‘नेपाली कला–संस्कृतिलाई विश्वव्यापी गर्न सकिन्छ’
थिएटरबाट छिरेर फिल्ममा प्रवेश गर्नुभयो। कसरी त्यता जानुभयो ?
मैले नेसनल स्टुडियो अफ फिल्म मेकिङमा डाइरेक्सन र फिल्म मेकिङबारे अध्ययन गरेँ र काम सुरु गरेँ। पढाइ पूरा गरेपछि केही समय थिएटरमा अभिनय गरेँ। थिएटरमा हुँदा धेरै सडक नाटकमा अभिनय गरेँ। केही टेलिफिल्ममा पनि अभिनय गरेँ। मलाई निर्देशनमा विशेष रुची भएकाले मैले कान्तिपुर टेलिभिजनबाट आफ्नो निर्देशकीय यात्रा सुरु गरेँ। त्यहाँ टेलिफिल्म ‘हाउसफुल’ एक वर्षसम्म निर्देशन गरेँ। त्यसको दुई वर्षपछि मैले पहिलो फिल्म ‘मेरो एउटा साथी छ’ बाट फिल्म निर्देशकीय यात्रा सुरु गरेँ।
पहिलोपटक फिल्म निर्देशनको अनुभव कस्तो रह्यो ?
म पहिलोपटक ठूलो पर्दाको फिल्म निर्देशन गर्दै थिएँ। आफ्नो सपना पुरा गर्ने बाटोमा हिँड्दै थिएँ। मलाई डर र आत्मविश्वास दुबै थियो। यती हुँदाहुँदै पनि मैले फिल्म निर्देशन गरेँ। मैले फिल्ममा आफूले सिकेका कुरा प्रयोग गरें। निर्देशकीय काममा त्यो पढाइ र सिकाइ प्रभावकारी बन्यो। संयोगले त्यो फिल्म व्यावसायिक रुपमा सफल पनि भयो। यो फिल्मले मेरो भविष्यको बाटो देखाइदियो।
फिल्ममा संघर्ष र जोखिम उत्तिकै हुन्छ। संघर्ष कतिको गर्नुभयो ?
फिल्ममा मात्र होइन, हरेक क्षेत्रमा उत्तिकै संघर्ष गर्नुपर्छ। त्यसमा जोखिम पनि उत्तिकै हुन्छ। हामीले जोखिम मोलेर मेहनतका साथ काम ग¥यौं भने त्यसले सफलता दिन्छ। मैले त्यति धेरै जोखिम त मोल्नु परेन। मैले भविष्य र उद्देश्य प्राप्तिका लागि गर्नुपर्ने संघर्ष पक्कै गरेको छु। संघर्ष गर्ने बानीले सायद मलाई सफल पनि बनायो।
फिल्म क्षेत्र छोड्छु भन्ने आफूमा लाग्यो कि लागेन ?
मलाई कहिल्यै पनि फिल्म क्षेत्र छोड्छु भन्ने लागेन। किनभने यो मेरो रुचिको विषय हो, मेरो इच्छाले आएको क्षेत्र हो। म आफ्नो क्षेत्रबाट पूर्णरूपमा सन्तुष्ट छु। आफूले चाहेको काम गर्न पाएको छु। म खुसी छु। यो क्षेत्रमा अझै के राम्रो गर्न सक्छु भन्ने कुराको खोजी सधैं हुन्छ।
यस क्षेत्रमा सपना पुरा गर्न सजिलो र अप्ठ्यारो ?
यस क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा आफ्नो सपना पूरा गर्न सजिलो छैन, अप्ठ्यारै छ। तर त्यो अप्ठ्यारोलाई पनि सजिलो बनाउन इमान्दारी साथ संघर्ष गरिरहने हो भने सपना र उद्देश्य पूरा हुन समय लाग्दैन।
परिवारबाट साथ सहयोग कत्तिको पाइरहनुभएको छ ?
