कोशी अस्पतालमा अन्तर्वार्ताका भरमा मेडिकल अधिकृत भर्ना गरिँदै

कोशी अस्पतालमा अन्तर्वार्ताका भरमा मेडिकल अधिकृत भर्ना गरिँदै
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था विराटनगरस्थित कोशी अस्पतालमा अन्तर्वार्ताका भरमा मेडिकल अधिकृतलाई नियुक्ति दिने तयारी गरिएको छ। 

लिखित परीक्षा लिएर खुला प्रतिस्पर्धामार्फत योग्य चिकित्सक छनोट गर्न छाडेर अन्तर्वार्ताका भरमा मनोमानी हिसाबले मेडिकल अधिकृत भर्ना गर्न खोजिएको हो। अस्पतालका कर्मचारी र अन्य चिकित्सकले भने लेनदेन गरेर अस्पताल प्रशासन तथा विकास समितिको मिलेमतोमा आठौं तहमा ३ जनालाई भर्ना गर्न खोजिएको बताए। 

मेडिकल अधिकृतलाई ३ महिने सेवा करारमा नियुक्ति दिनका लागि फागुन ४ गतेको मिति राखी ७ दिने सूचनामार्फत दरखास्त आह्वान गरिएको थियो। अस्पतालले एमबीबीएस वा सो सरहको उपाधि प्राप्त गरेका फरेन्सिक विज्ञ, जनरल सर्जन र माइक्रोबायोलोजिस्टको माग गर्दै शंकास्पद एवं विवादास्पद हिसाबले दरखास्त आह्वान गरेर फागुन ११ गते अन्तर्वार्ताको मिति तोकेको थियो। 

तर, मेडिकल अधिकृत भर्नाको विज्ञापन नै शंकास्पद रहेको भनेर चौतर्फी विरोध भएपछि फागुन ९ गते भर्ना स्थगित गरियो। त्यही विज्ञापनलाई आधार बनाउँदै आर्थिक चलखेल गरेर आठौं तहका मेडिकल अधिकृत भर्ना गर्न खोजिएको अस्पताल स्रोतले बतायो।  

मेडिकल अधिकृत भर्नाका लागि शुक्रबार बिहान ११ बजेको समय दिएर अस्पतालले अर्को सूचना जारी गरेको छ। ‘मिति २०८०/११/११ गते हुने भनिएको विज्ञापन नं ०७/२०८०/८१, ०८/२०८०/८१ र ०९/२०८०/८१ मेडिकल अधिकृत आठौं तहको मिति २०८०/११/०९ स्थगित सूचना बमोजिम स्थगन गरिएकोमा सो अन्तर्वार्ता मिति २०८०/१२/०२ गते बिहानको ११ बजे यस अस्पतालको समीक्षालय भवनमा हुने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ। 

अस्पतालकी सूचना अधिकारी इन्दिरा यादवका अनुसार फरेन्सिक विज्ञमा १ जना, जनरल सर्जनमा २ जना र माइक्रोबायोलोजिस्टतर्फ १ जनाको मात्रै दरखास्त परेको छ। उनले दरखास्त दिएकाहरुको नाम भने उपलब्ध गराउन मानिनन्। सीमित संख्यामा निवेदन लिएर अन्तर्वार्ताका भरमा मात्रै नियुक्ति गर्न खोज्नु सरासर गलत भएको सरोकारवाला बताउँछन्। 

नियुक्तिमा अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवाल र मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झालगायतको स्वार्थ जोडिएको स्रोतको भनाइ छ। चिकित्सक नियुक्तिमा आर्थिक चलखेल गरेको आरोप पनि डा. सिलवाल र डा. झामाथि लागेको छ। अस्पतालका एक चिकित्सकका अनुसार खुलेआम आर्थिक चलखेल गरेर मेडिकल अधिकृत नियुक्त गर्ने तयारी भइरहँदा पनि सरोकारवाला निकाय मौन हुनु आश्चर्यको विषय हो। यस विषयमा विभागीय प्रमुखसमेत अनभिज्ञ रहेको उनले बताए। 

