सुन तस्करीमा संलग्न पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार जीवन गुरुङविरुद्ध मुद्दा दर्ता
९ चिनियाँ नागरिकलाई पनि कारबाही सिफारिस
काठमाडौं : १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंंमा मुद्दा दर्ता भएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो मागदाबी गर्दै शुक्रबार मुद्दा दर्ता गरेको हो।
१४ किलो सुन तस्करीमा संलग्न गुरुङविरुद्ध मुद्दा दायर भएको हो। दुबईबाट आएको १४ किलो सुन तस्करीमा उनको कनेक्सन देखिएको थियो। यो सुन गोरखाका चन्द्र घलेले ल्याएका थिए। गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन्।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको छ। आयोगले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको हो।
आयोगले बुझाएको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए। आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सुन तस्करीमा ९ जना चिनियाँँ नागरिकको संलग्नता देखिएको पुष्टि गरे। उनले अनुसन्धानमा प्रहरीको समेत कमजोरी देखिएको बताए।
‘अनुसन्धानको क्रममा जिम्मेवारमा रहेका प्रहरी कर्मचारीको पनि कमजोरी देखिएकाले विभागीय कारबाहीको सिफारिस गरेका छौं,’ आचार्यले अन्नपूर्णसँग भने। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी किरण वज्राचार्यसहित एसपी सञ्जयसिंह थापा, डीएसपी रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले बतायो।
आयोगले महरासहित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सचिवालयका जीवन गुरुङ, जीवन चलाउने, प्रनिश पुन, मञ्जिल गुरुङलाई पनि कारबाही सिफारिस गरिएको छ। महराका छोरा राहुल यसअघि नै पक्राउ परी प्रहरी हिरासतमा छन्। त्यस्तै सरकारी वकिल कार्यालयका वासुदेव शर्मा र जनकराज घिमिरेको भूमिकामाथि पनि आयोगले शंका व्यक्त गरेको छ। उनीहरूलाई विभागीय कारबाहीको सिफारिस गरिएको आयोगका अध्यक्ष आचार्यले बताए।
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे जाँचबुझ गर्न सरकारले गत असोजमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले करिब साढे ५ महिना लामो अध्ययन, अनुसन्धान र जाँचबुझ गरेको थियो। आयोगमा पूर्वन्यायाधीश आचार्य अध्यक्ष र पूर्वएआईजी सहकुल थापा, पूर्वसहसचिव प्रेमराज जोशी र किशोरजंग कार्की सदस्य थिए।
सीआईवीका दुई डीएसपीको जिम्मेवारी खोसियो
सुन तस्करीमा संलग्नता देखिएको भन्दै आयोगले कारबाहीको सिफारिस गरेका दुई जना डीएसपीको जिम्मेवारी खोसिएको छ। डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवर प्रहरी हेडक्वार्टर तानिएका छन्।
प्रतिक्रिया दिनुहोस !