एभरेस्टको सकियो उखु क्रसिङ सिजन
महोत्तरी : महोत्तरीको गौशालास्थित एभरेस्ट चिनी मिल रामनगरले २९ लाख ४ हजार क्विन्टल उखु क्रसिङ गरी बन्द भएको छ। ३५ लाख उखु क्रसिङ गर्ने लक्ष्य लिई पुस ४ गतेदेखि सञ्चालनमा आएको मिलले यस वर्षको क्रसिङ सिजन बिहीबार बिहानदेखि बन्द गरिएको हो।
उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार उद्योगले ८९ दिनको अवधिमा गत वर्षको तुलनामा ९ लाख क्विन्टल बढी उखु क्रसिङ गरेको छ। यस वर्ष उखुको उत्पादन र खेतीको क्षेत्रफल बढेको तथा एक साताकै अवधिमा किसानलाई भुक्तानी उपलब्ध गराएपछि यो सम्भव भएको महाप्रबन्धक शुक्लाले जानकारी दिए।
अहिले नै कति चिनी उत्पादन भयो त्यसको वास्तविक तथ्यांक उपलब्ध गराउन नसकेता पनि यस वर्ष चिनीको ‘रिकभरी’ सरदर ९ प्रतिशत रहेको महाप्रबन्धक शुक्लाले बताए। केही दिनपछि मात्र त्यसको रेकर्ड उपलब्ध हुन सक्ने शुक्लाले सुनाए।
क्रसिङ सिजन २०७९/०८० मा २६ लाख ३० हजार ७ सय ४७ क्विन्टल उखु क्रसिङ गरिएको उद्योगले २ लाख ४२ हजार ३ क्विन्टल चिनी उत्पादन गरेको थियो। क्रसिङको उत्तरार्धमा आइपुग्दा प्रतिकूल मौसमले उखु आपूर्तिमा थप समस्या भएको थियो।
सरकारले गत वर्ष उखुको ५ सय ४० रुपैयाँ रेटमा २५ रुपैयाँमात्र थप गरी प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ कायम गरेको थियो। त्यसमा सरकारले दिने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानसमेत जोड्दा यसपटक उखुको मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ कायम भएको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए।