जसले प्रधानमन्त्री भेट्नै पाएनन्, पर्यावरण सहिदको माग राख्नै पाएनन्
प्रधानमन्त्रीज्यू, म कति भौतारिनु सिंहदरबारमा ?
धनुषा जिल्लाको मिथिला नगरपालिका–५ श्रीपुरका रामपृत महतो विगत ३/४ दिनदेखि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय धाइरहेका छन्। प्रधानमन्त्रीलाई भेटेर नाति दिलीप महतोलाई पर्यावरण सहिद घोषणाको माग गर्न छोरा, बुहारी, नाति–नातिनीसहित उनी राजधानी आएका हुन्।
धोती, कुर्ता र गमछा लगाएका एक वृद्ध सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको बगैंचामा पल्टिरहेका छन्। घरी प्रहरीतिर हेर्छन्, घरी गाडीतिर। छोरा, बुहारी, नाति–नातिनीसहित उनी राजधानी आइपुगेका छन्। प्रधानमन्त्रीलाई भेटेर दुःख बिसाउने रामपृत महतोको उद्देश्य हो।
उनका नाति दिलीप (ओमप्रकाश) महतोको साढे चार वर्षअघि हत्या गरियो, त्यो पनि चुरे क्षेत्रको संरक्षण गर्न खोज्दा। धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलाको उत्खनन रोक्ने क्रममा क्रसर माफियाले उनका नाति दिलीपलाई टिपरले किचेर हत्या गरेका थिए। नातिको हत्या गरिए पनि न्याय नपाएपछि उनी परिवारसहित राजधानी आएको बताउँछन्।
उनको माग छ– नातिलाई पर्यावरण सहिद घोषण गरियोस। देशभरि भइरहेको अबैध खोला उत्खनन तथा क्रसर बन्द गरियोस्।’ तिनै वृद्धसँग अन्नपूर्णकर्मी राजकरण महतोले गरेको कुराकानी :
तपाईंको नाम के हो ?
रामपृत महतो।
घर कहाँ हो ?
धनुषा जिल्ला, मिथिला नगरपालिका–५ श्रीपुर।
उमेर कति भयो ?
खोक्दै, लगभग ९५ भयो।
यहाँ किन सुत्नुभएको हो ?
प्रधानमन्त्रीलाई भेट्न।
प्रधानमन्त्री भेट्नुभयो त ?
छैन।
भेट्न आएको भनेर खबर पठाउनुभएको छ त ?
पठाएको छु।
के भने त प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले ?
अहिले बैठक छ रे ! गेटकी (गेटमा बस्ने सुरक्षाकर्मीले) तपाईंंहरू उतै गएर बस्नुस् भने। त्यही भएर हामी गाछी (रुख) तल गएर बस्यौं। तबमा उठादिनुभयो (त्यहाँबाट उठाइदिनुभयो)। यहाँ आएर बस्यांै।
प्रधानमन्त्रीलाई किन भेट्न खोज्नुभएको हो ?
दुःख, सुखको कुरो बतियाउनु (भन्नु) छ। बौवा(बाबु)लाई क्रसरवालाहरूले मारिदिए। अब के, कसरी हुन्छ ? सरकारबाट सहजोग (सहयोग) चाहियो। त्यही कुरा भन्नु छ। प्रधानमन्त्रीलाई भन्छु केही निर्णय गरिदिनुुस्। नातिलाई त दुश्मनले खायो। छोरो पनि बिरामी छ। ६ वटा नातिनी छन्। एउटा पिलुवा (अबोध) नाति छ। उसको भविष्य बनाइदेओस् सरखार (सरकार) ले। उनीहरूलाई सरकारले पढाइ÷लेखाइ गराइदेओस्। पोतिहरूको (नातिनीहरू) को शादी(विवाह) गर्नु छ। उनीहरूको संरक्षण चाहियो (रुँदै)।
काठमाडौं कहिले आउनुभएको हो ?
तीन–चार दिन भयो।
सरकारसँग अहिलेसम्म केही गरेन र ?