मेरो परिवारमा मबाहेक कोही पनि फिल्म क्षेत्रमा हुनुहुन्न। त्यसकारण मैले पहिलादेखि नै छुट्टै खालको संघर्ष गर्नुप¥यो। तर, मेरो काममा उहाँहरूको सहयोग जहिल्यै रह्यो।
सुरुदेखि अहिलेसम्मको तपाईंको अनुभवले आफूलाई सफल भएँ भन्ने लाग्छ होला नि ?
मलाई सफल हुन मन छ। त्यहीकारण यो क्षेत्रमा सुरुदेखि लागिरहेको छु। परिवार, साथीभाइ, फिल्मकर्मी र धेरै दर्शकको मन जित्न सफल भएको छु। त्यसकारण यो क्षेत्रमा मलाई सफल भएको अनुभव हुन्छ। मैले गौरव महसुस गरेको छु।
नेपाली फिल्मको विस्तारीकरणमा तपाईंको भूमिका के हुनसक्छ ?
मैले मेरो र आफ्नो फिल्ममार्फत देशलाई चिनाउने कोसिस गरेको छु। नेपाली कला, संस्कृति, पर्यटनमा विदेशीको ठूलो चासो छ। मैले निर्माण गरेका फिल्ममा नेपाली कला, संस्कृति, पर्यटनले विशेष स्थान पाएका छन्। त्यसकारण विश्वभरबाट नेपाली फिल्मलाई हेर्ने र नेपालीलाई कला संस्कृति, ठाउँलाई फिल्मको माध्यमबाट चिनाउन मेरो प्रयास पहिलादेखि नै छ।
अहिले के गर्दै हुनुहुन्छ ?
अहिले म मेरो मेगा प्रोजेक्ट ‘रावायण’को निर्देशनको तयारीमा छु। यसको सम्पूर्ण प्रि–प्रोडक्सनको कामहरू निकट भविष्यमा नै सुरु हुँदै छ। त्यसपछि हामी सुटिङमा जाँदै छौं।
तपाईंलाई सुरुदेखि कस्तो फिल्मको निर्देशन गर्ने योजना थियो ? र किन ?
म धेरै जसो प्रेमकथाका फिल्म हेर्न रुचाउँथे। खासगरी मानवीय संवेदनाका फिल्ममा बढी रुचि थियो।
फिक्सन फिल्ममा धेरै चासो थिएन। त्यसकारण पनि मैले निर्देशन गरेका फिल्ममा मानवीय भावना र प्रेमले प्राथमिकता पाएका छन्। मैले सबै किसिमका फिल्म निर्देशन गरेको छु। तर मलाई बढी रोमान्टिक प्रेमकथाका फिल्मले चिनाएको छ। म आफू दर्शक भएर हेर्दा पनि रोमान्टिक प्रेमकथाका फिल्म हेर्ने भएकाले म यस्तो फिल्म बनाउन सक्षम छु भन्ने लाग्छ।
तपाईं फिल्मतिर आउनुभयो। आमाबाबुको चाहनाचाहिँ के थियो ?
हरेक आमाबाबुको चाहना छोराछोरी सरकारी जागिर खाओस्। डाक्टर, इञ्जिनियर, पाइलट बनोस भन्ने हुन्छ। मेरो आमाबाबुको चाहना पनि त्यही थियो होला। तर, मेरो पहिलो फिल्म सफल भएपछि र मेरो करियर अघि बढ्दै गएपछि आमाबाबु खुसी हुनुभयो।
यो क्षेत्रमा आउन चाहनेलाई केही सुझाव ?
केही सकेर, अध्ययन गरेर आउनुहोस्। यो क्षेत्रमा तपाईं इमान्दारीका साथ आउनुभयो भने यो क्षेत्रले पनि तपाईंलाई इमान्दारीका साथ र सहयोग दिनेछ। निर्माण, निर्देशन र अभिनयमा राम्रो भविष्य छ।