संघीयता र समावेशीकरण हाम्रो प्राथमिकतामा पर्छन्

संघीयता र समावेशीकरण हाम्रो प्राथमिकतामा पर्छन्

तपाईंलाई आफ्नो करियरमा यहाँसम्मको यात्रामा केले प्रेरित गर्‍यो ?

म सधैं संसार हेर्न, अरूसँग काम गर्न र अरूको सेवा गर्न इच्छुक थिएँ। यूएसएआईडीले मलाई यी सबै कुराहरू गर्न अनुमति दिन्छ। यसमार्फत मैले विश्वभरका मानिससँग विभिन्न क्षेत्रमा काम गर्न पाउँछु। अमेरिकी सरकारको तर्फबाट उनीहरूलाई सहयोग गर्न पाउँछु। मैले पिस कप्र्स स्वयंसेवकका रूपमा काम सुरु गरेँ। म धेरै पहिले माडागास्करमा शिक्षक थिएँ र त्यसले मलाई यस प्रकारको काम गरिरहने इच्छा जगायो। त्यसैले मैले जाम्बिया, पाकिस्तान, इजिप्ट, नाइजेरिया र हाल नेपालमा काम गरिरहेको छु। मलाई अद्भुत सांस्कृतिक विविधता भएको देशमा काम गर्ने रुचि थियो, जुन साँच्चै द्रुत गतिमा परिवर्तन भइरहेको छ। त्यसैले मलाई यो भन्न मन लाग्छ कि नेपाल परिवर्तन हुँदैछ र यूएसएआईडीले पनि यससँगै परिवर्तन हुनु आवश्यक छ। त्यसैले, यो विकास यात्राको क्रममा हामी कसरी काम गर्छौं र नेपालीको कुरा सुनेर हाम्रो पोर्टफोलियो परिवर्तन गर्छौं भन्ने बारेमा सोचिरहेका छौं। मैले करिब २० वर्षदेखि यही काम गर्दै आएको छु र यो समय अवधिमा मलाई मनपर्ने काम बन्ने क्रममा छ।

नेपालमा हालसम्म तपाईंको अनुभव कस्तो रह्यो ?

अद्भुत। साँच्चै राम्रो। म यसअघि कहिले नेपाल आएको थिइनँ। मैले यसको बारेमा पढेको र सुनेको थिएँ। नेपालमा हामीलाई धेरै न्यानो स्वागत गरियो। म यहाँ मेरो परिवारसँगै छु। म जनकपुर, सुदूरपश्चिम, कर्णाली, पोखरालगायतका ठाउँमा घुमिसकेँ। काठमाडौंंको वरपर पनि घुमेँ। मैले यहाँ आफूले सोचेभन्दा बढी साँच्चै न्यानो मायाँ पाएँ। 

यूएसएआईडी विगत ६३ वर्षदेखि नेपालमा कार्यरत छ। नेपालमा यसलाई चलाउने मार्गदर्शक सिद्धान्तहरू के हुन् ?

हाम्रो मार्गदर्शक सिद्धान्त भनेको साझेदारी हो। नेपाली जनताका आवश्यकता निर्धारण गर्ने र सोही अनुरूप सँगसँगै मिलेर काम गर्ने, नेपालीको कुरा सुन्ने र त्यसपछि हाम्रा स्रोतसाधन र अन्य विशेषज्ञतालाई यहाँ कसरी ल्याउन सक्छौं भन्ने निर्धारण गर्ने हो। यो ६३ वर्षमा यूएसएआईडीले नेपाली जनतासँग मिलेर केही साँच्चै उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ। हामीले यहाँ पहिलो सडक बनाउन मद्दत गर्‍यौं। पहिलो टेलिफोन एक्सचेन्जलाई कोष दियौं भने औलो उन्मूलनमा पनि महत्त्वपूर्ण भूमिका निभायौं। महिला र बालबालिकाको क्षेत्रमा हामीले गरेको काममा म गर्व गर्छु। विगत दुई दशकमा नेपालमा बाल मृत्युदर ६० प्रतिशतले घटेको छ। यो साँच्चै उल्लेखनीय विषय हो। यो यात्रामा रहन पाउँदा हामी आफूलाई भाग्यमानी ठान्छौं। नेपालको संविधानले व्यवस्था गरेको संघीयता र समावेशीकरण कार्यान्वयनका विषयमा पनि हामीले ध्यान दिइरहेका छौं। 

