किन लम्बिँदै छ युक्रेन युद्ध ?
पुटिन, बाइडेन र जेलेन्स्कीका अभिव्यक्तिले युद्ध लामो समय लम्बिने प्रस्ट संकेत दिन्छन्।
अलेक्जान्डर दुगिन रुस–युक्रेन युद्धका ‘मास्टर माइन्ड’ मानिन्छन्। अति उग्रराष्ट्रवाद र अति दक्षिणपन्थी धारका फिलोसफर दुगिन सोभियत संघ विघटनका कट्टर विरोधी हुन्। उनले सन् १९९७ मा फाउन्डेसन अफ जिओपोलिटिक्स, द जिओपोलिटिकल फ्युचर अफ रसियानामक पुस्तक निकालेका थिए। उक्त पुस्तकमार्फत नयाँ रसियाको परिकल्पना गर्दै विश्व महाशक्ति राष्ट्रका रूपमा पुनः वापसीका लागि रसियाले अख्तियार गर्नुपर्ने रणनीति सुझाएका थिए। जर्जियामा हमला, युक्रेनको विलय, युरोपेली युनियनबाट बेलायतको बर्हिगमन र अमेरिकामा फुट पैदा गर्नुपर्ने रणनीति उनले सिफारिस गरेका हुन।
लामो समय रुसी गुप्तचर संस्था केजीबीका अधिकारी भएर काम गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सोभियत संघ पतनका कट्टर विरोधी हुन्। संघको पतनलाई पुटिनले शताब्दीकै ठूलो भूराजनीतिक तवाही भएको भन्दै आएका छन। शीतयुद्धपश्चात् अमेरिका र सोभियत संघबीच भएको सहमति विपरीत पूर्वी युरोपेली राष्ट्रमा नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो)को विस्तारलाई पुटिनले विरोध गर्दै आएका छन्। तत्कालीन राष्ट्रपति वोरिस यल्तसिनको कार्यकालमा सन् १९९९ मा छोटो समय प्रधानमन्त्री, त्यसयता एकपटक शक्तिशाली प्रधानमन्त्री र चार कार्यकाल राष्ट्रपति भएर पुटिनले सत्ताको बागडोर सम्हाल्दै आएका छन्। जसले सन् २०२१ म संविधान संशोधन गरी २०३६ सम्म राष्ट्रपति बन्न सक्ने बाटो खुला गरे। २००८ मा जर्जियामा हमला, २०१४ मा युक्रेनी भूभाग क्रिमिया अतिक्रमण र हाल जारी युक्रेन युद्धले दुगिनको मार्गचित्र पछ्याउने पुटिनको महत्त्वाकांक्षी योजनाको रूपमा लिइन्छ।
रुसले २०१४ मा क्रिमिया कब्जा गरेपछि तीन सुरक्षा रणनीति लिएको थियो। १. ब्ल्याक सीमा सुरक्षा उपस्थितिलाई मजबुत बनाउने। २. युक्रेनको पूर्वी भूभाग डनवासका रसियाली मूलका पृथकतावादी समूहलाई युक्रेनी सेनासँग लड्न सैन्य सहयोग गर्ने। ३. युक्रेनको सीमा क्षेत्रमा अत्यधिक संख्यामा सेना तैनाथ गर्ने। यी तयारीका साथ पुटिन अनुकूल समयको पर्खाइमा थिए। अफगानिस्तानबाट २०२१ अगस्टमा अमेरिकी सेनाको लज्जाजनक फिर्ती, नेटो राष्ट्रबीच मतभेद र ध्रुवीकृत अमेरिकी राजनीतिको लाभ आफूलाई मिल्ने आकलन गरी पुटिनले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा हमला गरेका थिए। युक्रेनलाई डिमिलिटराइज गर्ने र नाजीमुक्त बनाउने लक्ष्य राखी गरे उक्त हमलालाई प्रारम्भमा विशेष सैन्य कारबाही भनेका थिए। युक्रेनको राजधानी किभलगायत अन्य चार प्रमुख सहर ४८ घण्टाभित्र कब्जा गरी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किलाई आत्मसमर्पण गराउने लक्ष्य थियो। अमेरिकी नेतृत्वको पश्चिमा गठबन्धनले पनि रसियाली ताकतका अगाडि युक्रेन टिक्न नसक्ने अनुमान गरेको थियो। युक्रेनी सेनाको बहादुरी र दक्षताले पुटिनको लक्ष्य र नेटोको अपेक्षा गलत सावित गरिदियो।
