उकालो लाग्दै डढेलो, लाखौं टन कार्बन उत्सर्जन

उकालो लाग्दै डढेलो, लाखौं टन कार्बन उत्सर्जन
फाइल तस्बिर।

काठमाडौं : पछिल्ला वर्षहरूमा डढेलोको समस्या विश्वभर नै विकराल बन्दै गइरहेको छ। नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन। राष्ट्रिय विपद् व्यवस्थापन न्यूनीकरण प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो साता एक दिनमै ९५ भन्दा बढी डढेलोका घटना घटेका छन्। जसको असर स्वास्थ्य, वातावरणमा मात्रै नभएर जैविक विविधतामा पनि प्रत्यक्ष रूपमा पर्ने गरेको छ। 

 ग्लोबल फरेस्ट वाचका अनुसार नेपालमा मार्चको मध्यदेखि ११ सातासम्म अत्याधिक डढेलो लाग्ने गरेको छ। सन् २००१ देखि २०२२ सम्ममा नेपालले ६.८८ किलोहेक्टर जंगल डढेलोका कारण गुमाएको छ। नेपालमा ४६.५ किलोहेक्टर क्षेत्र जंगलले ढाकेको छ। सन् २०१६ मा मात्रै ११ सय ६ वटा डढेलो लागेको थियो। 

तर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा डढेलो विज्ञ सुन्दर शर्माले ग्लोबल फरेस्ट वाचको तथ्यांक ठ्याक्कै मेल नखाए पनि डढेलोका घटना बढिरहेको बताए। ‘एउटा अध्ययनले नेपालमा प्रत्येक वर्ष दुई लाख हेक्टर जंगलमा आगलागी हुने देखाएको छ’, शर्माले भने, ‘प्रत्येक चार-पाँच वर्षमा डरलाग्दो डढेलो दोहोरिने गरेको छ। यो वर्ष डढेलोको खतरा झन् धेरै छ।’

यो वर्ष हिउँदे वर्षा औसतभन्दा कम भयो। तापक्रम पनि बढ्ने अनुमान छ। त्यसैले डढेलोको जोखिम बढेको शर्माले बताए। विगत दुई वर्षमा औसतभन्दा कम डढेलो लागेकाले पातपतिंगर थुप्रिएका छन्। अहिले डढेलोको घटना उकालो लाग्दै छ। डढेलो जेठसम्मै रहने उनले बताए। 

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार यस पटकको हिउँदमा करिब २० प्रतिशत मात्रै वर्षा भयो। यसले आगामी दिनमा डढेलोको घटना झनै बढ्न सक्ने देखिएको छ। विभागका मौसमविद्, सुदर्शन हुमागाईं भन्छन्, ‘हिउँदमा लगभग २० प्रतिशत मात्रै पानी परेको छ। त्यसले डढेलो बढाउन सक्छ। तर, प्रि–मनसुनमा सामान्यभन्दा बढी वर्षा हुने देखाएको छ। सायद त्यसले डढेलो नियन्त्रण गर्छ।’ 

विभागले हिउँदमा औसतभन्दा बढी पानी पर्ने आकलन गरेको थियो। तर, यो हिउँद सुक्खा रह्यो। ग्लोबल सेन्टरहरूको तथ्यांकले नेपालमा प्रि–मनसुनमा सामान्यभन्दा बढी पानी पर्ने सम्भावना देखाएकाले डढेलोको घटना कम गर्न मद्दत गर्ने हुमागाईंले बताए। वर्षा नभएको खण्डमा यो वर्ष डढेलो बढ्ने उनले बताए। 

नेपालमा बारम्बार खडेरी बढिरहेको विभागको तथ्यांकले देखाउँछ। सन् १९८१ देखि २००० सम्मको अवधिभन्दा २००० देखि २०२४ सम्ममा हिउँदे वर्षा घटेको छ। सन् २०२४, २०२३, २०२१, २०१८, २०१७, २०१६, २०१४, २०१२, २०११, २००९, २००८, २००६, २००१ लगायतका वर्ष पनि पानी परेको छैन। पहिलाभन्दा अहिले छोटो अन्तरालमा सुक्खा हुन थालेको विभागको तथ्यांकले देखाएको छ। यस्ता घटना दोहोरिनु भनेको हिउँदमा डढेलो तथा आगलागी झनै बढाउँछ भन्ने जनाउँछ। 

सन् २०२१ मा मात्रै साढे ६ हजार डढेलो

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार सन् २०२१ सबैभन्दा धेरै डढेलो लागेको थियो। त्यो बेला करिब साढे ६ हजार डढेलो लागेको थियो। अहिलेको अवस्था हेर्दा २०२१ मा जस्तै हुनसक्ने पोखरेलले बताए। त्यतिबेलाको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को मात्रा ६३२ थियो। विश्व स्वास्थ्य संगठनका अनुसार शून्यदेखि ५० एक्यूआईलाई स्वथ्य मानिन्छ। प्रदूषणका कारण ३ दिन विद्यालय बन्द भएका थिए।