आगामी वर्षहरूमा नेपालमा यूएसएआईडीको मुख्य रणनीतिक प्राथमिकताहरू के के हुनेछन् र यसका परियोजनाहरू नेपाल सरकारको राष्ट्रिय प्राथमिकताहरूसँग मेल खान्छन् भनेर कसरी सुनिश्चित गर्नुहुन्छ ?

नेपाल सरकारको प्राथमिकताहरूलाई ध्यानमा राखेर नै हामीले आफ्ना कामहरू निर्धारण गर्ने गरेका छौं। हामी कहिल्यै पनि त्यस्तो कुनै काम गर्न चाहँदैनौं जुन नेपाल सरकारको आवश्यकतासँग मेल खाँदैन। त्यसैले, हामी संघीयता, समावेशीकरणलगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्छौं। आगामी दिनमा पनि विभिन्न क्षेत्रमा काम गर्ने बारेमा सोच्दैछौं। हामी शिक्षामा काम गर्छौं। यसको अर्थ शिक्षक र बालबालिकालाई सहयोग गर्नु हो। हामी स्वास्थ्यमा काम गर्छौं, जुन धेरै हदसम्म आमा र शिशुहरूमा केन्द्रित छ। आर्थिक वृद्धिमा काम गर्छौं, जुन किसान र कृषिसँग सम्बन्धित छ। हामी साना उद्यमीहरूसँग पनि काम गर्छौं। नेपालमा लोकतन्त्र लागू गर्न नेपाल सरकारको हरेक तहका नीति निर्माताहरूलाई हामी सहयोग गर्छौं।

विपत्मा पुनर्निर्माणको कार्यमा संस्थागत क्षमता सुदृढीकरण गर्न नेपाललाई कसरी सहयोग गरिरहेको छ ?

हामीले विपत्को जोखिम र यसको न्यूनीकरण तथा क्षमता अभिवृद्धि गर्न योजना बनाइरहेका राष्ट्रिय संस्थाहरूसँग मिलेर काम गरिरहेका छौं। प्रदेश र नगरपालिका स्तरमा पनि विभिन्न कामहरू भइरहेका छन्। उदाहरणका लागि हामीले सुदूरपश्चिमको स्थानीय सरकारलाई भेटेर आपत्कालीन सामाग्रीहरूको आपूर्ति र भण्डारण कक्षबारे जानकारी लियौं। उनीहरूलाई प्रकोपको सामनाका लागि योजना विकासमा पनि सहयोग गरिरहेका छौं। जाजरकोटमा पनि हामीले अस्थायी सिकाइ केन्द्रहरू निर्माण गर्न मद्दत गरिरहेका छौं। हालै त्यहाँ ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छौं। यसमार्फत बालबालिकालाई पुनः विद्यालय फर्काउने उद्देश्यसहित कक्षाकोठाहरू निर्माण गरिनेछ। यो हाम्रो पोर्टफोलियोको महत्त्वपूर्ण भाग हो। किनभने यो नेपाल सरकारका लागि महत्त्वपूर्ण भएकाले हाम्रा लागि पनि महत्त्वपूर्ण छ।

नेपालमा आफ्नो कार्यक्रमको प्रभावलाई यूएसएआईडीले कसरी मापन गर्छ ? ६३ वर्षको अवधिमा के कस्ता उल्लेखनीय सफलता हासिल गर्नुभएको छ ? 

