सहर पसेको मान्छे
सहर छिरेपछि
सहरको कुनै चोक वा साँघुरो गल्लीमा
न कुनै भीडबाट कसैले बोलाएको छ आजसम्म।
सहर पसेको मान्छे
मान्छेहरूकै बिचमा गायब भएको छ।
भर्खरै कसैले उडाएको चुरोटको धुवाँ जस्तो
क्षणभरमै विलिन भैजान्छ साथीभाइको बोलचाल
टाढाबाट सोझ्याइएको कुलोको पानी जस्तो
आउँदाआउँदै हराइजान्छ आफन्तको आवतजावत।
ऊ मलाई नै सोधिरहन्छ
सहरले किन निल्छ मानिसको परिचय !
टीका लगाउँदा लोकसेवाको
व्याख्या गर्ने हाकिम
सहरमा भेटिँदा चिन्दैन
मेरै पसिना बेचेर
व्यापारी बनेको साहुले ठेगाना सोधिरहन्छ।
धान काटेका ओभाना खेतमा
काँधलौरी खेल्ने साथीले बिर्सन्छ
आलोपालो पँधेरामा
गाग्री थाप्ने निरमायाले मुन्टो बटार्छे।
सँगसँगै चौतारीमा कविता लेख्ने मित्र
सहर छिरेपछि कता हराउँछ कता ?
गाउँमै भेटिएपछि
सबैलाई सोध्नु छ एउटा प्रश्न
सहर पसेको मान्छे
कसरी स्वतन्त्र हुन सक्छ ?