अनुहारभित्रका अनुहारहरू !
मानव शरीरका पाँचैं इन्द्रियहरूको केन्द्र हो, मानिसको अनुहार। अन्य अंगभन्दा सुन्दर देखिन चाहन्छ र सुन्दर पनि छ। तर यो सुन्दर अनुहारभित्र अर्को अनुहार पनि लुकेको हुन्छ। भित्री अनुहारहरूका रंग र रूपहरू भने मानिसका बाहिरी आँखाले देखिँदैनन्। दिग्भ्रमित गर्ने सबैखाले अनुहारहरू सुन्दर अनुहारभित्रै बाँचिरहेका हुन्छन्। प्रायोजित सूचकहरूलाई प्रवाह गरिरहेका हुन्छन्। सुख, दुःख, डर, घृणा, क्रोध, अवहेलना र आश्चर्यका अनुभूतिहरूलाई मानिसको अनुहारले दर्शाइरहेका हुन्छन्। पाँच इन्द्रियहरूले आआफ्नो कार्य गरिरहेका हुन्छन्। तर अनुहारभित्रका अनुहारमा लुकेको कुटिलताहरू यी इन्द्रियहरूको शक्तिभन्दा बाहिर हुन्छन्। कहिलेकाहीँ अनुमानसम्म पनि लगाउन गाह्रो हुन्छ। नतिजासम्म पर्खनुपर्ने पनि हुन सक्छ।
विश्वका जुनसुकै भागका मानिसले पनि मुस्कानको भाषा सजिलै बुझ्छन्। ओठहरूका मुस्कान आकर्षक अनुहारको अभिव्यक्ति पनि हो। त्यसैले मानिसहरू फोटोमा मुस्कुराइरहेका पनि हुन्छन्। खुसी देखाउने र विनम्रता बाँड्ने साधन पनि हुन् ओठका मुस्कानहरू। यसैगरी आँखाबाट झरिरहेका आँसुहरूले दुःख र पीडाहरूलाई अभिव्यक्त गरिरहेका हुन्छन्। ओठ र आँखाबाट बहिररहेका तरंगहरूलाई अनुहारको रंगले पनि साथ दिइरहेको हुन्छ। जुन सामान्य व्यक्तिले बाहिरबाट सजिलै महसुस गर्न सक्छ। तर ती ओठबाट छरिएका मुस्कान र आँखाबाट बगिरहेका नुनिला आँसुहरूभित्र कुटिल अनुहारहरू लुकिरहेका पनि हुन सक्छन्। मानिसका अंगहरूको गुण र स्वभाव फरकफरक हुन्छ। कानले सुन्न पर्ने हो तर कहिलेकाहीँ आँखाले पनि सुनिरहेको हुन्छ भन्दा अनौठो लाग्न सक्छ। मानिस बोल्दा चलेका ओठहरूलाई देख्ने आँखाहरूले पनि त्यो बोल्ने मानिसको आवाज सुनिरहेको हुन्छ।
राम्रा वस्तुहरू नै सजाउन राखिने हो। सजाउन राखिएका तथा प्रयोग हेतु जोडिएका कति वस्तु त जीवनभर प्रयोगमा आएकै पनि हुँदैनन्। मानव शरीरका कतिपय अंगहरू अतिरिक्त भएरै शरीरसँग बाँधिएर बसेका पनि हुन्छन्। फरक गुण र स्वभाव दर्शाइरहेका पनि हुन्छन्। सबै तरल पदार्थहरू आगोको तापमा सुक्नुपर्ने हो तर तेल सुक्दैन। धर्तीका सृष्टि सबै जीवहरूको दाँत अथवा दाह्रा खाना चपाउनमा प्रयोग हुने हो। तर हात्तीले आफ्ना दाह्रालाई खानेकुरा चपाउनमा प्रयोग गर्दैनन्। जमिन खन्न, सामान उठाउन, रुखको बोक्रा तास्न र अर्को हात्तीसँग लडेर आफ्नो प्रभाव कायम गर्नमा प्रयोग गर्छन्। देखिएका चिज र अंगहरूको प्रयोग त फरक हुन्छ भने लुकेका अनुहारहरूमा छिपेका रहस्यहरू झन् जटिल र अर्थपूर्ण हुने नै भए।
शत्रुहरू भन्दा मित्रहरू र पराइभन्दा आफ्नाहरू सँगैबाट डराउन पर्ने समयले प्रभाव जमाउँदै छ। खुलेर गरिएका आक्रमण र प्रत्यक्ष देखाइएका क्रोध ईष्या बदला सबैखाले कटुतामा सावधान हुन सकिने सुविधा हुन्छ। काखमा राखेर गला रेट्ने र विश्वासमा पारेर खाल्डोमा हाल्ने प्रवृत्तिले समाजमा विकृति बढ्दै गएको छ। आफ्नाबाटै पीडित हुने अपराधको संख्या बढ्दो क्रममा छ। यी सबै अनुहारभित्रका कुटिल अनुहारहरूका खेल हुन्।
मानवता मानिसको पहिचान हो। मानवताभित्र स्वार्थ निहित हुँदा अनुहारभित्र धेरै अनुहारहरू लुक्न पुग्छन्। ओठबाट छरिएका सबै मुस्कानहरू आफ्नै खुसीका र आँखाबाट झरेका सबै आँसुहरू आफ्नै पीडाका नहुन पनि सक्छन्। स्वार्थले भरिएका हुन सक्छन्। रंगमञ्चका पर्दाहरूले ढाकिएका हुन सक्छन्। आफ्ना प्रतिकूलका व्यक्तिहरूले प्राप्त गरेको दुःख र पीडामा ओठहरू मुस्कुराइरहेका हुन सक्छन्। उसले प्राप्त गरेको सुख र खुसीलाई देखेर आँखा रोइरहेका हुन सक्छन्। जहाँ अर्काको खुसीमा दुःखी र अर्काको दुःखमा खुसी हुने स्वार्थ गाँसिन्छ।
त्यहाँ फरक नतिजा आउने नै भयो। अनि अनुहारभित्र लुकेका कुटिल अनुहारहरू रंगमञ्चमा मञ्चन हुन थाल्दछन्।
मानिस पीडा लुकाएर हाँस्न सक्छ। कहीँ खुसी दबाएर रुन पनि सक्छ। अर्थात् रंगमञ्चको विशिष्ट कलाकार हो। आफू हाँस्ने र रुने मात्र होइन, अरूलाई क्षणभरमै हँसाउने र रुवाउने क्षमता पनि राख्छ। पाँच इन्द्रियहरूको साझा केन्द्र अनुहारभित्र त्यही कलाकारिताको अनुहार पनि लुकिरहेको हुन्छ। फरक चाहनाहरूलाई पनि अभिव्यक्त गरिरहेको हुन्छ। मुस्कानहरूका कारक फरक हुन सक्छन्। जसरी आँखाबाट झरेका सबै आँसुहरू नुनिला भए पनि झर्नुको कारण फरक हुन सक्छ। ओठबाट छरेका मुस्कान र आँखाबाट खसेका आँसुका अर्थ र कारणहरू फरकफरक हुन्छन्। जति फुकायो त्यति गाँठो पर्दै जाने पहेँलीको रूपमा रहस्य बनेर बसेका हुन्छन् अनुहारभित्रका अनुहारहरू।