प्रिय होली
प्रिय होली,
लह लह फुल्छन्
राता, पहेँला, हरिया
अनगिन्ती उत्साहका फूल।
तिम्रो आगमनलाई
पर्खिरहन्छन् मैले जस्तै
प्रेमका पारखीहरू
आफ्ना लाग्ने हातहरू
जसले मुठ्याउन्
एक मुठ्ठी रंगीन खुसी
र पोतिदिऊन् गालाभरी
मायाका रंगहरू।
तिम्रो सामिप्यताको
कामना गर्छन् मैले जस्तै
मायालु जोडीहरू
आफ्ना लाग्ने स्पर्श
जसले छोउन्
हृदयका तीव्र ढुकढुकी
फोरुन् प्रेमको घडा
र पोखुन् उमंगको मक्खन
देहको कुना–कुनामा।
प्रिय होली,
तिम्रो आगमनमा
जवान बन्छ वसन्त
पाउलिन्छन् सम्बन्धका
हरिया बोटहरू
मनभरि फस्टाउँछन्
पिरतिका बाली
गुन्जिन्छ गगनमा
मायाको संगीत !
प्रिय होली,
हरेक वर्ष
तिमी नबिर्सी आउनू
तिम्रो स्वागतमा
इन्द्रेणी रङ
थालभरि सजाउँला
हर्षको पिचकारिले
गुनासोलाई बगाउँला।