अखाद्य वस्तु बेच्नेलाई २ लाख जरिवाना
रसुवा : जिल्लामा बजार अनुगमनका क्रममा अखाद्य तथा गुणस्तरहीन वस्तु बेचबिखन गरेको भेटिएपछि व्यापारीलाई २ लाख रुपैयाँसम्म जरिवाना गरिएको छ। प्रदेशस्तरीय जिल्ला बजार अनुगमन समिति तथा अनुगमन निर्देशिका, २०८० ९ दफा ७० को उपदफा ४ सँग सम्बन्धित अनुगमनमा जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन सुरु गरेको हो।
सदरमुकाममै म्याद सकिएको खाद्य सामग्री बिक्री वितरण भएको गुनासोपछि बजार अनुगमन समितिले व्यवसायीमाथि निगरानीका साथ अनुगमन गर्न सुरु गरेको हो। धुन्चे बजारस्थित लक्ष्मीराम सप्लायर्सले म्याद गुर्जेको सामग्री बेचेको भेटिएपछि बजार अनुगमन समितिले २ लाख रुपैयाँ जरिवाना गरेको छ। लक्ष्मीराम सप्लायर्सले साविक फर्मको पुँजी ३ लाख रुपैयाँ मात्र रहेकाले वर्तमान मुद्रास्फीति र पसलमा भएको सामग्रीको मौज्दातबमोजिम फर्मको पँुजी वृद्धि गर्नसमेत निर्देशन दिइएको छ। यसैगरी, याङजेन स्टोर, घले किराना पसल, गोसाइँकुण्ड किराना पसल, प्रतिमा किराना पसललाई ५ हजार, जियाशा कोल्ड स्टोरलाई १० हजार र रसुवा किराना पसललाई २० हजार रुपैयाँ जरिवाना गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल योगीको संयोजकत्वमा गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेबजारमा रहेको खाद्यान्न तथा किराना पसलहरूमा गरिएको अनुगमनको क्रमममा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पसलहरूलाई जरिवाना लगाइ म्याद गुज्रिएका खाद्य समान बरामद गरी नष्ट गरिएको छ। अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुका मिति सकिएका खाद्यान्न सामग्री र म्याद रहेको सामग्री एकै ठाउँमा राखेर बेचेको पाइएपछि जरिवाना गरिएको हो। लिची जुस, बिस्कुट, चाउचाउ, स्याम्पु, बियर, चकलेट, अचार, चाउमिन, क्याचप, पेय पदार्थ अन्य विभिन्न खाद्यवस्तु म्याद गुज्रेका सामान जफत गरी नष्ट गरिएको छ। पसलमा मूल्यसूची नराखिएको, लेबलिङ नगरिएका सामान बेचेको समेत पाइएको सहायक प्रमुख जिल्ला अधिकारी योगीले बताए।
उत्तरगया, कालिका, टिमुरे, राम्चे, ग्राङ, चिलिमे, भार्खु साथै गोसाइँकुण्ड पदमार्गमा अनुगमन गर्दै धुन्चे बजारमा पनि अनुगमन गरिएको छ। समितिले नौकुण्डका गाउँपालिका विभिन्न क्षेत्रमा सञ्चालित उद्योगहरू, स्याफ्रुबंसशी, ठूलोस्याफ्रुलगायत गाउँका होटल र पसलमा पनि गुनासोका आधारमा अनुगमन गरिने अनुगमन समितिका सचिव एवं उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख बृहस्पति तामाङले जानकारी दिए।