अन्नपूर्ण एक्सक्लुसिभ

पूर्वउपराष्ट्रपति पुनका परराष्ट्र विज्ञको सुन सञ्जाल

पूर्वउपराष्ट्रपति पुनका परराष्ट्र विज्ञको सुन सञ्जाल

काठमाडौं : गत मंसिर २१ गते मध्यरातमा फ्लाई दुबईको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्‍यो। जहाजमा १४ किलो सुन बोकेर एक व्यक्ति आउँदैछन् भन्ने पूर्वसूचना तत्कालीन प्रमुख भन्सार अधिकृत टोकराज पाण्डेकहाँ आइपुग्यो। मध्यरात ११ः४० बजे पाण्डे आफैं जहाजभित्रै पुगे र चन्द्र घले नाम गरेका सुन भरिया समाते।

घलेलाई लिएर पाण्डे नेतृत्वको भन्सार टोली आगमन कक्षको नियमित चेकजाँच स्थल (वाकथ्रु मेटल डिटेक्टर गेट) पुग्यो। मेसिनले धातु पहिचान गरेपछि घलेको खानतलासी भयो। उनले छातीको दायाँ–बायाँ भागमा कपडामा बेरेर ७ थान सुनको बिस्कुट ल्याएका रहेछन्। ज्याकेट लगाएझैं उनले १४ किलो सुन पहिरिएका थिए।

सुनजस्तो देखिने पहेँलो धातु भन्सार विभागको केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा सुन भएको प्रमाणित भयो। नेपालको कानुनअनुसार एक व्यक्तिले अधिकतम ५० ग्राम सुनमात्र ल्याउन पाउँछ। घलेले कानुनी सुविधाभन्दा २ सय ८० गुणा बढी सुन ल्याएका रहेछन्। त्यसबाहेक भन्सार छली गर्ने अभिप्राय देखिएपछि घलेलाई कानुनी परिबन्धमा कस्न सरकारी पक्षलाई सजिलो भयो।

भन्सारको टोलीले ‘यो सुन कसको हो ?’ भनी सोधपुछ गर्दा उनले जवाफ दिए, ‘गोरखाका मीनबहादुर घलेको।’

गोरखा जिल्ला वारपाक निवासी मीनबहादुर काठमाडौंको धुम्बाराहीमा बस्दै आएका थिए। चन्द्र घलेकै आधारमा मीनबहादुर घले पक्राउ परे। मीनबहादुरले पनि सुन आफ्नै रहेको स्वीकारे।

अध्ययनका क्रममा चन्द्र घले समेतले दुबईबाट पटक–पटक गरी १ सय ३८ किलो सुन तस्करी भएको खुल्यो। यो काममा भएको भन्सार छली र जरिवानासहित १ अर्ब ४० करोड ५५ लाख ३० हजार रुपैयाँ बिगोसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भयो।

त्यसपछि आयो पूर्वउपराष्ट्रपतिको परराष्ट्र विज्ञको नाम

त्रिवि भन्सार कार्यालयको अनुसन्धानमा यो कार्यमा चन्द्र घलेसहित १० जना संलग्न भएको देखियो। विस्तृत कल विवरणअनुसार एक उच्च ओहोदामा रहिसकेका व्यक्तिको नाम आयो। उनी थिए, तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र विज्ञ जीवनकुमार गुरुङ। 

अन्यविरुद्ध पुस १६ गते नै मुद्दा दायर गरिएको भए पनि गुरुङ फागुन १४ गते पक्राउ परे। त्यसपछि खोतलियो, गुरुङको संलग्नता। गुरुङ पर्वत महाशिला गाउँपालिका—६ निवासी धनप्रसाद गुरुङका नाति तथा रामप्रसाद गुरुङका छोरा हुन्। गुरुङ १४ गते मध्यरातमा काठमाडौं–२६ सामाखुसीबाट पक्राउ परेका थिए।

गुरुङले आफू सो कार्यमा आफू संलग्न नरहेको इन्कारी बयान दिइरहे। तर, मीनबहादुर घलेसँग २०/२२ वर्ष अघिदेखिको सामान्य चिनजान रहेको स्वीकारे। गुरुङका अनुसार घले र उनको भेट दोहोरी साँझमा भएको थियो। त्यसपछि पनि कहिलेकाहीँ उनीहरूको भेट हुन्थ्यो रे। तर घलेसँग ५ सय ५३ पल्ट फोन सम्पर्क गर्ने मोबाइल नम्बर ९८६९०००२०४ आफ्नो नभएको दाबी गरिरहे।

