‘शान्तिबिना विकास र समृद्धि अधुरै’

‘शान्तिबिना विकास र समृद्धि अधुरै’

लुम्बिनी : विश्व द्वन्द्वको चपेटामा परिरहेको बेला शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट शान्तिको सन्देश फैलाउने उद्देश्यले दुईदिने ‘समृद्धिका लागि विश्व शान्ति’ विषयक अन्तर्राष्ट्रिय ‘कन्क्लेभ’ सम्मेलन सम्पन्न भएको छ। विश्वका १९ देशका गैरआवासीय राजदूतहरू सहभागी उक्त सम्मेलनले शान्ति बिना कुनै पनि देशको समृद्धि हासिल गर्न नसकिने निष्कर्ष निकालेको छ। 

बुद्धमार्गीहरूलाई लुम्बिनीको भ्रमण गराएर देशमा लगानीमैत्री वातावरण बनाउनका लागि सम्मेलन फलदायी बनेको अनररी कन्सुलर कर्स नेपाल (एचसीसीएनका) डिन विष्णुकुमार अग्रवालले जानकारी दिए। उनका अनुसार विश्वभर १ अर्बभन्दा बढी जनसंख्या बुद्धमार्गीहरूको छ। ‘ऐतिहासिक स्थलको सांस्कृतिक र धार्मिक महत्वलाई बढाउन यो सम्मेलन कोसेढुंगा सावित भएको हामीले निष्कर्ष निकालेका छौं’, अग्रवालले भने, ‘मुलुकमा लगानीको अवसर बढाउन पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ।’ उनका अनुसार एचसीसीएनमा विश्वभरका ६१ जना अवैतनिक महावाणिज्य दूतहरू आबद्ध छन्। आगामी वैशाखमा लगानी बोर्डले गर्न लागेको लगानी सम्मेलनका लागि लगानीमैत्री वातावरणको माहोल सिर्जना भएको उनले जानकारी दिए। नेपालमा लगानीको अवसर, पर्यटन प्रवद्र्धनको संभावना र लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वका बारेमा सम्मेलनमा चर्चा गरिएको छ। विश्वका मुलुकहरू द्वन्द्वको चपेटामा परिरहेका बेला शान्तिभूमि लुम्बिनीबाट गरिएको सम्मेलनले लगानीमैत्री वातावरणका लागि सकारात्मक सन्देश प्रवाह गरेको उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताए।

मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले विश्वमा देखिएका विभिन्न प्रकारका द्वन्द्वहरूलाई बुद्धभूमि नेपालबाट पहल गर्न सकिनेसमेत विश्वास व्यक्त गरे। ‘बुद्वको शिक्षा वैज्ञानिक र व्यावहारिक छ’, श्रेष्ठले भने, ‘यो सम्मेलनले विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश दिन सफल भएको छ।’ बुद्धले आफैंलाई चिन्नुपर्छ भनेर दिएको शिक्षा आजको विश्वमा अझ बढी अपरिहार्य बन्दै गएको समेत उनको भनाइ छ। 

बुद्ध दर्शनमा सबैभन्दा महत्वपूर्ण पाटोका रूपमा ध्यान अर्थात् ‘मेडिटेसन’ रहेकाले यसलाई विश्वव्यापी फैलाउनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए। श्रेष्ठले ‘मन’ केन्द्रित गरिने ध्यान बौद्ध धर्ममा मात्रै सीमित नरहेको समेत उल्लेख गरे। 

‘तपाईं क्रिश्चियन हुनुहोस्, मुस्लिम वा हिन्दु, तर मेडिटेसन सबैले गर्दा मन शान्ति हुन्छ’, श्रेष्ठले भने, ‘खुसी, शान्ति र सन्तुष्टिसहित जीवन जिउनका लागि बुद्ध शिक्षा महत्वपूर्ण छ।’ बुद्धले जबसम्म परीक्षण गरेर सत्य स्थापित हुँदैन तबसम्म विश्वास नगर भनेर भनेको सन्दर्भ उल्लेख गर्दै बुद्ध जन्मस्थलबाट विश्वमा शान्ति र समृद्धिको सन्देश दिन पाउँदा खुसी लागेको समेत मन्त्री श्रेष्ठले सुनाए। 

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गरिएको लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र यसको सन्देश पु¥याउने विश्वास लिए। उनले लुम्बिनी गुरुयोजनाका बाँकी काम र बृहत्तर लुम्बिनीको विकासमा प्राथमिकताका साथ काम गर्नेसमेत सुनाए।

सम्मेलनमा सहभागी विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्य दूतहरूलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे)ले बौद्ध दर्शनले विश्वमा शान्ति र अहिंसा कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे। ‘विश्व शान्ति प्रवद्र्धन गर्न र विश्वमा देखिएको द्वन्द्व समाधान गरी सहिष्णुता कायम गर्नका लागि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको निष्कर्ष निकालिएको छ’, उनले भने, ‘बुद्धका शिक्षाहरू विश्भर फैलाउँदा शान्ति, करुणा, सद्भाव कायम गर्न सकिन्छ। १९ देशका गैरआवासीय राजदूतहरूमार्फत यो सन्देश प्रवाह हुनेछ।’

इन्डोनेसियाका राजदूत एनआर हेरु, लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले समेत लुम्बिनीको महत्वका बारेमा चर्चा गरे। सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया,  सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी भएका थिए। 

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले राजदूतहरूले बुटवलमा रहेको लुम्बिनी केवलकारको समेत भ्रमण गरेका थिए। नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्व लगायतका विषयमा बृहत् छलफल र प्रस्तुति राखिएको सम्मेलनका सहसंयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जानकारी गराए। लुम्बिनीमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित गैरआवासीय राजदूतहरूको उपस्थितिमा सीता अशोकको वृक्षरोपण समेत गरिएको थियो। सम्मेलनमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, परराष्ट्र तथा सम्पदा विज्ञ लगायतको उपस्थिति थियो। परराष्ट्र मन्त्रालय र नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरूको संस्था अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन)को संयुक्त आयोजनामा सम्मेलन गरिएको हो। 

गाजा तथा  युक्रेनमा जारी युद्धको सन्दर्भलाई जोडेर गत वर्ष अक्टोबरमा सयुंक्त राष्ट्रसंघका महासचिव एन्टिनीओ गुटेरेसले लुम्बिनी भ्रमण गर्ने क्रममा बोलेको, ‘संकटको बेला विश्वका लागि बुद्ध जन्मभूमि लुम्बिनीको सन्देश प्रष्ट छ, मानवतासँग अवसर छ। हामीले शान्तिको बाटो अबलम्वन गर्नैपर्छ’ को समेत सम्मेलनमा चर्चा गरियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.