अस्पतालले यसअघि माघ ४ गते २१ दिनको म्याद दिँदै आठौं तहको १० जना मेडिकल अधिकृत, सातौं तहको १ जना नर्सिङ अधिकृत, पाँचौं तहको ३० जना स्टाफ नर्स, २ जना बायोमेडिकल टेक्निसियन र ७ जना फार्मेसी सहायक गरेर ५० जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो। तर, परीक्षाका लागि अलगअलग मापदण्ड बनाएपछि विरोध भयो। 

त्यतिबेला आठौं तहको मेडिकल अधिकृत, पाँचौं तहको स्टाफ नर्स एवं पाँचौं तहको फार्मेसी सहायकमा लिखित र अन्तर्वार्ता तथा सातौं तहको नर्सिङ अधिकृत र पाँचौंको बायोमेडिकल टेक्निसियनमा अन्तवार्ताका माध्यमबाट मात्रै नियुक्ति दिने गरी विवादास्पद हिसाबले विज्ञापन गरिएको थियो। पाँचौं तहलाई लिखित र अन्तर्वार्ता दुवै लिने गरी दरखास्त आह्वान गरिँदा त्योभन्दा माथिको सातौं तहलाई अन्तर्वार्ता मात्रै लिएर नियुक्ति दिने भनिएको थियो। 

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन एवं अनुसन्धान गरिरहेको छ। अख्तियारकै अनुसन्धानमा परेपछि २ महिनाअघि गरिएको विज्ञापनको भर्ना प्रक्रिया रोकिएको छ। तर, बदमासीपूर्ण हिसाबबाट अर्को बाटो अपनाउँदै ३ जना मेडिकल अधिकृत भर्ना गर्न खोजिएको अस्पताल एक कर्मचारीले बताए। 

उनका अनुसार माघ ४ मा मेडिकल अधिकृतमा २१ दिनको म्याद दिएर दरखास्त आह्वान गरिएको भएपनि अहिले छोटो समय दिएर जारी गरिएको ७ दिने सूचनाका भरमा नियुक्ति दिन खोजिएको छ। ‘अघिल्लो विज्ञापन नै विवादमा परेको छ। नियुक्तिको प्रक्रिया रोकिएको छ। फेरि विवादास्पद हिसाबले मेडिकल अधिकृत भर्ना गर्न खोज्नुमा बदनियत देखिन्छ,’ उनले भने। 

अन्तर्वार्ता मात्रै लिएर चिकित्सक भर्ना गर्नुले ‘सेटिङ’ प्रष्ट हुने उनी बताउँछन्। स्वास्थ्य मन्त्रालयबाट १२ जना मेडिकल अधिकृतको दरबन्दी स्वीकृत भएर आएकोमा २ महिनाअघि १० जनाका लागि मात्रै दरखास्त आह्वान गरिएको थियो। अहिले पुनः ३ जना मेडिकल अधिकृत भर्ना गर्न खोज्नुले नियत गलत रहेको स्पष्ट हुने अस्पताल स्रोतको भनाइ छ। 

‘२ महिनाअघि १० जनाको मात्रै विज्ञापन गरियो। अहिले ३ जनाको छुट्टै विज्ञापन गरिएको छ,’ एक कर्मचारी भन्छन्, ‘१३ जना मेडिकल अधिकृत आवश्यक हुँदा एकैपटक किन विज्ञापन गरिएन ? एउटै पदका लागि १ महिनाको अवधिमा अलगअलग विज्ञापन गर्नुले चलखेल प्रष्ट हुन्छ।’ उनले मेडिकल अधिकृतका लागि १ महिनाको अन्तरमा २१ र ७ दिने सूचना जारी गर्दै अलगअलग मापदण्डको विज्ञापन गरिएको छ। 

‘मेडिकल अधिकृत कसैलाई अन्तर्वार्ता र लिखित तथा कसैलाई अन्तर्वार्ताका भरमा मात्रै नियुक्त गर्न खोज्नु सरासर गलत हो,’ उनले भने, ‘यहाँभन्दा ठूलो बदमासी अर्को हुनै सक्दैन।’ उनका अनुसार नियुक्तिलाई लिएर अस्पतालका अध्यक्ष र मेसुले मनोमानी गरिरहेका छन्। मेसु झाले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.