अब त म मर्ने अवस्थामा पुगेँ। उसले (नाति)ले देशको सम्पत्ति रक्षा गर्न ज्यान दियो। त्यसको सम्मान सरकारले गरोस्। उसलाई पर्यावरण सहिद घोषणा गरिदेओस्। अबैध खोला खन्ने काम र कानुन हातमा लिएर क्रसर चलाउने सबैका कामकाज बन्द हुनुपर्यो। ६ जना पोती (नातिनी) र एउटा नाति छ। बेटा (छोरा) बेमार (बिरामी) छ। अब हाम्रो निगरानी र निर्वाह कसरी हुन्छ ? त्यो सरकारले गरिदेओस्।
घरपरिवार कसरी चलेको छ ?
घरमा सबैचिजको समस्या छ। जब मेरो पोता(नाति) नै गइसक्यो, अब हामीसँग केही रहेन। योभन्दा ठूलो जिन्दगीको दुःख के हुन्छ ?
नाति कति वर्षका थिए ?
ठक्काकै (ठ्याक्कै) भन्न सक्दिनँ। (सोच्दै) त्यस्तै २५ वर्षको जतिको थियो। बौवालाई इन्जिरिङ (इन्जिनियर) पढाएको थिएँ। (भक्कानिँदै) हामीलाई कमाएर गुजारा चलाउँछ कि भनेर सोच्दै थिएँ, तब त उसको ज्यान गइहाल्यो।
नाति कहाँ पढ्दै थिए ?
इन्डिया (भारत) को भोपालमा।
क्रसरवालाले किन मारे त ?
क्रसरवाला धार (खोला)मा खता(खाल्टो) खन्दै थिए। बौवा (नाति) रोक्न गयो। क्रसरवालाहरू मिलेर एकगुट बनाए। यताउता घुसघास दिएर मेरो बौवाको मिल्वा (साथी)हरू फुटायो। त्यसपछि मेरो बौवालाई छल गरेर धार (खोला)मा लग्यो। क्रसरमा पक्रेर राख्यो। देहहात (शरीर)मा रड लिएर घोचिदियो। मारिदियो। घटना लुकाउन खोलामा लगेर टिपरले किचिदियो। गाडीले ठक्कर दियो भनेर त्यसलाई लुकाउन लागेका थिए। आन्दोलन भयो। पत्रकार आए। सबै कुरा बाहिर ल्याइदिए। घटना लुकाउन पाएनन्।
काठमाडौं आएपछि क–कसलाई भेट्नुभयो ?
चारैतिर ठूला घरहरू थियो। धेरै पुलिसहरू बन्दुक लिएर खडा (उभिएका) थिए। छोराले भन्यो– यो ठाउँ सिंहदरबार हो। गृहमन्त्रीले भेट दिनुभयो। सबै दुःख सुनाएको छु। नातिले पहाड, जंगल, खोला बचाउन ज्यान दियो। उसलाई पर्यावरण सहिद बनाइदिनुस् भनेको छु।
गृहमन्त्रीले के जवाफ दिनुभयो त ?
हुन्छ, सबै गर्छु। मलाई सबै कुरा थाहा छ, भन्नुभयो।
किन रोइरहनु भएको त अझै ?
त्यही हीरा(दिलीप)का लागि रोइरहेका छौं। (मौनता छायो)
दिलीपको सम्झना कत्तिको आउँछ ?
बौवा (अन्नपूर्णकर्मीलाई सम्बोधन गर्दै) मेरो त अब केही छैन यो दुनियाँमा। बौवा(नाति) गयो। त्यो दिनदेखि मैले धेरै बुझदिनँ।
नातिले तपाईंलाई कसरी सघाउँथे ?
