कहिल्यै बोलाइनँ कसैलाई
मलाई नै देखेर आएका हुन्
तर उनीहरू जाँदा
मलाई नै टेकेर गएका हुन्।
मलाई देखेर आउनेहरू
एकछिन मसँगै हिँडे र कतै गए
मलाई टेकेर जानेहरू
एकछिन कतै पुगे र फर्केर आए
तर अहिलेसम्म फर्किएका छैनन्
जो बोकिएर गएका थिए
जो हिँड्दाहिँड्दै एकछिन
रोकिएर गएका थिए।
जस्तो कि, कात्रोमा बेरिएर गएकाहरू
फेरि हिँड्दै फर्किएका छैनन्
जस्तो कि, मेरै छेउमा उभिएर
मायाको फूल साटेर गएकाहरू
फेरि मुस्कुराउँदै यता आएका छैनन्
सायद, अरूकै काँधमा चढेर गएकाहरू
आफैं हिँडेर आउन जान्दैनन्
सायद, मायाको खुसी साटेर
हाँस्दै गएकाहरू मायाले नै दुःख दिएपछि
फेरि त्यही बाटो फर्किन मान्दैनन्।
बाटोले त केही देख्दैन
तर मान्छे किन
बाटोसँग छलिएर हिँड्छ ?
बाटोले त केही भन्दैन
तर किन बाटोबाटै भड्किएर हिँड्छ ?
जब मान्छे प्रेमको सुरुआतमा हुन्छ
ऊ बाटोमै आउँछ र प्रेमको कुरा गर्छ
उसका लागि प्रेम बाटोमा सुरक्षित हुन्छ
जब प्रेम मान्छेबाट असुरक्षित हुन थाल्छ
ऊ बाटोमै आउँछ र कराउन थाल्छ
प्रेम घरभन्दा बाटोमा सहासिलो बन्छ।
जब सँगै हिँडेकाहरू आआफ्नो बाटो लाग्छन्
उनीहरूले आफू हिँडेको बाटो
अरूलाई भन्छन् कि भन्दैनन् होला ?
एक पटक छुट्टिएर अलग भएकाहरू
फेरि त्यही बाटोमा भेटिँदा आपसमा हेरेर
हाँस्छन् कि हाँस्दैनन् होला ?
बाटोलाई त कसले पो गन्छ र !
बाटो आफैंलाई त थाहा हुन्न
कति पर पुगेपछि अर्को मोड आउँछ भनेर
तर बाटोलाई उसले चाहिँ चिनेको हुन्छ
जसले बाटोलाई नै ओछ्यान बनाएर
बाटोमै निदाएको हुन्छ।