गुरुङ सुरुमा नेपालमा दुबईको भिसा सेन्टर खोल्ने सन्दर्भमा दुबई आउने जाने गरिरहन्थे। सो कामका लागि दुबईका रिजवान आलम भन्ने व्यक्तिले सहजीकरण गरेका थिए। त्यसपछि नेपालको पानी दुबई निर्यात गर्ने निहुँमा बजार सर्वेक्षणका लागि भन्दै दुबई जाने आउने गर्थे।

मीनबहादुर घले अन्तिमपटक गत मंसिर ३० गते दुबई भई तीन दिनपछि फर्केका थिए। घलेको फर्केको २/३ दिनपछि पनि गुरुङ–घले संवाद भएको विस्तृत कल विवरणले देखाउँछ। गुरुङ दुबई आउन जानका लागि लाजिम्पाटस्थित राजश्री इन्टरनेसनल ट्राभल एन्ड टुर्सबाट टिकट काट्थे। राजश्री ट्राभलसँग सम्पर्क गर्ने चारवटा मोबाइल नम्बरमध्ये एउटा थियो घलेले प्रहरीलाई दिएको नम्बर ९८६९०००२०४। यही थियो, २०७९ पुस २७ देखि २०८० मंसिर २२ सम्म कुल ५ सय ५३ पल्ट फोन गर्ने नम्बर।

गुरुङले यो नम्बर आफ्नो नभएको बारम्बार दोहोर्‍याइरहे। गुरुङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष पनि हुन्। मंसिर २२ गते घलेद्वय पक्राउ परेपछि गुरुङ लापत्ता थिए। तर, आफू महाशिला सामाजिक विकास संस्थाले पर्वतमा आयोजना गरेको भलिबल प्रतियोगितामा उपस्थित हुन तथा नेपालमा पानीको उद्योग खोल्न हिमाली भेगको भ्रमणमा गएको बताएका थिए।

त्यसपछि खुल्यो सो नम्बर गुरुङकै भएको रहस्य...

गुरुङले दुबई जान आउन राजश्री ट्राभल्सबाट टिकट काट्थे। सो कम्पनीका सञ्चालक राजकुमार भारती हुन्। भारती र गुरुङको चिनजान भएको करिब  ५–६ वर्ष भयो। टिकट काट्ने सिलसिलामा नै उनीहरूको चिनजान भएको थियो। भारतीले गुरुङको तीन वटा भाइबर र ह्वाट्सएप नम्बरमा टिकट पठाउँथे। जसमध्ये एउटा थियो, घलेले प्रहरीलाई दिएको नम्बर ९८६९०००२०४। यही थियो, २०७९ पुस २७ देखि २०८० मंसिर २२ सम्म कुल ५ सय ५३ पल्ट फोन गर्ने नम्बर।

जीवन गुरुङले काटेको टिकटको भुक्तानी नगदै गर्ने गरेका थिए। सुरुका दिनमा त गुरुङले भिजिट भिसामा दुबई जाने–आउने दुईतर्फी टिकट काट्थे। केही समयपछि भने गुरुङले रेसिडेन्सिएल पर्मिट भएको भन्दै जाने टिकेट मात्र काट्ने गरे। टेलिफोन गर्न ९८६९०००२०४ सहित थप तीन मोबाइल नम्बर प्रयोग गर्थे। ती नम्बर हुन्, ९८०३७०३७४५, ९८१३४०२८३८, ९८४१३७९२४७। मंसिर २१ गते मध्यरातमा चन्द्र घले एयरपोर्टमा सुनसहित पक्राउ परेपछि गुरुङले राजश्रीबाट टिकट काट्न बन्द गरे।

९८६९०००२०४ जीवन गुरुङकै हो भन्ने अन्तिम प्रमाण थियो, उप–राष्ट्रपतिकै कार्यालय। त्रिवि भन्सार कार्यालयले लेखेको पत्रको जवाफ दिँदै कार्यालयले भनेको छ, ‘तत्कालीन सम्माननीय उप–राष्ट्रपतिज्यूको वैदेशिक मामिला विज्ञका रूपमा नियुक्त जीवनकुमार गुरुङको कार्यालयको अभिलेखअनुसारको मोबाइल नम्बर ९८६९०००२०४ हो।’