हामीले काम गरेर सफल भएका विषयमा धेरै तथ्यांक छ। अनुगमनको तथ्यांक र जवाफदेहिता हाम्रा लागि निकै महत्त्वपूर्ण छन्। नेपालका जनताको सेवा गर्ने काममा हामी राम्रो लगानी गर्न चाहन्छौं। हाम्रा सफलताका कथाहरूको प्रसंग कोट्ट्याउँदा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा ६० प्रतिशतले कमी ल्याउन सक्नु हो। मलेरियामा उल्लेखनीय कमी आउनु पनि महत्त्वपूर्ण उपलब्धि हो। सन् २०२३ मा मात्रै हामीले १० लाख नेपाली महिलामाझ सेवा पुर्‍यायौं। हामी उनीहरूसँग कुनै न कुनै रूपमा जोडियौं। उनीहरूलाई उद्यमशीलतासम्बन्धी तालिम, स्वास्थ्य क्लिनिकलगायतका विभिन्न माध्यमले यूएसएडले सेवा पुर्‍यायो। विद्यालयका शिक्षक, नेता, पत्रकार, स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत सबै समूहका महिलामाझ हाम्रो कार्यक्रम सञ्चालन हुँदै आएको छ। हामीले सफलता हासिल गरेका यस्ता विषयमा तथ्यांक संकलन गर्ने गरेका छौं। 

अमेरिकी जनताबाट प्राप्त यस सहयोग रकमको कति प्रतिशत वास्तवमै तल्लो तहका जनतामाझ पुग्छ ? किनकि धेरैजसो अन्तर्राष्ट्रिय विकास सहायताको रकम परामर्शदाता, राजनीतिक पहुँचवाला व्यक्ति र मध्यस्थकर्ताको भुक्तानीमै सकिन्छ भन्ने गुनासो छ नि ?

म नेपाल आउन चाहनुको अर्को कारण हामी स्थानीय रूपमा नेतृत्व गरिएको विकासको बारेमा सोचिरहेका थियौं। नेपाल यस्तो देश हो जहाँ यूएसएआईडीले तल्लो तहका जनतालाई कोष प्रदान गर्छ। हामी सिधै नेपाली संस्थाहरू खोज्छौं जसले नेपालीको सेवा गरिरहेका छन्। त्यो कोष परामर्शदाता वा अन्तर्राष्ट्रिय एजेन्सीहरूमार्फत जाँदैन। यो नेपालीकोमा नै जान्छ। हामीले गर्ने अर्को काम भनेको नेपाल सरकारसँगको हाम्रो गहिरो र लामो साझेदारीको संकेत पनि हो। हामी नेपाल सरकारलाई पनि सिधै कोष दिन्छौं, जुन हामी धेरै देशहरूमा गर्दैनौं। तर हामी यहाँ गर्न सक्छौं किनभने यहाँ विश्वास र जवाफदेहिता छ। उदाहरणका लागि हामी स्वास्थ्य, शिक्षालगायतका मन्त्रालयलाई सिधै कोष दिन्छौं। हामीले काम गरिरहेको समुदायमा निरन्तर अनुगमन भ्रमण गर्छौं। अन्तिम कुरा जुन साँच्चै महत्त्वपूर्ण छ, त्यो भनेको हामी नेपालीसँगै काम गर्छौं र नेपालीलाई नै काम दिन्छौं। त्यसैले अमेरिकामा पनि मेरा धेरैजसो सहकर्मीहरू नेपाली छन्। तपाईंको प्रश्नको दोस्रो भाग जवाफदेहिता प्राप्त गर्ने तरिका हो, हैन र ? हामी धेरै स्वतन्त्र लेखा परीक्षण र अनुगमन गर्छौं।

यूएसएआईडीले आफ्ना कार्यक्रमहरूको दिगोपना कसरी सुनिश्चित गर्छ ता कि कोष बन्द भएपछि पनि स्थानीय समुदायले निरन्तर फाइदा पाइरहुन् ? 

