सहरका चिल्ला सडकहरू लमतन्न
अचेतमाथि चेतहरू दगुरिरहेछन्
प्लास्टिकका पोकाहरू, चुरोटका ठुटाहरूले
सडक रंगीन छन् पोकामा चेतना छ
अनि बुद्धि छ नगरवासीहरूको
बौद्धिकता छताछुल्ल भएको छ पोकाभरि
सभ्य सहरको परिचय बनेर
बागमतीको पवित्र जल बगिरहेथ्यो
धार्मिक आस्था बोकेर सबैलाई
पवित्र पार्दै हिजोका दिनहरूमा।
आज, वाग्मतीमाथिको आस्था मरेको छ
वाग्मतीको अस्मिता लुटिएको छ
वाग्मती ढल बनेसँगै विश्वास बगेका छन्
उही नगरवासीको उपहारसँगै,
वाग्मतीमा बगिरहेछ बौद्धिकता ढल बनेर
खै ? ऋषिमुनिको तप पुष्प विमान, सञ्जीवनी ज्ञान
अनि टिष्टा र राविमा टेकिएका नेपाली पाइला
हाम्रो गर्वको इतिहास तर मेटिँदैछ इतिहास
हराउँदै छन् आस्थाहरू बौद्धिकताको पलायनसँगै
हाम्रो बौद्धिकता छताछुल्ल भएको छ
कर्म बनेर देशभरि, संसारभरि !
- ज्ञानप्रसाद भट्टराई