नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य
काठमाडौं : नेपालले आयरल्यान्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९८ रन बनाएको हो।
नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन, कुशल मल्लले ३४ रन, कप्तान रोहित पौडेलले ३३ रन, कुशल भुर्तेलले २५ रन, अनिल शाहले १२ रन, आशिफ शेखले ११ रन, सन्दीप जोराले २१ र विवेक यादव ७ रनको योगदान गरे। जोरा अन्तिम बलमा क्याच आउट भएका हुन्।
आयरल्यान्ड ‘ए’का लागि म्याथ्यु फोस्टरले ३ विकेट, बेन व्हाइटले२ विकेट, ग्याभिन होए र फिओन ह्यान्डले १/१ विकेट लिए।
सोमबार भएको खेलमा ६ विकेटले नेपाल विजयी भएको थियो। आयरल्यान्डले दिएको १२२ रनको मध्यम लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको थियो।
आयरल्यान्डसँगको शृंखलापछि नेपालले बरोडा र गुजरात क्रिकेट संघको टोलीसँग मार्च ३१ देखि अप्रिल ७ सम्म एसएमएस फ्रेन्डसिप कपमा प्रतिस्पर्धा गर्नेछ। आज विवेक यादव र शाह टोलीमा आउँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा बसेका छन्।
प्रतिक्रिया दिनुहोस !