राति ओछ्याउनबाट उठेर पनि भेट् गर्न आउँथ्यो। र भन्थ्यो, ‘बाबा(हजुरबुवा) ठन्डा मौसममा जाडो लाग्छ, हिटर बालिदेऊ? गर्मीमा गरम लाग्छ, पंखा चलाइदिऊ ? खाना खानुभयो ?’ भनेर हरेक क्षण बौवा मेरो सेवामा तयार रहन्थ्यो। अब त बौवा गइसक्यो। कसले मेरो सेवा गर्छ ? बेटा बिरामी छ। सानो नाति छ, मेरो तागत भएको भए म उसलाई सेवा गर्थें। त्यो काम पनि म गर्न सक्दिनँ।
तपाईंका नाति दिलीप खोला खन्न किन रोक्न जान्थे त ?
खोला किनारमा हाम्रो जमिन पर्छ। त्यहाँ क्रसरवालाहरूले खदिँया (खाल्टो) खनेर बालुवा, गिटी निकाल्थे। गाउँ भाँसिन्छ, बाढीले बगाउँछ भनेर नातिलाई चिन्ता थियो। किनभने उ इन्जिनियर पढ्दै थियो, सबै कुरा बुझ्थ्यो। क्रसरवालाहरू राति, राति जेसीबी लिएर आउँथे। कमसे कम ८—१० वटा ल्याएर आउँथे। खत्ता (खाल्टो) खनेर बालुवा गिटी निकाल्थे। त्यसैले उ रोक्न जान्थ्यो, गाउँ बुर्छ (सिद्धिन्छ) भनेर।
त्यसैकारण हत्या गरेका हुन त ?
मेरो पौता इन्जिनियरको अन्तिम परीक्षा दिएर घर आएको थियो। घर आएको पनि ८–१० दिन भएको थियो। क्रसरवाला मिलेर उसलाई खोलामा मारिदिए। बौवा(अन्नपूर्णकर्मीलाई सम्बोधन गर्दै), बिर्सिन सकिरहेको छैन उसलाई। उ घरको खाँम्ब (खामा) थियो। (रुँदै) बिर्सिन सक्दिँन कुनै दिन पनि।
उनी नै घरका खम्बा थिए र ?
उ घरकको गर्जियन (अभिभावक) बनिसकेको थियो। जेठो छोरो थियो। उसको बुवा बेराम (बिमारी) थियो। घरको भार उसले नै उठाएको थियो। बुवाको दवाईबिरो (औषधि उपचार) देखि अरू सबै उसले गथ्र्यो। सबै बहिनीलाई पढाउँथ्यो, आफंै पनि पढ्थ्यो।
खोला खन्दा के समस्या आएको थियो ?
धार(खोला) खनेर धेरै तलाउ (गहिरो) गर्दा बाढी आउँथ्यो। खोला पजरा (किनार) लाग्थ्यो। खोलानजिकै गाउँ छ। त्यसले गाउँ बगाउने जोखिम हुन्छ। हाम्रो गाउँको नजिकैपूर्वमा खोला छ।
खोला खन्दा अरू के–के समस्या आउँछन् ?
अरे, पूरै गाउँ नै उज्रिन्छ (उजाडिन्छ) नि। गाउँ रहे न मान्छे बस्छन। त्यहाँको जमिन मुनि गिट्टी बालु नै छ। माटी(माटो) छैन। बाढी आउँदा अन्धुन(जथाभावी) धँसना(पहिरो) खस्छ। खेतमा खोला बग्छ।
बाढीले खेतमा कत्तिको असर पुर्याएको छ त ?
हँ, बाढीले खेत खाइसक्यो। हाम्रो तीनवटा पलोट(कित्ता) धार किनारमा पर्छ। सबै गरेर १ बिघाभन्दा बढी खेत बाढीको बालुवाले पुरिसक्यो।
खेत कति छ तपाईंको ?
हामी चार दाजुभाइ हौं। हाम्रो २२ बिघा खेत थियो। हामी भिन्न(छुटिँदा) ५—५ बिघा जति भागमा पर्यो। अरू घरको कामकाज मिलाउँदा सकियो।
घरमा कति जना हुनुहुन्छ ?
मेरा २ छोरा र १ छोरी हुन्। आजभोलि त घरभरि नातिनातिनी छन्।
तपाईंको नाति मारिएपछि खोला खन्ने काम रोकियो त ?