रसियाले प्रारम्भिक लक्ष्य प्राप्ति असफल भएपछि पूर्वी डनवास र दक्षिणी भागमा आक्रमणलाई केन्द्रित ग¥यो। उसले लुहान्स्क, डोनेस्क, खेरसन र जापोरेजिया क्षेत्रको झन्डै २० प्रतिशत युक्रेनी भूभाग कब्जा गरेको छ। यद्यपि युक्रेनको प्रत्याक्रमणले रुसी कब्जामा रहेको भूभाग १८ प्रतिशतमा खुम्चिएको छ। खेरसन र खर्किवजस्ता ठूला सहर पुनः कब्जामा लिएको छ। हाल युद्ध गतिरोधको अवस्थामा छ।
युक्रेनमा जारी युद्धले गत फेब्रुवरी २४ मा तेस्रो वर्ष टेकेको छ। पुटिनले दोस्रो वर्षगाँठको अघिल्लो दिन आणविक हतियार बोक्न सक्ने वमवर्षक लडाकु विमानमा आधा घण्टाको यात्रा गरे। नेटो र घरेलु दर्शकलाई आफ्नो स्ट्रोङ्घमेनसिपको प्रदर्शन गरे। यसै अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रेस वक्तव्यमार्फत दुई वर्षअघि पुटिनले गलत फैसला गरेको र यो अवधिमा नेटो सशक्त, बृहत् र एकताबद्ध भएको धारणा व्यक्त गरे। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले जनतालाई सम्बोधन गर्दै रुसमाथि विजय प्राप्त गरेरै छाड्ने प्रतिज्ञा गरे।
पुटिन, बाइडेन र जेलेन्स्कीका अभिव्यक्तिले युद्ध लामो समय लम्बिने प्रस्ट संकेत दिन्छन्। युद्धस्थलको पछिल्लो अवस्थाले पुटिनलाई केही लाभ मिलेको छ। युक्रेन र उसका सहयोगी राष्ट्र दबाबमा छन। विशेषगरी गत वर्ष युक्रेनको काउन्टर अफेन्सिभ असफल भएपछि उनीहरू दबाबमा परेका हुन्।
युक्रेनमा हमलाअघि भएका वार्तामा पुटिनले अमेरिकी नेतृत्वको गठबन्धनलाई राखेको प्रमुख माग रुसको सुरक्षा ग्यारेन्टी थियो। त्यसका लागि सोभियत संघ विघटनपछि नेटोमा जोडिएका राष्ट्रलाई पूर्ववत् अवस्थामै फर्काउनुपर्ने उनको सर्त थियो। त्यो सर्तमा सहमत हुन नसकेकै कारण उनले युक्रेनमा हमला गरेका हुन्। तसर्थ यो युद्ध प्रत्यक्ष रूपमा युक्रेन र रुसबीच भएको देखिए पनि अप्रत्यक्ष रूपमा अमेरिकी नेतृत्वको पश्चिमा गठबन्धन र रुसबीचको हो।
ट्रम्प प्रशासनले रुसप्रति केही नरम र चीनप्रति केही गरमको रणनीति अपनाएको थियो। घट्दो जनसंख्या र खुम्चिँदो अर्थतन्त्रले रुस आफैं कमजोर हुँदै गएकाले उसलाई सफ्टकर्नरमा राखेर उसको सहयोगमा चीनलाई दबाब दिने रणनीति थियो। तर बाइडेन ह्वाइट हाउसको कमान्ड सम्हालेलगत्तै पुटिनप्रति कडा रूपमा प्रस्तुत भए। अमेरिकी केन्द्रीय खुफिया एजेन्सी (सीआईए)का निर्देशक विलियम वन्र्सले फाइनन्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा पतन हँुदै गरेको र उदाउँदै गरेको शक्ति दुवै खतरनाक हुने बताएका थिए। सी जिनपिङ नेतृत्वको चीन अमेरिकाले लामो समय सामना गर्नुपर्ने भूराजनीतिक चुनौती भएको उनको भनाइ थियो।
