विराट गोल्डकपको पुरस्कार राशि घट्यो, चैत १५ देखि प्रतियोगिता हुने

विराट गोल्डकपको पुरस्कार राशि घट्यो, चैत १५ देखि प्रतियोगिता हुने
पत्रकार सम्मेलनमार्फत विराट गोल्डकपको आगामी प्रतियोगिताका बारेमा जानकारी गराइँदै। तस्बिर : किशोर बुढाथोकी
सुन्नुहोस्

विराटनगर : विराटनगरको प्रतिष्ठासँग जोडिएको ऐतिहासिक विराट गोल्डकप फुटबलको पुरस्कार राशि घटाइएको छ। विजेता र उपविजेताले पुरस्कारवापत पाउनुपर्ने रकम झन्डै आधा घटाइएको हो। गतवर्ष पुरस्कारवापत विजेतालाई २० लाख १५ हजार र उपविजेतालाई १० लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो। 

यसवर्ष भने विजेतालाई ११ लाख र उपविजेतालाई ५ लाख ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने छ। त्यसबाहेक उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, सर्वाधिक गोलकर्तालाई जनही २१ हजारका दरले प्रदान गरिने विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले बताए। उनका अनुसार प्रत्येक दिन उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ प्रदान गरिने छ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन्। 

यसवर्षदेखि प्रतियोगिता विराट गोल्डकप ट्रष्ट आफैंले आयोजना गर्दैछ। विगतमा ट्रष्टभन्दा बाहिरका व्यक्तिलाई संयोजक तोकेर प्रतियोगिता गर्ने गरिएको थियो। यसवर्षको प्रतियोगिता विराटनगरको सहिद रंगशालामा ‘हाम्रो सान, विराटनगरको पहिचान’ विराट गोल्डकप भन्ने मूल नाराका साथ फागुन १५ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने ट्रष्टका अध्यक्ष शाहीले बताए। 

आयोजकले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा मंगलबार पत्रकार सम्मेलन गरेर आठौं संस्करणको रात्रिकालीन प्रतियोगिताका बारेमा जानकारी दिएको छ। अध्यक्ष शाहीले आर्थिक मन्दीको असर सबै क्षेत्रमा परेका कारण सहयोग जुटाउन समस्या भएर पुरस्कार राशि घटाउनु परेको बताए। ‘विराट गोल्डकपको पहिचानलाई जोगाई राख्न र निरन्तरता दिन विभिन्न चुनौतीको सामना गर्दै प्रतियोगिता आयोजना गर्न लागेका छौं,’ उनले भने, ‘प्रतियोगितालाई सभ्य र भव्य बनाउन सबै पक्षको सहयोग आवश्यक छ।’ 

भारतको २, भुटानको १ गरेर ३ वटा विदेशी र विभागीयसहित नेपालका ७ गरेर प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाउने जानकारी उनले दिए। शाहीका अनुसार प्रतियोगितामा भारतको साउथर्न समिति फुटबल क्लब कोलकाता, सिक्किम ड्रागन क्लब, भुटानको आरटीसी क्लब थिम्पु तथा नेपालका त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, मच्छिन्द्र, एनआरटी, चर्च ब्वाईज क्लब र सांग्रिला मोरङ एफएले सहभागिता जनाउने छन्। 

प्रतियोगिता सञ्चालनका लागि १ करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए। प्रतियोगिता आयोजनाका लागि रंगशालाको मर्मत तथा सरसफाइ, ब्यानर तथा होर्डिङ बोर्ड निर्माण र रात्रिकालीन खेलका लागि फ्लड लाइट चेकजाँचलगायतका काम भइरहेको जानकारी शाहीले दिए। २०१८ सालदेखि महेन्द्र गोल्डकपका नामबाट यो प्रतियोगिता सञ्चालन हुँदै आएको थियो। परिवर्तित राजनीतिक परिवेशसँगै नाम परिवर्तन गरेर २०६७ सालदेखि विराट गोल्डकप बनाइएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.