पोखरेलका अनुसार हाल (बिहीबारसम्म) नेपालको पूर्वमा धेरै डढेलो लागिरहेको छ। यसपटक पूर्वमा भन्दा पश्चिममा धेरै पानी परेकोले पश्चिममा डढेलो कम छ। अझै एक डेढ हप्ता पानी पर्ने देखिँदैन। त्यसले झनै डढेलोको संख्या बढाउने पोखरेलले बताए। 

डढेलोको सम्बन्ध पहिरोसँग पनि रहेको पोखरेलले बताए। ‘डढेलोमा परेका रूख भएको ठाउँमा माटो खुकुलो हुन्छ। त्यहाँ पानी पर्ने बित्तिकै पहिरो जान्छ’, उनले भने। डढेलो लागेको ठाउँको पानी माछा पालन पोखरीमा पुग्दा माछाहरू मरेको घटना पनि भएका छन्। कार्बन हुने भएकाले माछालाई असर गर्ने गरेको छ। 

हालको सुक्खापनको अवस्था हेरेर भविष्यमा हुनसक्ने डढेलो आकलन गर्न सकिन्छ। सुक्खा र पानी नपर्दा डढेलो बढ्ने सम्भावना हुन्छ। उनले डढेलोको विषयमा अध्ययन पनि गरेका छन्। उक्त अध्ययनका अनुसार सुक्खाका कारण सन् २०२० र २०२१ मा आगलागीको सिजन सामान्यभन्दा चार महिना पहिले सुरु भएको थियो। औसतभन्दा कम वर्षा भएको समयमा धेरै डढेलो लागेका छन्। सन् २००९, २०१६, २०२१ यस्तै सुक्खा वर्ष थिए। 

डढेलो नियन्त्रण गर्न सकिन्छ : प्राधिकरण

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस्ता घटना नियन्त्रण गर्न लागिपरेको बताए। उनका अनुसार हुनसक्ने डढेलो नियन्त्रणका लागि सामुदायिक वनका सदस्य, वन रक्षक, प्रहरी तथा सशस्त्र,  अधिकृत, उपसचिवहरूलाई तालिमको मापदण्ड बनाएर तीन खालका तालिम दिँदै आएको बताए। कस्ता ठाउँमा कसरी आगो निभाउने, त्यसको विस्तृत योजना कस्तो बनाउनेलगायतका तालिम दिइने जनाइएको छ। 

आगलागीका उच्च सम्भावित ठाउँहरूमा आगो नियन्त्रण उपकरणको व्यवस्थापन गरिएकोसमेत उनले बताए। हरेक प्रदेश तथा सम्बन्धित निकायसँग संवाद गर्ने, अन्य मन्त्रालयलगायतसँग सहकार्य गर्दै राष्ट्रिय रणनीति बनाउने काम भइरहेको पोखरेलले बताए। 

डढेलो मावनीय कारण 

प्राधिकरणका उपसचिव तथा डढेलो विज्ञ शर्माका अनुसार नेपालमा ६४ प्रतिशत डढेलो मानवीय कारणले हुने गरेको छ। त्यसका लागि सचेतना र सतर्कता आवश्यक छ। त्यसमा जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढ्दा पनि डढेलोको घटना बढेका छन्। हिउँदे वर्षा घट्नुमा पनि जलवायु परिवर्तनको योगदान छ। 

उनका अनुसार विदेशको कुरा गर्दा २५ प्रतिशत डढेलो चट्याङबाट लागेको छ। तर, नेपालमा त्यस्तो घटना रेकर्डमा छैन। नेपालमा पानीसँगै चट्याङ पर्ने भएकाले डढेलोको मुख्य कारण मानिस नै हो। तर, डढेलो नियन्त्रण चुनौतीको विषय भएको बताए। 

डढेलोले लाखौं टन कार्बन उत्सर्जन 

कृष्णबहादुर भुजेलले गरेको एउटा अध्ययनले सन् २००१ देखि २०२० सम्मको अवस्था हेर्दा नेपालमा प्रत्येक वर्ष ३.३० मिलियन टन कार्बन उत्सर्जन हुने गरेको देखाउँछ। उक्त अध्ययनका अनुसार नेपालमा सामान्यतया वार्षिक ३ हजार ९८ वटा डढेलोको घटना हुन्छन्। त्यसबाट १ लाख ७२ हजार ४० हेक्टर जंगल मासिने गरेको छ। सन् २०२० र २०२१ मा मात्रै नेपालले १ करोड ८९ लाख रुपैयाँ डढेलोको कारण क्षति बेहरेको छ। तर, प्राधिकरणले डढेलोको क्षतिआकलन गर्न नसकेको र आकलन गर्न चुनौती रहेको बताएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.