खोला खन्ने काम अझै बढेर गयो। अहिले खोला झन्–झन् गहिरो हुँदै गएको छ। क्रसरवालाहरूले अब त लोक(गाउँ)हरूलाई धाकधम्की पनि देखाउन थालेका छन्।
कस्तो धाकधम्की ?
गहिरो खाल्टो किन खन्छौं भनेर कसैले प्रश्न गर्यो भने उनीहरू ‘दिलीपलाई मारिदियौं, के भयो ? तिमीलाई पनि मारिदिन्छौं’ भनेर धम्की दिन थालेका छन्।
धेरै दुब्लो देखिनुभयो त ?
शरीरमा जरबोखार (बिराम) केही छैन। नातिको शोग(शोक)ले शरीर कमजोर बनायो।
स्कुल पढ्नु भएको छ ?
म त पढेको छैन। हामी चार भाइमध्ये दुई भाइले मात्रै पढे।
किन पढ्नु भएन ?
त्यो दिनका लोक (मान्छे)हरू पढ्ने चलन थिएन। मान्छेहरू सुद्धा(सीधा) हुन्थे। खेतीगृहस्थीमा लाग्थेँ। त्यसैमा जीवन बिताउँथे। अहिले त गरिबभन्दा गरिबले पनि धियापुता (केटाकेटी)लाई पढाउँछन्।
बालापन कसरी बिताउनुभयो ?
जबदेखि म बुझ्ने भएँ। गाईमाल (गाईवस्तु) पाल्यौं। भैंसी, गाई र खेतीकै काम गरेर जीवन बित्यो।
जवानीमा गाई/भैंसी कति पाल्नुभएको थियो ?
त्यस्तै ९०—९५ वटा गाई थिए। ८—९ वटा भैंसी थिए। वस्तुभाउको मलमुत्र खेतीमा हाल्थ्यौं। दूध दही धियापुता, जनवनले खान्थ्यौं। घरमा १० लिटरभन्दा कम दूध कहिल्यै पनि भएन। गाईको हेँर(बथान) नै थियो। अहिले बाँच्छाबाँच्छी गरेर ७ वटा मात्रै छन्।
त्यो बेला दिन कसरी कट्थे ?
बिहानै ८ बजे घरबाट जान्थ्यौं। राति ९ बजेतिर गाईभैंसी लिएर फर्किन्थ्यौं। दिनभरि गाई÷भैंसीको गोठालोमै दिन चल्थे। अहिले काठमाण्डु आउँदा त कहाँ न कहाँ आएजस्तो भयो। गाडी नै गाडी, घरै घर छन्। बाफरे बाफ !
कुन जंगलमा वस्तुभाउ लिएर जानुहुन्थ्यो ?
नेमुवा, बर्दिया, धौवाई, बिरई, कमलदह जान्थ्यौं। ६ महिना देशमा बस्थौं।
कहाँको देशमा ?
आफ्नै नेपालमै, आफ्नै जिल्लामा। जहाँ धान उब्जिन्छ।
किन देश जानुहुन्थ्यो ?
गाईभैंसीलाई घाँस खुवाउन। अगहन (मंसिर)देखि अखार(असार)सम्म उतैको बसाइँ हुन्थ्यो। त्यो बेला बजार, दोरीदोकान थिएन।
त्यसबेला दूध बिक्री गर्ने चलन थियो ?
७–८ जनाको भैंसबार(गोठालो)को गु्रप हुन्थ्यो। सबैजनाले आफ्नो गाई÷भैंसी दुहुँदा एक खोर, दुई खोर दूध हुन्थ्यो। गोठमै पैनी (खाल्टो खनेर माटोको भाडा) मा दूध हाल्थ्यौं। दही जमाउँथ्यौं। कोही किन्न आए दही बिक्री गथ्र्यौ।
कति आम्दानी हुन्थ्यो ?
