सुनसरीको बराहक्षेत्रमा ६ सय ७९ किलो तयारी गाँजा नष्ट

सुनसरीको बराहक्षेत्रमा ६ सय ७९ किलो तयारी गाँजा नष्ट
सुनसरीको बराहक्षेत्र–६ चक्रघट्टीस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरनजिक गाँजा नष्ट गरिँदै। तस्बिर : किशोर बुढाथोकी।
सुन्नुहोस्

विराटनगर : सुनसरीको बराहक्षेत्र नगरपालिका–६ मा बुधबार ठूलो परिमाणको लागूऔषध गाँजा नष्ट गरिएको छ। 

प्रहरीको सक्रियतामा बराहक्षेत्रको चक्रघट्टीस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरनजिक आगो लगाएर लगभग ६ सय ७९ किलोग्राम गाँजा नष्ट गरिएको हो। जिल्ला अदालतको अनुमति लिँदै ६ सय ७८ दशमलव ७७ किलो गाँजा जलाएर नष्ट गरिएको जानकारी सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले दिए। उनका अनुसार जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, बराहक्षेत्र नगरपालिका तथा बराहक्षेत्र–६ का जनप्रतिनिधि र कर्मचारीको रोहबर एवं उपस्थितिमा गाँजा नष्ट गरिएको हो। 

प्रयोग गर्न नमिल्ने गरी नष्ट गरिएको तयारी गाँजा नेपाल र सशस्त्र प्रहरीले फागुन महिनामा सुनसरीको बराहक्षेत्र नगरपालिका एरियाबाट बरामद गरेका हुन्। पूर्वी नेपालको धनकुटा, भोजपुर, उदयपुरलगायतका जिल्लामा उत्पादन हुने अवैध गाँजा एम्बुलेन्सलगायतका सवारीसाधनको प्रयोग गरेर तस्करी गर्दै गरेको अवस्थामा बरामद गरिएको एसपी रेग्मीले बताए। 

बराहक्षेत्र–९ राजाबासबाट प्रहरीले फागुन १ गते बिहान ४ सय ६ किलो ९ सय ४० ग्राम गाँजा बरामद गरेको थियो। प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको स्कोरपियो गाडीमा राखेर ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट इन्सपेक्टर रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको टोलीले गाँजा बरामद गरेको हो। 

स्कोपियो र गाँजासहित गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का २५ वर्षीय सूर्य राई र भोजपुरको हतुवागढी गाउँपालिका–८ घर भइ धरान–१७ मा बस्दै आएका २९ वर्षीय लक्ष्मण वान्तवा राई पक्राउ परेका थिए। गाँजा ओसारपसारमा संलग्न फरार भएपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो। 

प्लाष्टिकका १३ वटा बोरामा प्याक गरेर स्कोरपियोभित्र राखिएको अवस्थामा गाँजा बरामद भएको प्रहरीको भनाइ छ। पक्राउ परेका सूर्य र लक्ष्मणविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। 

त्यस्तै, लुकाइछिपाइ एम्बुलेन्समा राखेर ओसारपसार गर्दैगर्दा २ सय ७१ किलो १ सय ३० ग्राम गाँजा सशस्त्र प्रहरीले बराहक्षेत्र–१ बगुवाको धर्मद्वारबाट फागुन १३ गते बिहान बरामद ग¥यो। सशस्त्रले को १ च २०३७ नम्बरको एम्बुलेन्स रोकेर खानतलासी गर्दा प्लाष्टिकको ९ वटा बोरामा प्याक गरेर राखेको अवस्थामा गाँजा फेला परेको थियो। गाँजा लोड गरिएको एम्बुलेन्स छाडेर चालक फरार बनेका थिए। 

गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको थियो। गाँजाको ओसारपसार एवं कारोबारमा संलग्न ६ जनालाई पछि नेपाल प्रहरीले पक्राउ ग¥यो। पक्राउ परेकामाथि लागूऔषध मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