राम्रो प्रश्न गर्नुभयो। यी प्रश्नहरू मैले आफ्नो ‘टिम’लाई सोधेको थिएँ। पहिलो कुरा के हो भने, हामीले नेपालीको कुरा सुनेर काम सुरु गर्नुपर्छ। यदि हामीले कार्यालयमा बसेर आफ्नो दिमागमा आएको कार्यक्रमलाई डिजाइन गर्‍यौं भने यो दिगो हुने छैन। किनकि यसले मानिसका आवश्यकता पूरा नहुन सक्छन्। त्यसैले हामीले यस्तो डिजाइनबाट सुरु गर्छौं जसले उक्त कार्यक्रमलाई दिगो बनाउन मद्दत गर्छ। अर्को भनेको सधैं हामीले मात्रै कोष दिँदैनौं। हामी विशेषगरी निजी क्षेत्र र नेपाल सरकारसँग लागत साझेदारीका लागि आग्रह गर्छौं। हामी ८० प्रतिशत राख्नेछौं, तपाईं २० प्रतिशत राख्नुहोस् भन्छौं। यसले समयसँगै कार्यक्रमलाई दिगो पनि बनाउँछ। त्यसपछि, राम्रा कार्यक्रमहरू निरन्तर चलिरहन्छन्। 

तपाईं नेसनल बार कलेजमा हुनुहुन्थ्यो, हैन र ?

हो, थिएँ।

नेपालमा व्याप्त गरिबी, जलवायु परिवर्तनले निम्त्याउने जोखिमलगायका चुनौतीहरूसँग लड्न तपाईं आफ्नो उक्त अनुभवलाई कसरी प्रयोग गर्दै हुनुहुन्छ ? 

म नेसनल बार कलेजमा थिएँ। त्यहाँँ हुँदा मेरो एउटा नेपाली सहकर्मी थिए। उक्त कलेजमा धेरै वरिष्ठ नेपाली सैन्य अधिकारीहरूले पनि अध्ययन गरेका छन्। त्यहाँँ अध्ययन गर्दा मलाई रणनीतिक विकास र रणनीतिक तरिकाले सोच्न मद्दत पुर्‍यायो। तपाईंले आफ्नो काम प्रभावकारी र रणनीतिक छ भनी सुनिश्चित गर्न नेपाल सरकार, नेपाली जनतालगायतका पक्षसँग मिलेर गर्नु आवश्यक छ भन्ने पाठ मैले त्यहीँ सिकेको हुँ। हामी अमेरिकी करदाताको रकम लगानी गर्दैछौं। त्यसैले यो नेपाली जनताले चाहेको कुरा होइन भनेर हामी सुनिश्चित गर्न चाहान्छौं। जब हामी अगाडि बढ्छौं र जब नेपालको विकास हुन्छ, यो एक रणनीतिक लगानी बन्छ। 

अमेरिकी सहयोगसँग सम्बन्धित एउटा रमाइलो सम्झना सफा टेम्पु हो। ग्यास, डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन जलवायु परिवर्तन र बढ्दो व्यापार घाटाको कारक हो। यस्ता साधनमाथिको निर्भरता हटाई नेपाली अर्थतन्त्रलाई दिगो र नाफामुखी बनाउन अमेरिकी सरकारले केही गर्दैछ कि ?