तर, यो नम्बर गुरुङको नाममा दर्ता छैन। सुन्धारा, काठमाडौं निवासी लक्ष्मण महर्जनको नाममा भएको यो नम्बर दुरुपयोग गरिएको अध्ययनको ठहर छ। गुरुङले घलेसँग भएको कुराकानी लुकाउन र आफ्नो नम्बर होइन भनी दिएको बयानले अपराध अनुसन्धानलाई समेत प्रभावित पार्न खोजेको अध्ययनको निष्कर्ष छ। अरूका नाममा जारी भएको मोबाइल नम्बर प्रयोग गरेर गुरुङले गैरकानुनी ढंगबाट नेपालमा सुन भन्सार चोरी पैठारी गर्दै आएको कुरा पुष्टि भएको भन्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा गुरुङविरुद्ध मुद्दा दायर भइसकेको छ।

अदालतमा जारी मुद्दामा गुरुङले आफ्नो राजनीतिक तथा व्यावसायिक शक्तिको दुरुपयोग गरेको दाबी गरिएको छ। गुरुङले सुन जोख्न ट्रिसा अफ स्विट्जरल्यान्ड लेखिएको नीलो र सिल्भर रङको डिजिटल तौलने मेसिन प्रयोग गर्दै आएका थिए।


कस्तो कुराकानी गर्थे घले र पुन ?

मीनबहादुर घलेको मोबाइलको डिजिटल फरेक्सिक ल्याब रिपोर्टअनुसार गुरुङको सो मोबाइल नम्बर घलेले जोन नाममा सेभ गरेका थिए। उनीहरूबीच यस्तो किसिमको मेसेज आदानप्रदान हुने गरेको थियो।
गुरुङ : आज कति भाउ रहिछ र कति डाउन छ सोध्नु न नेबिलाई ? अनि ३ पिस अरिहन्तलाई दिनु बाँकी भन्छु।
घले : ०९००० प्राइस, २५०० डाउन। अरहिन्तलाई आजै दिनी ?
गुरुङ : आजै दिनु हो।
गुरुङ र घलेबीचको कुराकानी शंकास्पद र कोड भाषामा हुने गरेको अनुसन्धानका क्रममा खुलेको छ।


विमानस्थलकै कर्मचारी संलग्न

बाहिरी देशबाट ल्याएको सुन विमानस्थलको शौचालयमा लुकाई चोरी निकासी गरी सम्बन्धित व्यक्ति वा स्थानमा पुर्‍याउने र रकम लिने कार्यमा त्रिभुवन विमानस्थलमा कार्यरत प्लम्बर, एयर कन्डिसन चलाउने सहायक, वरिष्ठ सहायक, कार्यालय सहयोगीसमेत संलग्न रहेको खुलेको छ। 

कृष्णकुमार श्रेष्ठ, शेरबहादुर बस्नेत, रमेश देउला, राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, अनिल श्रेष्ठ विमानस्थलभित्र विभिन्न पदमा कार्यरत छन्। उनीहरूले चन्द्र घले, मीनबहादुर घले, डीबी भन्ने दनबहादुर गुरुङ, वीना गुरुङसमेतलाई सघाउँदै सुन विमानस्थलबाट निकाल्ने गरेको खुलेको छ।

तीमध्ये राधाकृष्ण नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ सहायक हुन्। उनी ३४ वर्षदेखि प्राधिकरणमा कार्यरत छन्। सेवा सुरु गरेदेखि नै विमानस्थलमा कार्यरत उनी एसी (एयर कन्डिसन) मेकानिक हुन्। तस्करी कार्यमा उनको भूमिका भीआईपी शौचालयमा रहेको सुन चलाखीपूर्वक विमानस्थलबाहिर ल्याउनु रहेको खुलेको छ।

१२ वर्षदेखि विमानस्थलमा कार्यरत अनिल एसी मेकानिक नै हुन्। उनको भूमिका पनि राधाकृष्णको झैं छ। लेकबहादुर विगत ३५ वर्षदेखि प्राधिकरण मातहत कार्यरत कर्मचारी हुन्। 
जीवनकुमार गुरुङ संलग्न रहेका प्रमाणहरू :

  • प्रमुख भन्सार प्रशासकसमेतको जाहेरी प्रतिवेदन
  • बरामदी तथा खानतलासी मुचुल्का
  • प्रतिवादीको ह्वाट्सएपलगायतका सामाजिक सञ्जालको टेक्स्ट तथा अडियो म्यासेज
  • मीनबहादुर घलेको विस्तृत कल विवरण (सीडीआर) रिपोर्ट
  • डिजिटल फरेन्सिक ल्याब रिपोर्टमा खुलेको घले–गुरुङ कुराकानी
  • यात्रा विवरण
  • म्यासेजको टेक्स्ट डिटेल, फोन कल डिटेल
  • गुरुङको साथबाट बरामद भएको सिल्भर रङको डिजिटल तौलने मेसिन
  • राजश्री ट्राभल्सका सञ्चालकको बयान
  • उपराष्ट्रपतिको कार्यालयबाट जीवनकुमार गुरुङको खुलाई आएको मोबाइल नम्बर