आँ, त्यो बेला डौवा (रुपैयाँ) को कुनै मूल्य नै थिएन। चामलसंग दूध, दही साटासाट हुन्थ्यो। एक लिटर दूध दिँदा एक किलो चामल आउँथ्यो। सबै चरवाह (गोठालो) मिलेर त्यही चामलको खाना पकाएर खान्थ्यौं। नजिकै भुतही गाउँ पथ्र्यो। त्यहाँबाट मान्छेहरू आउँथे, दूध, दही लिएर जान्थे। विवाह शादीको महिनामा गोठमै पुगेर दही लिन आउँथे। हामीलाई दश खोर दही चाहियो, भन्थे। हामी दिन्थ्यौं। चाइरअने (चारआना) लिटरमा दूध–दही बिक्री हुन्थ्यो। तर, त्यो जमानामा पैसा नै हुँदैनथ्यो। दही र दूध अन्नसँग साटने चलन थियो।
गाई/भैंसीको गोबर के गर्नुहुन्थ्यो ?
६ महिनाको गोबर उतै देश (चराउन लैजाने ठाउँमै) हुन्थ्यो। जसको जमिनमा गोठ राख्थ्यौ, उसैको गोबर हुन्थ्यो। ५ कट्ठामा जमिनमा त गोठै हुन्थ्यो। ८ सय गाईभैंसी हुन्थे। जब अखार (असार) मा आफ्नो गुहाली (घर) मा गाई/भैंसी ल्याउँथ्यौ, त्यस बेलाको गोबर भने आफ्नै हुन्थ्यो।
जंगलमा कहिले जानुहुन्थ्यो वस्तुभाउ लिएर ?
असारसम्म चौरीमा राख्थ्यौ। साउनदेखि घर नजिकैको जंगलमा गाई/भैंसी चराउन लग्थ्यौ।
पहिलाको जंगल र अहिलेको जंगलमा के फरक छ ?
अहिले त जंगलमा केही छैन।
पहिले के–के पाइन्थे ?
पहिले सखुवा (साल) टाल (धेरै) हुन्थे। टेउन, कुमही, हारे, आम, अमली, रिखिया, जामुन, बास लगायतका हरेक चिज पाइन्थे जंगलमा। जंगल भरिभराउ मात्रै हुँदैन्थ्यो, फलफूलले पनि सजिएका हुन्थे। अहिले त सबै काटेर सखाप पारिसके।
किन मासियो होला त वन ?
वनमा समिति लाग्यो। समितिहरू पैसा खाएर मोटाए। सबै जंगल सकियो।
पहिला नदी र खोला कस्तो थिए ?
नदीमा पानी बग्थ्यो। वर्षातमा १०—१२ खोलाको पानी आउँदा चौरीहरू (वस्तुभाउ) पल्टिल्थे। धान, मरुवा जे लगाउँदा पनि मनग्य फल्थ्यो।
अहिले कस्तो छ ?
अहिले त अन्नबाली फल्न छोड्यो। क्रसरवालाहरूले खोलालाई गहिरो बनाए। खेतमा पानी चढ्दैन। बाढीले खेत बगाउन थाल्यो। कटान गर्यो भनेर किनारमा बालु, माटी पत्थल (माटो, बालुवा, ढुंगा)जम्मा गरेर राख्यो। बिहान त त्यहाँ केही पनि हुन्न। उठाएर लगिसकेको हुन्छ।
कसले लान्छ र ?
त्यही क्रसरवालाहरूले। उनीहरू गिटी, बालुवा बिक्री गर्छन्। सम्पत्ति बनाउँछन्। हिजोसम्म उनीहरूको केही थिएन, आज उनीहरूसँग गाडीघोरा सबै भइसके। तर, सरकारी नदी र वन भने सकिँदै गए।
प्रहरीले उनीहरूलाई पक्राउ गर्दैन र ?
पुलिस (प्रहरी) धार (खोला)मा जान्छन। तस्करहरूले पाँचपाई (दुईचार पैसा) उनीहरूको जेबी(गोजी) मा हालिदिन्छ। अनि भर्ती (लोड) गाडीलाई पनि छोडेर पुलिस फर्किहाल्छ। ढेउवा(रुपैयाँ) मा सबै भुल्छन्।
सरकारले किन निगरानी नगरेको होला ?
