ग्लोबल भिलेज कि स्वभूगोल !

ग्लोबल भिलेज कि स्वभूगोल !

नेपालको शक्ति र सामथ्र्य बढाउन नेपालकै प्रतिभा र क्षमता प्रवर्द्धन गरिनुपर्छ।

स्वभाविक हो, मानिस जुन भूगोलमा जन्मन्छ, जस्तो परिवेशमा हुर्कन्छ, त्यसैसँग उसको भावना र आत्मीयता गासिँदै जान्छ। भूगोलमा अन्तरघुलित भावना अनि परिवेशले निर्माण गरेको आत्मीयता मानिसमा देशविशेष प्रतिको प्रेम जगाउने पहिलो बीज मात्र बन्दैन, कालान्तरमा गएर एउटा सघन राष्ट्रियताको विस्तार गर्ने अवचेतन शक्ति पनि बन्छ। जुन शक्ति आज संसारमा स्वभूगोलको इतिहास र सभ्यता माथिको चेतन खोज बनेर मुखरित हुँदै छ।

एलाइज र एक्सिस शक्तिबीच भएको दोस्रो विश्वयुद्ध अनि संयुक्त राज्य अमेरिका र सोभियत संघबीच चर्किएको शीतयुद्धको परिणामले निश्चित गरेको वर्तमान विश्व राजनीतिमा फेरि एकपटक परिवर्तनका संकेत देखिन थालेका छन्। फेरि एकपटक अर्थतन्त्र, सैन्य शक्ति, सांस्कृतिक प्रभाव अनि प्रविधिमाथिको प्रभुत्वमा विश्व बहुध्रुवीय हुँदै गइराखेको छ। यस परिस्थतिलाई आफ्नो स्वस्थिति बदल्न पुराना तथा नवशक्ति राष्ट्रहरू दिनरात प्रयत्नशील देखिन्छन्। परिवर्तन निकट यस वातावरणले संसारभर राष्ट्र र राष्ट्रियताको सवालमा पुरानो सोच तथा मान्यतालाई प्रतिस्थापन गर्दै स्वभूगोल अर्थात् राष्ट्रको कला, साहित्य, इतिहास, परम्परागत मूल्यमान्यता, दर्शन अनि रहनसहन जस्ता सभ्यतासँग जोडिएका सामाजिक, सांस्कृतिक र ऐतिहासिक पहिचानलाई अघि सार्दै विश्वमञ्चमा उभिने एउटा नयाँ दृष्टिकोण स्थापना गरेको छ। हरेक राष्ट्रले आफ्नो मूल वा जरोतर्फ फर्किने यो लहर अहिले संसारभर बढिरहेको छ।

लामो समयदेखि विश्वशक्तिको केन्द्रमा रहेको स्वयं अमेरिकामा मागा आन्दोलन अर्थात् ‘अमेरिकालाई पुनः महान् बनाऔं’ भन्ने नारा घन्किरहेछ। पछिल्लो समय द्रुत आर्थिक वृद्धि हासिल गर्दै वैश्विक प्रतिस्पर्धामा अघि बढ्दै गरेको भारतले आफ्नो संस्कृति र कलाकौशललाई स्वयंको शक्तिमा बदल्न धेरै मेहनत गरिरहेको छ। विश्वको पहिलो आर्थिक महाशक्ति बन्ने दौडमा गन्तव्यनजिक रहेको चीनले चिनियाँ सभ्यता र संस्कृतिमार्फत आफ्नो बृहंगम विकास गर्दै राष्ट्रिय कायकल्प गरिराखेको छ। सन् १९९१ मा सोभियत संघको विघटनपश्चात् अत्यन्त कमजोर अवस्थामा रहेको रुसले आफ्नै सभ्यता र संस्कृतिको बलमा विश्व समुदायमा दरिलो उपस्थिति जनाउन सफल भएको छ।

ब्राजिल, इन्डोनेसिया, भियतनाम, बंगलादेश जस्ता देश पछिल्लो समय आफ्नै बलबुताले विश्वकै प्रतिस्पर्धामा बलियो सम्भावना देखाइरहेका छन्। तर, यो सबै बीचमा नेपाल कहाँ छ ? पृथ्वीको लगभग आधा हिस्सा ढुंगे युगमा बाँचिरहँदा ज्ञान र विज्ञानको अनवरत धारा बगिरहेको यो देश, संसारका अधिकांश देश भवन निर्माणको कारिगरीमा बामे सर्दै गर्दा कैलाशकुट र मानगृह जस्ता वास्तुकलाको उत्कृष्ट नमुना पेस गरेको यो देश, आजको दोस्रो ठूलो आर्थिक महाशक्ति चीनभन्दा अघि जलविद्युत् विकास गरेको यो देश संसारका अघि किन झन्झन् कमजोर हुँदै गइरहेको छ ? अनन्तकालदेखि गौरव र गरिमाले ओतप्रोत यो देश आज किन आफ्नो भएको गरिमा पनि जोगाउन सकिरहेको छैन ?