हामी नेपालसँग मिलेर दिगो र व्यापक रूपमा आर्थिक वृद्धि गराउन सकिने बारेमा सोच्दै काम गरिरहेका छौं। यसमा अवश्य पनि विद्युतीय सवारीसाधनहरू र अन्य समावेश हुनेछन्। हामी यिनलाई वातावरणमैत्री व्यवसाय भन्छौं। त्यसैले नेपालको विकासका लागि कस्ता नीतिहरू आवश्यक छन् त ? अवश्य पनि स्वच्छ ऊर्जा एउटा यस्तो क्षेत्र हो जसका विषयमा हामी सोच्दछौं। हामीले ऊर्जामा धेरै काम गरेका छौं। त्यो विद्युतीय सवारीसाधनहरूमा नभई ऊर्जा प्रसारणमा बढी छ। पहिलोपटक नेपाल अब भारतमा ऊर्जाको खुद निर्यातकर्ता भएको छ। यूएसएआईडीको सहयोगले नेपालले जलविद्युत्को क्षेत्रमा धेरै नियामक काम गरिरहेको छ जसले यसलाई आफ्ना छिमेकीहरूलाई स्वच्छ नवीकरणीय ऊर्जा निर्यातमा सक्षम बनाएको छ। यूएसएआईडी ऊर्जा नेपालका साझेदारहरूमार्फत हामीले घरपरिवारलाई खाना पकाउन काठको सट्टा स्वच्छ बिजुली प्रयोग गर्न सक्षम बनाएका छौं। परिवारहरूलाई विद्युतीय सवारीसाधन छनौट गर्न सजिलो बनाउने नीतिहरूमा सरकारसँग मिलेर काम गरेका छौं। निजी क्षेत्रका स्वच्छ ऊर्जा उत्पादकहरूलाई नेपाल विद्युत् प्राधिकरणलाई ऊर्जा बेच्न मद्दत गरेर नेपालमा स्वच्छ बिजुली बजार विकास गर्न हामी कार्यरत छौं। हाम्रा साझेदारहरूसँग मिलेर यूएसएआईडी ऊर्जा नेपालले २३ वटा विद्युतीय चार्जिङ स्टेसनहरू स्थापना गरेको छ।

नेपालमा स्थानीय सरकारहरूलाई सहयोग गर्न र सेवाहरूलाई विकेन्द्रीकृत गर्न कुनै विशेष कार्यक्रमहरू छन् कि ?

हामीसँग त्यस्ता केही कार्यक्रम छन्। त्यसमध्येको एउटा महत्त्वपूर्ण भनेको सार्वजनिक वित्तीय व्यवस्थापन हो। यसले बजेटलाई पारदर्शी बनाउन वास्तवमै स्थानीय सरकारका अधिकारीहरूलाई मद्दत गरिरहेको छ। उनीहरूले संघीय सरकारबाट प्राप्त बजेट प्रयोग गर्छन्। त्यो पारदर्शी होस् र त्यसलाई सार्वजनिक क्षेत्रमार्फत व्यवस्थित गरियोेस् भन्ने हाम्रो उद्देश्य हो। हामीसँग केही यस्ता कार्यक्रमहरू पनि छन् जसले मानव बेचबिखन रोक्न नेपाल सरकारलाई मद्दत गर्छ। हामी नागरिक समाज र मिडियाको बारेमा पनि सोच्दछौं। पत्रकारलाई तालिम दिन्छौं। उनीहरूलाई कथाहरू उत्पादन गर्न प्रेरित गर्छौं। हामीले विशेष गरी लोकतन्त्र र सुशासनका विविध पाटाका बारेमा सोचेर काम गर्छौं। 

नेपालको पहिलो कृषि विश्वविद्यालय अमेरिकी सहयोगमा स्थापना भएको थियो। अहिले खाद्यान्न आयात बढ्दो छ। यहाँको कृषि क्षेत्रलाई पुनर्जीवित गर्ने कुनै योजना छ ?

