असिनापानीले बारपाक र धार्चेमा क्षति, अन्नबाली तहसनहस

असिनापानीले बारपाक र धार्चेमा क्षति, अन्नबाली तहसनहस
सुन्नुहोस्

गोरखा : लगातार एक घण्टासम्म आएको मुसलधारे असिनापानीले बारपाकको हिमालय माध्यमिक विद्यालयको भवनमा क्षति पुगेको छ। भित्र्याउने बेला भएको अन्नबाली तहसनहस भएको छ। 

शनिबार साँझ ५ बजेदेखि ६ बजेसम्म मुसलधारे असिना पानीपछि आएको बाढी विद्यालय परिसरभित्र पसेर क्षति पुर्‍याएको व्यवस्थापन समितिका अध्यक्ष उत्तम विकले जानकारी दिए। ‘लगातार एक घण्टासम्म मुसलधारे असिनापानी पर्‍यो। त्यसपछि उलिएर आएको स्कूलखोला तारबार भत्काएर स्कुलभित्र पर्‍यो’, उनले भने, ‘कम्पाउण्डको तारबार ढलेको छ। क्याण्टिनको भाँडाकुँडा, ग्याँस सिलिण्डर बगाएर लगेको छ। आँगनभरि बाढीले ढुंगामुढा थुपारेर बगर बनाएको छ।’

जस्ताले बारेर बनाएको क्याण्टिनभित्र बाढी पसेर बगाएर लगेको उनले बताए। त्यस्तै लगातारको असिनापानीले बारपाकमा भित्र्याउने बेला भएको गहुँ, जौ, आलुबारी क्षतिग्रस्त पारेको छ। ‘भित्र्याउने बेला भएको गहुँ, जौ ढुटो पारेको छ’, वडाअध्यक्ष धनबहादुर घले भन्छन्, ‘भर्खर दुईपाते भएर उम्रिएको मकै असिनाले माटोमा मिलाइदियो। आलु पनि क्षतिग्रस्त भएको छ।’

मुखमा आएको मुख्यबालीहरु नष्ट भएपछि स्थानीयबासी चिन्तित भएका छन्। ‘किसानहरु चिन्तित छन्। सरकारले राहत दिनुपर्छ भनेर किसानको माग छ’, उनले भने, ‘गाउँपालिकाका अध्यक्षलाई गाउँको अबस्था अवलोकन गर्न बोलाएको हो। आउन सक्नु भएको छैन। अहिले पनि असिना पानी आइरहेको छ।’

तीनघण्टासम्म अबिरल बर्षा भए पनि एकघण्टा भीषण असिनापानी परेको उनको भनाइ छ। ‘साँझतिर यति ठूलो पानी पर्‍यो कि, साँझ ४:५५ देखि ५:५५ बजेसम्म एकघण्टामा ५८.४ मिलिमिटर पानी परेको थियो’, उनले भने, ‘तर पानीचाहिँ बिहानदेखि बेलुकासम्म निरन्तर परेको हो।’ 

असिनापानीले धार्चे गाउँपालिका ४ लाप्राक, ५ को गुम्दा, सिङ्ला, यमगाउँ, लप्सीबोट, खानीवेशी, वडा नं. ७ को लापुगाउँ, खानीगाउँमा पनि अन्नबाली र अन्य संरचनामा क्षति पुर्‍याएको छ। यस क्षेत्रको मुख्यबाली गहुँ, जौ, आलु, मकैलगायतका बाली क्षतविक्षेत बनाएको स्थानीयबासीको भनाइ छ। ‘हाम्रो क्षेत्रको मुख्यबाली भनेकै गहुँ, जौ, आलु, मकै, राज्मा, मुसुरो, लसुन, प्याज हो। हिजोको असनापानी र भेलबाढीले केही बाँकी राखेको छैन’ वडा नं. ४ लाप्राकका स्थानीय राम गुरुङ भन्छन्, ‘कतै भाँचेर लतारेको छ, कतै बगाएको छ, कतै पुरेर सखाप पारेको छ।’ किसानहरु अब सरकारबाट राहत, क्षतिपूर्तिको मुख हेरेर बसेका उनले बताए।

वडा नं. ५ को सिङ्लाका किसानहरुको ५५ वटा भेँडा हराएको वडाअध्यक्ष भीमप्रसाद गुरुङले जानकारी दिए। ‘हाम्रो गुम्दा आलुको पकेट क्षेत्र भन्छन्, तर असिनापानीले तहसनहस छ। क्षतिको यकिन विवरण आएको छैन’, उनले भने, ‘हाम्रोतिर भिरालो बारी हुन्छ। असिनापानी पछि आएको भेलले आलुबारी बगाएर पनि लगेको छ। माथिबाट भेल आएर पुरेको पनि छ। खानीवेशीमा विराज तामाङको घर बगाएको छ। सिङ्लामा ५५ वटा भेँडा बेपत्ता छ।’ 

धार्चे ७ लापु गाउँमा अबिरल असिनापानीले निर्माणाधीन घाँटुघर भत्किएको वडाअध्यक्ष राकेश गुरुङले जानकारी दिए। असिनापानीले खानीगाउँका सचिन गुरुङको घर पनि पहिरोले क्षति पुर्‍याएको उनले बताए। ‘बाटोघाटो पनि भेलाबाढीले बगाएर क्षति पुर्‍याएको छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.