अपांगमैत्री शौचालयमा राखिएको सुन भीआईपी कक्षबाट ‘चेकिङ पोइन्ट’ छल्दै भीआईपी शौचालयसम्म पुर्‍याउने काम उनको थियो। ४० वर्ष सेवा गरेका ७ वर्षअघि प्राधिकरणमै करारमा नियुक्त भएका थिए। 

विमानस्थलको पार्किङमा पुगेको सुन टोखास्थित दनबहादुर गुरुङलाई उपलब्ध गराउनु उनको काम थियो। प्लम्बर शेरबहादुर पनि प्राधिकरणले करारमै नियुक्त गरेका कर्मचारी हुन्। उनको काम तस्करीको सुन शौचालयमा आए–नआएको ‘रेकी’ गर्ने थियो।

४० वर्षे सेवाबाट अवकाश भएपछि पनि प्राधिकरणले उही कर्मचारीलाई पुनः करारमा नियुक्त गर्नु, एकै कर्मचारीलाई वर्षौंसम्म उही जिम्मेवारीमा एकै ठाउँ खटाउनु, उनीहरूलाई ‘अल एरिया पास’ उपलब्ध गराउनु शंकास्पद देखिएको पनि त्रिवि भन्सारको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

यसरी बाहिरिन्थ्यो विमानस्थलबाट सुन

सुन तस्करीका लागि घलेले विमानस्थलमा सहयोगी डीबी भनिने दनबहादुर गुरुङमार्फत सेटिङ मिलाएका हुन्। दुबईबाट नेपालसम्म सुन ल्याउने जिम्मा मंसिर २१ गते पक्राउ पर्ने चन्द्र घले र रूपन्देही तिलोत्तमा– २, जानकीनगरका कृष्णकुमार श्रेष्ठको थियो। दुबई जान जहाजको टिकट र बस्न होटेलको प्रबन्ध गुरुङ मिलाउँथे।

दुबईमा सुनको ज्याकेट लगाउँथे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रन्थे। विमानस्थलको आगमन कक्ष प्रवेश गर्थे। सो कक्षमा रहेको शौचालय जान्थे। सुनको ज्याकेट खोल्थे। शौचालयभित्रको सफाइ गर्ने बाकसमा स्टोर गर्थे र बाहिरिन्थे।

सुन आइपुगेको जानकारी डीबीले नागरिक उड्डयन प्राधिकरणका कर्मचारी देउलालाई दिन्थे। देउलाले बस्नेतलाई यकिन गर्न लगाउँथे र रमेश र लेकबहादुर तामाङलाई जानकारी गराउँथे। लेकबहादुर शौचालय जान्थे। 

बाकसभित्रको सुन राखिएको ज्याकेट लगाउँथे र भीआईपी कक्ष हुँदै अर्को शौचालय जान्थे। सुन भरिएको ज्याकेट खोल्थे। सुरक्षितसँग राख्थे र यसको जानकारी प्राधिकरणकै राधाकृष्ण श्रेष्ठलाई गराउँथे।

त्यसपछि राधाकृष्ण भीआईपी कक्षको शौचालय पुग्थे। सुनको ज्याकेट लगाउँथे। आपत्कालीन ढोका हुँदै तेस्रो तलामा रहेको एसी मेन्टिनेन्स कक्षमा पुग्थे। सो कक्षबाट छत हुँदै अर्को आपत्कालीन सिँढीबाट तल झर्थे र अनिल श्रेष्ठलाई खबर गर्थे। आपत्कालीन ढोका अनिल खोल्थे। राधाकृष्णलाई बाहिर निकालेर ढोका बन्द गर्थे। सुन लिएर राधाकृष्ण पार्किङ कक्षमा पुग्थे।

पार्किङदेखि टोखा पुर्‍याउने काम रमेशको थियो। रमेश सुन लिएर टोखास्थित डीबीको घरबाट मीनबहादुरले सुन लिएर जीवनकुमार गुरुलाई बुझाउँथे।

मीनबहादुर सन् २०१४ यता ३६ पटक दुबई पुगेको देखिन्छ। चन्द्रबहादुर २०१७ यता ६० पल्ट दुबई पुगेका छन्। कृष्णकुमार चाहिँ २०१५ यता ६६ पटक दुबई पुगेको देखिन्छ।

null

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.