कृषि यूएसएआईडीको लामो समयदेखिको चासो र विशेषज्ञता क्षेत्र हो। त्यसैले हामीसँग धेरै ठूला कृषि कार्यक्रमहरू छन्। साना उद्यमीहरूलाई समर्थन गर्ने कार्यक्रम पनि छन्। हामी मलको बारेमा र मानिसलाई कसरी जमिनमा काम गर्न लगाउने भन्ने बारेमा सोच्छौं। उनीहरू कस्तो जमिनमा काम गरिरहेका छन् भनेर पनि बुझ्छौं। उदाहरणका लागि, हामीले माटोको नक्सानामक एक कार्यक्रमलाई कोष उपलब्ध गराएका थियौं। यसले मानिसलाई आफू कस्तो माटोमा काम गरिरहेको छु भन्ने जानकारी गराउँथ्यो। किसानले कसरी आफ्नो उत्पादन अझै बढाउन सक्छन् भन्नेमा पनि हामी सोचिरहेका छौं। आयात र निर्यातका लागि कस्ता नीति, नियमहरू आवश्यक छन् भन्ने बारे पनि सोच्दैछौं। हामी केही व्यक्तिगत व्यवसायलाई पनि समर्थन गर्छौ। फार्ममा उत्पादित कुखुरालाई बजारमा ल्याउने, नेपाली चियाको बजारीकरणलगायतमा सहयोग गर्ने गरेका छौं। कच्चा पदार्थहरूको प्रशोधनको सुविधा स्थापना गर्नमा हाम्रो ध्यान केन्द्रित छ। गत नोभेम्बरमा हामीले ५५ जनालाई रोजगारी दिने र ३० भन्दा बढी मसलाहरू उत्पान गर्ने प्रशोधन केन्द्र सुरु गर्‍यौं। त्यसैले हामी कृषि क्षेत्रको बारेमा धेरै सोच्छौं। कृषिमार्फत नेपालमा आर्थिक वृद्धिको धेरै सम्भावना छ। 

फिड द फ्युचर कार्यक्रमका बारेमा केही प्रकाश पार्न सक्नुहुन्छ ?

हाम्रा सबै कृषि कार्यक्रमहरू फिड द फ्युचरअन्तर्गत सञ्चालित छन्। हामीले भविष्यका पिँढीलाई खुवाउन कृषिमा सुधार गर्नु आवश्यक छ। शाब्दिक रूपमा खुवाउनु मात्र होइन, खाद्य उत्पादनमा वृद्धि गर्नु पनि हो। नेपालले पनि कृषिमा निर्यात सुरु गर्नु आवश्यक छ।

यस कार्यक्रममा रैथाने बालीहरूको संरक्षण पनि समावेश छ ?

त्यो सम्पूर्ण मानवताका लागि सम्पत्ति हो। धेरै रैथाने बालीहरू चिन्ताजनक दरमा लोप भइरहेका छन्। भविष्यमा ती बालीहरूको संरक्षण गर्न केही प्रयासहरू पनि गरिने छन्। हामी नेपालको मौलिक बालीहरू संरक्षण गर्न काम गर्छौं। हामी समावेशी छौं भनेर सुनिश्चित गर्न साँच्चै कडा परिश्रम गर्छौं। यसका लागि आदिवासी समूह, महिला र सीमान्तकृत समुदायसँग मिलेर काम गर्छौं। त्यसैको यसको एक अंशका रूपमा हामी रैथाने बालीहरूको संरक्षणमा पनि जुटेका छौं।

युवा, महिला र सीमान्तकृत समूहमा केन्द्रित भएर एजेन्सीले कार्यक्रम गरिरहेको छ। विशेषगरी ग्रामीण क्षेत्रका यी वर्गको आर्थिक सशक्तीकरणमा के पहल गरिरहेको छ ?

हामीले गर्ने पहिलो काम भनेको ती समूहहरूलाई समावेश गरिएको छ छैन भनी सुनिश्चित गर्नु हो। त्यसैले कुनै पनि कार्यक्रम सुरु गर्नु अगाडि नै ती वर्गलाई समावेश गरिएको छ छैन भनेर सुनिश्चित गरेर मात्र सुरु गर्छौं। हामीले कुनै पनि काम गर्नु अगाडि त्यहाँँको तथ्यांक केलाउँछौं। हाम्रा कार्यक्रमहरू डिजाइन गर्दा नै सबैका कुरा सुनेर मात्र गर्छौं। 

नेपालमा गुणस्तरीय शिक्षामा बालिकाको पहुँच पुर्‍याउन केही विशेष कार्यक्रमहरू लागू भएका छन् कि ?