संसारको भीडमा छुट्टै अस्तित्व कायम राख्न नेपालले आफ्नो मूल वा जरोतर्फ फर्कनुपर्छ। आफ्नो प्रगति र समृद्घिका लागि आफ्नै पुर्खाहरूले विकास गरेको तन्त्र, मन्त्र र यन्त्रको ज्ञान परम्परालाई अंगीकार गर्न सक्नुपर्छ।

संसारमा जतिखेर सञ्चार प्रविधिको स्तर र असर व्यापक भयो तब दुनियाँ द्रुततर गतिमा एकआपसमा जोडिन पुग्यो। पृथ्वीको दुई फरक–फरक कुना बीचको भौतिक दूरीलाई मिडियाले जित्यो। एक स्थानमा भइरहेको घटना अर्को स्थानकाले सजिलै थाहा पाउन सक्ने भए। सूचनाको पहुँचका दृष्टिले पृथ्वी साँघुरो भयो। सञ्चार प्रविधिले ल्याएको यो परिवर्तनको सेरोफेरोमा क्यानडेली मिडिया सिद्धान्तकार मार्सल म्याक्लुहानले सन् १९६४ मा ग्लोबल भिलेजको अवधारणा सार्वजनिक गरेँ। पृथ्वी अब केबल एउटा गाउँमा परिणत भएको विचार म्याक्लुहानले अघि सारेका थिए। तर, यो अवधारणाले पृथ्वीलाई साँघुरो मात्र बनाएन, अल्पमतमा रहेको सभ्यता र संस्कृतिलाई सीमित संस्कृति र त्यसले विकास गरेको जीवनशैलीमार्फत प्रतिस्थापन नै गरिदियो। आज विश्वमा धेरै जातजातिको इतिहास, भाषा, दर्शन ग्लोबल भिलेजकै असरका कारण लगभग लोप भएका छन्। यतिमात्र होइन, कुनै समय संसारभर नै देश बनाउने जादुको छडी भनिएको निजीकरण, आधुनिकीकरण, विश्वव्यापीकरण, नवउदारवाद जस्ता अवधारणा पनि ग्लोबल भिलेजकै उपज थियो।

ग्लोबल भिलेजको प्रभाव संसारभर फैलिरहँदा नेपाल पनि यसबाट अछुतो रहन सकेन। नेतृत्वदेखि जनतासम्मले ग्लोबल भिलेजको फाइदा लिए, अझ स्वभूगोलभित्रको जातीय, वर्गीय, क्षेत्रीय, लैंगिक, धार्मिक विविधता बीचको सौहार्द्रता र सहिष्णुता पनि भताभुंग बनाइदिए। परिणाम स्वरूप आज देश जात–जात, वर्ग–वर्ग, क्षेत्र–क्षेत्र, लिंग–लिंग अनि धर्म–धर्म बीचको अविश्वास र द्वन्द्वको स्थितिबाट गुज्रिरहेको छ। ग्लोबल भिलेजको प्रभावकै कारण हाम्रो राष्ट्र सञ्चालन गर्ने नीतिदेखि जीवन र जगतप्रतिको व्यक्ति विशेषको दृष्टिकोणसम्म आयातित विचारबाटै निर्देशित रहँदै आयो। परापूर्वकालदेखि चलिआएको हाम्रो संयुक्त पारिवारिक संरचना पूर्णरूपमा ध्वस्त गरी सानो परिवारको अवधारणामा लगियो। जसको परिणाम स्वरूप सानो परिवारमा हुर्केका अधिकांश किशोरकिशोरी एक्लोपन र चरम निराशाको शिकार छन्।

आधुनिक शिक्षा प्रणाली अनि यसले भिœयाएको पाठ्यक्रममार्फत ग्लोबल भिलेजको अवधारणाले हाम्रो आयुर्वेदिक चिकित्सा पद्धति असफल हो भन्न सिकायो। औषधीय गुणले सम्पन्न हाम्रो रैथाने खाना अस्वस्थ र पोषणयुक्त होइन भन्न सिकायो। हाम्रो गौरवपूर्ण इतिहासलाई आफ्नो हित अनुरूपको व्याख्या गरी यसउपर गर्व गर्न नसकिने ग्लोबल भिलेजकै प्रवृत्तिले सिकायो। बाजेबराजुदेखि चलिआएको रहनसहन, भेषभूषा र मूल्यमान्यता असभ्य हो भनी पढायो। हाम्रो दर्शन, साहित्य र संगीत वैश्विक प्रतिस्पर्धाका लागि कमजोर छ भनी घोकायो।

नेपालले अब विश्वमञ्चमा गरिमामय उपस्थितिका लागि स्वभूगोलको शक्ति चिन्न सक्नुपर्छ। संसारको भीडमा छुट्टै अस्तित्व कायम राख्न आफ्नो मूल वा जरोतर्फ फर्कनुपर्छ। आफ्नो प्रगति र समृद्धिका लागि आफ्नै पुर्खाहरूले विकास गरेको तन्त्र, मन्त्र र यन्त्रको ज्ञान परम्परालाई अंगीकार गर्न सक्नुपर्छ। नेपालको शक्ति र सामथ्र्य बढाउन नेपालकै प्रतिभा र क्षमता प्रवर्द्धन गरिनुपर्छ। धर्तीमा एक अटल राष्ट्र नेपाल भनेर ठिंग उभ्याउन हामी सबै पहिला त नेपाल बन्नुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.