो लिम्बूको छ । ‘सिकारी खोज्न आग्रह गर्दा प्रहरीले उल्टै तेल (इन्धन) र खाजा माग्छन् । बसेको ठाउँ पत्ता लगाएर जाँदा पनि भेटिँदैन,’ उनले भने, ‘सूचना चुहिँदो रहेछ । मान्छे पक्राउ गर्न जाँदा प्रहरीले नै भगाइदिन्छन् भन्ने सुनिन्छ ।’ 

यस घटनामा सुरुदेखि नै प्रहरीको भूमिका शंकास्पद देखिएको थियो । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी गणेश श्रेष्ठ त्यतिबेला बिदामा थिए । इन्सपेक्टर सुशील पाण्डे निमित्तको जिम्मेवारीमा थिए । घटनाको अनुसन्धानका लागि इन्सपेक्टर ब्रह्मदेव साहलाई अनुसन्धान अधिकृत तोकिएको थियो । साह नेतृत्वको टोलीले घटनास्थलमै पुगेर बन्दुकलगायतका सामान बरामद गरेको हो । 

प्रहरीले त्यतिबेला यो कुरालाई गोप्य राख्ने प्रयास ग¥यो । इन्सपेक्टर पाण्डेले केही हैन भनेर टार्ने प्रयास गरेका थिए । अहिलेसम्म सिकारी पक्राउ नपरेपछि इन्सपेक्टर पाण्डे र साहको भूमिका एवं कामकारबाहीमाथि प्रश्न उठेको छ । 

पाण्डेले चोरी सिकारीमा संलग्नमध्ये हालसम्म १ जनाको पहिचान खुलेको बताए । ‘पहिचान खुलेका व्यक्ति लेटाङका रमेश मगर हुन्,’ प्रहरी स्रोतले भन्यो, ‘बरामद भएकोमध्ये एउटा मोबाइल उनकै हो ।’ वन्यजन्तु ‘सुटर’ भनेर चिनिने मगर भारततिर भागेकाले पक्राउ गर्न नसकिएको पाण्डेले बताए । ‘खोजी गरिरहेका छौं पक्राउ गर्न सकिएको छैन,’ उनले भने । 

‘२ वटा मोबाइल अलगअलग व्यक्तिको हो भन्ने थाहा भइसकेको छ । तर, अहिलेसम्म १ जनाको मात्रै पहिचान खुल्यो भन्नु नै शंकास्पद छ,’ उपभोक्ता समिति एक सदस्य भन्छन्, ‘मिलेमतो भएकाले प्रहरीले अरु व्यक्तिका बारेमा खुलाउन नचाहेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.