मलाई यो प्रश्न मन पर्‍यो किनकि म पहिले आफैं शिक्षक थिएँ। मैले शिक्षकका रूपमा माडागास्करमा शान्ति सेना स्वयंसेवकको भूमिका निभाएको थिएँ। समानता र नेपालको भविष्यका लागि शिक्षामा बालिकाको पहुँच पुर्‍याउनु धेरै महत्त्वपूर्ण छ। बालिकाले किशोरावस्थामा पुगेपछि कहिलेकाहीँँ विद्यालय छोड्ने गर्छन्। त्यसैले उनीहरूलाई विद्यालय फर्काउन सक्ने तरिकाहरू पत्ता लगाउँदै विद्यालयमा छुट्टै कक्षा कोठाहरू स्थापना गरेका छांै। अर्को कुरा भनेको बालविवाह घटाउनु हो, जसले बालिकाहरूलाई विद्यालय बाहिर ल्याउने प्रवृत्ति बढाएको छ। त्यसपछि हामीसँग समानता र समावेशीकरणमा केन्द्रित कार्यक्रम पनि छन्। 

अमेरिकामा नयाँ प्रशासनले कार्यभार सम्हालेपछि यूएसएआईडीको काममा कुनै परिवर्तनको सम्भावना छ ?

हामी हाम्रो वर्तमान प्रशासनको अन्तिम सातामा छौं। तपाईंलाई थाहा छ कि सन् १९६१ मा यूएसएआईडी गठन भएदेखि १२ वटा राष्ट्रपतीय प्रशासनहरू कायम भइसकेका छन्। यो वास्तवमै अमेरिकी लोकतन्त्रको पहिचान हो, शक्तिको यो शान्तिपूर्ण संक्रमण हो। नयाँ प्रशासनको सधैंं नयाँ नीतिगत प्राथमिकताहरू हुन्छन्। तर यूएसएआईडीको मूल उद्देश्य भने विगतका यी १२ प्रशासनहरूमा उस्तै रह्यो। त्यसैले मलाई लाग्छ कि त्यो मूल उद्देश्य उस्तै रहनेछ। र म निश्चित छु कि प्राथमिकताहरू फरक हुनेछन्। हामी नयाँ प्रशासन, नेपाल सरकार र नेपाली जनतासँग राम्रोसँग मिलेर काम गर्नेछौं। 

के नेपालमा कुनै त्यस्ता पल वा उपलब्धिहरू छन् जुन तपाईंका लागि विशेष अर्थपूर्ण छन् ?

यो साँच्चै राम्रो काम हो। मलाई मेरो काम मन पर्छ। जब तपाईंले आफ्नो कामबाट प्रभावित मानिसलाई देख्नुहुन्छ तब यो साँच्चै इनाम पाए सरह लाग्छ। गत नोभेम्बर महिनामा म र राजदूत थोम्पसन सुदूरपश्चिमको भ्रमणमा गएका थियौं। त्यहाँँको एउटा समुदायमा हामी गयौं, जहाँका घरमा अहिलेसम्म पानीका धारा थिएनन्। अहिले पानीका धारा हाल्ने काममा केही रकम हामीले पनि सहयोग गरेका छौं। घरमा धारा जडान भएका परिवारका महिलासँग कुरा गर्दा यसले उनीहरूको दैनिक तीन घण्टा बचत गरेको थाहा पायौं। किनभने यसअघि उनीहरूलाई बिहानै पानी लिन हिँड्नुपथ्र्यो। तर अहिले त्यही तीन घण्टा उनीहरूले आफ्ना छोराछोरीसँग बिताउन पाएका छन्। उनीहरूले उक्त पानी स्वस्थ तरकारी उब्जाउन र सामुदायिक बगैंचा बनाउन पनि प्रयोग गर्दै आएका छन्। उक्त धारा खोलेर उद्घाटन गर्दा मलाई साँच्चै गर्व लाग्यो।

प्रस्तुति : रामकला खड्का/देवेन्द्र गौतम


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.