बाइडेन प्रशासनले युक्रेन युद्धलाई अल्पकालीन चुनौती र दीर्घकालीन प्राप्तिका रूपमा लिएको थियो। युक्रेन युद्धबाट अमेरिकाका चारवटा अपेक्षा थिए। आर्थिक प्रतिबन्धले रसियाको अर्थतन्त्रलाई दीर्घकालीन असर गर्नेछ र उसको कम्ब्याटेन्ट पावरमा ह्रास आउनेछ। दोस्रो, सुरक्षा मामलामा शिथिल रहेका युरोपेली राष्ट्र जागरुक भई सुरक्षा खर्चमा वृद्धि गर्नेछन्। तेस्रो, युरोपेली राष्ट्रको सुरक्षा क्षमता बढेपछि अमेरिका इन्डो प्यासिफिक क्षेत्रमा केन्द्रित रहनेछ। चौथो युरोपले रसिया निर्भर ऊर्जाको विकल्प खोज्नेछ।
अमेरिकी अपेक्षाअनुरूप रुसमाथि लगाइएका प्रतिबन्ध प्रभावकारी भएनन्। चीन र भारतले भारी मात्रामा सुलभ मूल्यको रसियाली ग्यास र इन्धन खरिद गरेपछि उसको अर्थतन्त्र मजबुत नै छ। युरोपेली राष्ट्र जागरुक चाहिँ भएका छन्। युरोपको स्लिपिङ जाइन्ट भनेर चिनिने जर्मनीले सुरक्षा बजेट जीडीपीको २ प्रतिशतभन्दा बढी खर्च गर्ने घोषणा गरेको छ। अन्य नेटो सदस्यले पनि त्यस्तै प्रतिबद्धता देखाएका छन्। तटस्थ रहेका स्विडेन र फिनल्यान्ड नेटोका सदस्य बनिसकेका छन्। नेटो पहिलेभन्दा मजबुत र एकताबद्ध भएको छ।
पुटिनको न्यूनतम लक्ष्य रसियाली मूलका पृथकतावादी समूहको बसोबास रहेको पूर्वी डनवास पूर्णरूपले कब्जा गर्ने हो। त्यसपछि लुहान्स्कदेखि खेहरसान क्षेत्र हुँदै हालको रुसको सीमा क्षेत्रबाट क्राइमियासम्म ल्यान्ड कोरिडोर बनाउने हो। जसले अजपको समुन्द्रमा एकलौटी कब्जा गर्नेछ। ब्ल्याक सी मा पनि उसको पक्कड रहनेछ। उसको सामरिक रणनीति मजबुत हुनेछ। रुसले उक्त लक्ष्य हासिल गरेको छ। तर, उसले कब्जा गरेको भूभागलाई पक्कडमा राख्न कठिन हुनेछ।
फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले हालै पत्रकार सम्मेलनमा परिआए युरोपेली सेना पनि युक्रेनमा तैनाथ हुन सक्ने तर पुटिनलाई जित्न नदिने उद्घोष गरे। हालसम्म नेटोको बुलेट र युक्रेनी सेनाको बुटले रसियाली सेनासँग युद्ध गरिरहेको छ। हालको अवस्था नेटो र रुसबीचको प्रोक्सी युद्ध हो। नेटो मातहतको सेना युक्रेनमा परिचालित हुँदा प्रत्यक्ष युद्ध हूनेछ। त्यसले भयावह अवस्थाको स्थिति पैदा गर्नेछ। जसले आणविक युद्धदेखि तेस्रो विश्व युद्धसम्म निम्त्याउन सक्नेछ।
अमेरिका रुसको लज्जाजनक हार र सानदार जित दुवै चाहँदैन। रुसको लज्जाजनक हारले निम्त्याउन सक्ने आणविक युद्धदेखि ऊ सजग छ। युक्रेनमाथिको सानदार जितले पुटिनको मनोबल बढ्ने र मोल्डोभालगायत अन्य युरोपेली राष्ट्रहरूलाई आक्रमण गर्न सक्ने डरले पनि अमेरिका दबाबमा छ। अमेरिका केवल रुस कमजोर भएको हेर्न चाहन्छ ता कि उसले अन्य युरोपेली राष्ट्रहरू माथि हमला गर्ने सामथ्र्य नराखोस्।
अमेरिकाले चाहेजस्तो रुस कमजोर हँुदै जानेछ या दुगिनको मार्गचित्रअनुरूप नयाँ महाशक्तिका रूपमा स्थापित हुन बलियो हुँदै जानेछ। यो वर्षको गर्मीयामको युद्धले स्पष्ट संकेत दिन सक्नेछ। आगामी नोभेम्बरमा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचन र त्यसको परिणामले पनि असर गर्नेछ। रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति निर्वाचित भए भने पनि युद्धले नयाँ मोड लिन सक्नेछ।