पुलिस प्रशासनले सरकारलाई मालुम (जानकारी) दिए पो। उनीहरूको गोजीमा क्रसरवालाहरूले पैसा हालिदिन्छ। अनि, चुप लाग्छन्।
नदीमा पानी देखिन छोड्यो, कस्तो असर परेको छ ?
नदीमा पानी छैन। इनार सुके। चपाकल हराए। मान्छेलाई खाने पानीको पनि समस्या भइसक्यो।
पहिले कति खन्दा पानी आउँथ्यो ?
चालीस—पैंतालीस हातमै मज्जाले पानी आउँथ्यो।
अहिले ?
सय हात तल जाँदा पनि पानी पाउन मुस्किल छ। पहिला नदीमा त्यसै पानी बग्थ्यो। अहिले त्यहाँ चुट्टी(कमिला) हिँड्छन्।
नदीकै पानी प्रयोग गर्नुहुन्थ्यो पहिले ?
हो, औरही नदीबाट पानी लगेर खान्थ्यौ। जहाँ मेरो नातिलाई क्रसरवालाहरूले मारिदियो। त्यहीँ खोलाको औरही थान भन्ने ठाउँमा बाँधबाँथ्यौ। गाउँमै पानी आउँथ्यो। लत्ताकपडा धुने, नुहाउने, खाने, सिँचाइ गर्ने सबै त्यही पानीको प्रयोग हुन्थ्यो ।
कुन महिनामा बाँध बाँध्नुहुन्थ्यो ?
असारमा। असार महिनादेखि फागुनसम्म पानी आउँथ्यो। औरही खोलाबाट ४० वर्ष अघिसम्म सयौं बिघा खेतमा सिँचाइ हुन्थ्यो। श्रीपुर, विश्रामपुर, नक्कटाझिजका जग्गाहरूमा सिँचाइ हुन्थ्यो। अब त बाँध पनि कहाँ हरायो, हरायो।
खोला किन सुक्यो ?
किन सुक्यो ? त्यो त मालिक(भगवान्) लाई थाहा होला। तर, आजभोली जंगलीझार केही छैन। पहिला आकाशबाट पानी बर्सिन्थ्यो। ६ महिना बढी भयो, पानी नपरेको। पुर्वा नक्षत्रमा एकदिन मात्रै पानी पर्यो। जति सक्यो किसानहरूले धान रोपे। त्यसदिनदेखि आकाशबाट इन्द्रभगवान्ले थोपो पानी झारेनन् पृथ्वीमा। अहिले अनिकाल पर्दै गयो। मान्छे पापी भए। देवताहरू पनि रिसाएजस्तो छ।
नदी दोहनले के–के दुःख भोग्नुभयो ?
खेती हुन छोड्यो, अन्नको समस्या भयो। इनार सुक्यो, पिउने पानी पाउनै कठिन छ। गाँउमा एउटा बोरिङ छ। त्यसलाई चारैतिर नचाउँदा ४० बिघामा गहुँ बाली लगाइयो। केहीले पटाएर कुसियार(उखु) रोपेका छन्। धेरै खेत बाँझै छन्।
नदी र वन कसले सके जस्तो लाग्छ ?
केही तस्कर र गुन्डाहरूले वन र नदी खाइसके। नेताहरूले पनि उनीहरूलाई पालिरहेका छन्।
यसबाट नेतालाइ के फाइदा हुन्छ र ?
आफ्नो जेबी (पकेट) भर्नका लागि। जति जंगल थियो, सबै कटानी गरेर नेताहरूले पकेटमा हालिसके। अहिले नदी खनेर हाल्दै छन। यो पनि त एक दिन सकिन्छ। सरकारले जंगल काट्ने, नदी खन्नेलाई बाँध्ने, पक्रिने, थुन्ने काम गरेको भए तस्करहरू पनि डराउँथे। त्यो त भएन। सबै मिलेका छन्। नदीनाला, वन लुटेका छन्। जसको केही थिएन, उनीहरू गाडीघोरा किनेका छन्। सम्पत्ति जोडेका छन्।
यो पनि पढ्नुहोस