जब मुलुककै पहिलो गुरुकुल पुगे राष्ट्रपति पौडेल...
मटिहानी (महोत्तरी) : राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरीको विविध कार्यक्रममा सरिक हुने क्रममा शनिबार मटिहानीस्थित देशकै जेठो विद्यालय राजकीय संस्कृत आवासीय विद्यालयमा पुगेका छन्। त्यहाँ वटुकहरूले स्वस्तिक मन्त्र उच्चारण गरी उनलाई स्वागत गरेका थिए।
सोही क्रममा विद्यालयका प्राचार्य ईश्वरीप्रसाद पौडेलले संस्कृतमा लेखिएको मायाको चिनो प्रदान गर्नुको साथै रुद्राक्षको माला पहिराएका थिए। राष्ट्रपति पौडेलले सो क्रममा त्यहाँँको वास्तविकताका सम्बन्धमा चाखोपूर्ण रूपमा सुनेका थिए। प्राचार्य पौडेलले राष्ट्रपतिलाई वास्तविकता दर्शाएका थिए। विद्यालयमा भौतिक पूर्वाधार अवस्थाले गर्दा आवासीय रूपमा विद्यालय सञ्चालन गर्नका लागि असमर्थ रहेकोले यसतर्फ ध्यानाकर्षण गराएका थिए। सो समस्या समाधानको निम्ति पहल गरिदिनका लागि राष्ट्रपतिसमक्ष अपिल गरेका थिए।
संस्कृत विषयको पठनपाठन गराउँदै आएकोमा खुसी हुँदै राष्ट्रपति पौडेलले विद्यालय परिवारलाई धन्यवाद दिएका थिए। संस्कृत विषयमा आफू पनि अध्ययन गरेको स्मरण गर्दै राष्ट्रपति पौडलेले भने– यस विद्यालयका सम्बन्धमा आफूले २०१३।०१४ सालतिर सुनेका थिए। यस विद्यालयलाई सबैले साथ र सहयोग गरेकै कारण अझ पनि यहाँ पठनपाठन जारी नै छ। यो नेपालकै लागि गौरवको विषय रहेछ। यसलाई अगामी दिनमा पनि निरन्तर सहयोग गरी अगाडि बढाउनुस्। यस विद्यालयमा हाल समस्याहरू रहेको सुनेको छु। जसलाई समाधान गर्नुपर्ने आवश्यक छ। यस्ता समस्याको समाधान निम्ति तीनैतहका सरकारले गम्भीर रूपमा चासो लिई रणनीति बनाउनुपर्ने आवश्यकता छ। सबै मिलि समस्याको पहिचान गरी समाधानको निकास निकाल्नु आवश्यक छ।
अन्नपूर्ण पोस्ट्ले यस विद्यालयका सम्बन्धमा समाचार सम्प्रेषण गरेको थियो। त्यस विद्यालयमा यसअघि पनि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल नेपाली कांग्रेसको नेता भएको हैसियतले त्यहाँँ पुगेका थिए। राष्ट्रपति भएपछि पौडेल पहिलोपटक त्यहाँँ पुगेका हुन्। यसभन्दा अगाडि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी २०७८ साल मंसिर ६ गतेका दिन त्यहाँँ त्यहाँँ राष्ट्रपतिको हैसियतले पुगेका थिए।
जलेश्वरनाथ महादेवको दर्शन
शनिबार बिहान महोत्तरी आएका राष्ट्रपति पौडेलले महोत्तरी सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिरको दर्शन गरे। बाह्रै महिना जलभत्रि रहने भगवान् शिवको दर्शन गर्नुको साथै राष्ट्रपतिले पूजाअर्चना समेत गरेका थिए।
राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पूजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्याङमुनि) जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजाअर्चना गराएका थिए। उनले मन्दिर परिसरमा रहेको माता पार्वती र गणेशको पनि पूजाअर्चना गरेका थिए। राष्ट्रपतिलाई जलेश्वरका मेयर सुरेश साह सोनारले मन्दिर परिसरमै नगरका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए।
पूर्वमन्त्रीद्वय मिश्र, नेपाली र सहिद केशव कोइरालाको शालिक अनावरण
राष्ट्रपति पौडेलले पूर्वमन्त्री रामनारायण मिश्र, पूर्वमन्त्री गणेश नेपाली र सहिद केशव कोइरालाको शालिक अनावरण गरेका थिए। पिपरा गाउँपालिका–४ मा निर्मित पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका–५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका–८ मा निर्मित सहिद केशव कोइरालाको सालिक अनावरण गरेका हुन्। सो क्रममा राष्ट्रपति पौडेलले सहिद एवं पूर्वनेता देशका धरोहर रहेकाले त्यस्ता महान नेताहरूप्रति हरेकको श्रद्धाभाव हुनुपर्नेमा जोड दिएका छन्। सहिदहरूले देशका लागि गरेको योगदानलाई हामीले बिर्सन नहुने तथा उनीहरूले देखाएको बाटोमा सधैंं हिँड्नुपर्नेमा राष्ट्रपतिले जोड दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिकरूपमा जनताको सर्वोतम उपलब्धि गणतन्त्र प्राप्त गरे पनि त्यसलाई अनुभूत गर्न बाँकी रहेको बताएका छन्। राष्ट्रपतिले गणतन्त्र शासनमा व्यक्तिको परिवर्तन मात्र नभई जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार भएको भन्दै यसको वास्तविक अर्थ बुझ्न र अनुभूत गर्न बाँकी रहेको बताएका छन्।