इन्सपेक्टर तिमल्सिना नेतृत्वको टोलीले एम्बुलेन्स चालक सुनसरीको धरान–१० का २५ वर्षीय रोहन विशुन्खेसहित गाँजाको अवैध धन्दामा संलग्न धनकुटाको सहिदभूमि गाउँपालिका–२ घर भइ धरान–१३ मा बस्दै आएका ३५ वर्षीय सन्दीप भनिने बाहानसिंह राई, सहिदभूमि–२ घर भइ धरान–१३ मा बस्दै आएका २१ वर्षीय थामकुमार राई, सहिदभूमि–२ घर भइ धरान–१३ मा बस्दै आएका २५ वर्षीय रिजन राई, सहिदभूमि–२ घर भइ धरान–१६ मा बस्दै आएका ३० वर्षीय कुसुमराज राई र भोजपुरको हतुवागढी–९ घर भइ बराहक्षेत्र–६ मा बस्दै आएका ३२ वर्षीय कुमार राईलाई पक्राउ गरेको हो। 

यसैबीच, फागुन २४ गते दिउँसो बराहक्षेत्र–६ पटवारी चोकबाट ५० वर्षीया कुमारी राई गाँजासहित पक्राउ परिन्। अवैध गाँजा लुकाइछिपाइ राखेर बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले उनको घरमा छापा हानेको थियो। घर खातलासी गर्दा ७ सय ग्राम गाँजा फेला परेपछि राईलाई प्रहरीले पक्राउ गरेको हो। लागूऔषध मुद्दा चलाउन उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। 

नेपालमा उत्पादित गाँजा ठूलो परिमाणमा भारततर्फ तस्करी हुने गरेको छ। नेपालमा भन्दा दोब्बर बढी मूल्य पर्ने भएकाले सुरक्षाकर्मीलाई छल्दै गाँजा भारततर्फ तस्करी हुने गरेको नेपाल प्रहरीका अधिकारी बताउँछन्। अधिकारीहरुका अनुसार नेपालमा प्रति किलोग्राम १५ हजार रूपैयाँमा पाइने गाँजा भारत पु¥याउँदा ३० हजार रूपैयाँसम्म पर्ने गरेको छ। 

दोब्बर बढी मूल्य पाइने भएकै कारण एम्बुलेन्सलगायतका सवारीसाधनको प्रयोग गरेर गाँजा भारततर्फ तस्करी हुने प्रहरीको विभिन्न अनुसन्धानले देखाएको छ। बुधबार नष्ट गरिएको गाँजाको मूल्य नेपालमा १ करोड २० लाखभन्दा बढी पर्ने प्रहरी स्रोतको दाबी छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा महेन्द्रनगर प्रहरीले गाँजालगायतका लागूऔषध नियन्त्रणका लागि विशेष अभियान चलाएको छ। नेपाल र सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै ठूलो परिमाणमा गाँजा बरामद भइरहेको छ।  

‘कानुनले बर्जित गरेको लागूऔषध नियन्त्रण गर्नका लागि अभियान चलाइएको छ। प्रभावकारी हिसाबले प्रहरी परिचालन गरिएको छ,’ सुनसरी प्रहरी प्रमुख एसपी रेग्मीले भने, ‘सुरक्षा सक्रियता बढाएसँगै धमाधम गाँजा बरामद हुन थालेको छ। गाँजालगायतका लागूऔषध नियन्त्रणमा उल्लेखनीय काम भइरहेको छ।’ उनले लागूऔषधको ओसारपसार एवं कारोबारसँग सम्बन्धित सूचना तत्काल प्रहरीलाई उपलब्ध गराएर सहयोग पु¥याउन पनि सबैमा आग्रह गरेका छन्। प्रहरीलाई खबर गर्नेको सबै विवरण गोप्य राखिने रेग्मीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.