झन्डै ७ लाख हेक्टर वनक्षेत्रमा गुँरास

गुराँसै फुल्यो वनैमा, मेरो मन झुल्यो...

झन्डै ७ लाख हेक्टर वनक्षेत्रमा गुँरास

बुटवल : यतिखेर गुराँस फुल्ने मौसम। पहाडी क्षेत्रका वनजंगलमा ढकमम्कै गुराँस फुलेका छन्। गुराँस भन्नेबित्तिकै सबैको मनमस्तिष्कमा लालीगुराँस अर्थात् राष्ट्रिय फूल आउँछ। यसको सौन्दर्यले जोकोहीलाई मोहित पार्छ। नेपालमा ३२ थरीका गुराँस पाइन्छन्। लालीगुराँस तिनै प्रजातिमध्येको एक हो। अन्य ३१ प्रजातिले पनि नेपालका जंगलमा छुट्टै विशेषता र सौन्दर्य थपेका छन्।

गुराँस फुल्ने समयमा यसले वातावरणीय सौन्दर्यसँगै पर्यटन प्रवर्द्धनका लागि पनि टेवा पुर्‍याएको छ। नेपालका ४३ जिल्लामा थरीथरीका गुराँस फुल्ने गरेको एक अध्ययनले देखाएको छ। त्यसको संरक्षण, प्रवर्द्धन र प्रशोधनमा भने राज्यले ठोस काम नचालेको जनगुनासो छ। 

nullदेशका विभिन्न भू–भागमा प्रकृतिले थरीथरीका गुराँस फुलाइदिएको छ। तर, राज्यले त्यसको महत्त्व बुझ्न नसकेको देखिन्छ। सिजनमा फुल्ने गुराँसकै प्रवर्द्धन र प्रशोधन गरेर आर्थिकोपार्जनसँगै धेरैलाई रोजगारी दिन सकिने बलियो सम्भावना छ। ‘गुराँसले वातावरणीय सौन्दर्य बढाएको छ’ भन्नुबाहेक सरकारले थप सिन्को भाँच्न नसकेको अवस्था छ। नेपालमा पहिचान भएका करिब ६ हजार विभिन्न वनस्पतिहरूमध्ये गुराँसलाई महत्त्वपूर्ण वनस्पतिको रूपमा लिइने गरिएको छ।

यी हुन् नेपालमा पाइने गुराँसहरू

गुराँसका सबै प्रजातिको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने देखिन्छ। संघ, प्रदेश र स्थानीय सरकारबाट गुराँसको संरक्षण र प्रवर्द्धनका लागि नीति तथा कार्यक्रम ल्याउनुपर्छ। गुराँसलाई पर्यापर्यटन, जैविक विविधता र आर्थिकोपार्जनसँग पनि जोडेर काम गर्न सकिन्छ। गुराँस प्रजातिहरू विभिन्न कारणले विनाश हुँदै गइरहेको देखिन्छ। धनञ्जय लामिछाने, पमहानिर्देशक, वन तथा भू–संरक्षण विभाग

nullराष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला गोदावरी ललितपुरले देशभरका वनजंगलहरूमा पाइने विभिन्न वनस्पतिहरूको खोज, अनुसन्धान, वैज्ञानिक नामकरण र नमुना संकलनको काम गर्ने गर्छ। उक्त प्रयोगशालाले पहिचान गरेकामध्ये देशका ४४ वटा जिल्लाका विभिन्न भू–भागहरूमा ३२ वटा प्रजातिका गुराँसहरूको पहिचान गरेको हो। 

विश्वमा कतै पनि नपाइने तर नेपालमै मात्र पाइने गुराँसहरू दुई थरीका छन्। जसलाई रैथाने गुराँस भनेर चिनिन्छ। मुस्ताङ, मनाङ, डोल्पामा ‘लोन्डेसी’ र मुस्ताङ, रसुवा, लाङटाङमा ‘क्वानियनुम’ प्रजातिको गुराँस नेपालमा मात्र पाइन्छ। देशका प्रायःजसो भूभागमा पाइने गुराँस भने नेपालको राष्ट्रिय फूल लालीगुराँस हो। 

nullसुनपाती, चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल, कोरलिङ गुराँस, तकमा चिमाल, कालो गुराँस, सेतो चिमाल, गुलाबी कोरलिङ, भाले सुनपाती, सानो लहरे चिमाल, हिउँ चिमाल, झुन्डिने चिमाल, पुड्के चिमाल, झुसे सुनपाती, थम्सनको गुराँस, पहँेले चिमाल, खियाउने पाते गुराँस, हाँगिने गुराँस र डाक्टर वाइटको गुराँस नामका गुराँसहरू नेपालका भिन्नभिन्न भू–भागमा पाइन्छन्।

राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालाका वरिष्ठ अनुसन्धान अधिकृत सुवास खत्रीका अनुसार तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे–मिल्के–जलजले क्षेत्रमा २८ प्रजातिका गुराँस फुल्छन्। वनै ढकमक्क हुनेगरी यहाँ गुराँस फुल्ने गर्छन्। देशका विभिन्न वनजंगलहरूमा फुल्ने गुराँस र अन्य वनस्पतिहरूको पहिचान र अनुसन्धानले देशको वनस्पति क्षेत्रको नीति तथा कार्यक्रम बनाउन मद्दत पुग्ने गरेको उनले जानकारी दिए। ‘प्रयोगशालामा हाल १ लाख ७० हजार वनस्पतिका नमुनाहरू राखिएको छ’, खत्रीले भने, ‘तीमध्ये १ लाख ६० हजार वनस्पतिहरूलाई राष्ट्रिय अनलाइन तथ्यांकमा प्रविष्ट गरेका छौं।’

nullगुराँस पाइने जिल्ला र सरंक्षण कार्ययोजना

वन तथा भू–संरक्षण विभागले गुराँसका सबै प्रजातिहरूको संरक्षण गर्ने उद्देश्यले बनाएको ‘गुराँस सरंक्षण कार्ययोजना (२०७५–०८०) मा देशका विभिन्न ४३ वटा जिल्लामा गुराँस पाइने उल्लेख छ। ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, कास्की, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी, डोल्पा, रुकुम (पूर्व), रोल्पा, प्यूठान, जाजरकोट, रुकुम (पश्चिम), जुम्ला, मुगु, हुम्ला, दैलेख, कालीकोट, बाजुरा, अछाम, डोटी, डँडेलधुरा, बैतडी, बझाङ र दार्चुलामा गुराँस पाइने कार्ययोजनामा उल्लेख छ। 

ग्रामीण पर्यटनसँग जोडेर गुराँसलाई प्रवर्द्धन गरी पर्यटकलाई लोभ्याउने वातावरण सिर्जना गर्न सकिन्छ। तरमन्त्रालयले गुराँससम्बन्धी हालसम्म त्यस्तो कुनै कार्यक्रम बनाएको छैन।  प्यूठानको गौमुखी र नौबहिनी समेटेर सरंक्षित वन क्षेत्र घोषणाको कार्ययोजना अन्तिम चरणमा पुगेको छ। मोहनराज काफ्ले, सचिव, वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश

nullयद्यपि उक्त कार्ययोजनामा गुराँस पाइने जिल्लाहरू छुटेको देखिन्छ। भक्तपुर, ललितपुर, अर्घाखाँचीलगायत जिल्लाहरूमा पनि गुराँस फुल्ने गरेको देखिएको छ। नेपालमा करिब ६ लाख ९२ हजार हेक्टर क्षेत्रफल वनजंगल गुराँसका प्रजातिहरूले ओगटेका छन्। जुन नेपालको कुल वन क्षेत्रको करिब १० प्रतिशत हो।

विश्वभर १,१५७ प्रजातिका गुराँस

गुराँस सरंक्षण कार्ययोजना र वनस्पति विभागले उल्लेख गरेअनुसार विश्वभर १ हजार १ सय ५७ प्रजाति र उपप्रजातिका गुराँसहरू पाइन्छन्। विश्वव्यापी रूपमा एसिया, उत्तर अमेरिका, युरोप र अस्ट्रेलिया महादेशमा फैलिएको गुराँसको करिब ९० प्रतिशत प्राकृतिक बासस्थान दक्षिण पूर्वी एसियाका नेपाल, चीन, भारत, भुटान, म्यानमार, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया र फिलिपिन्समा रहेको छ। समुन्द्री सतहबाट १ हजार मिटरदेखि ६ हजार मिटरको उचाइसम्म गुराँस फैलिने गर्छ।

null संरक्षण र प्रवर्द्धनको आवश्यकता

देशको पूर्वदेखि पश्चिमसम्मका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने गुराँस प्रजातिहरू विभिन्न कारणले विनाश हुँदै गइरहेको पाइन्छ। ती क्षेत्रमा अत्यधिक चिसो हुने हुँदा तातोपानीका लागि वैकल्पिक ऊर्जाको व्यवस्था नभएकाले मानिसले तातोपना र खाना पकाउन गुराँसको दाउरा अधिक प्रयोग गर्ने गरेको पाइन्छ। वनमा अधिक निर्भरता, फलाम तथा सुनचाँदीका कामका लागि कोइला बनाउने प्रचलन, खुला चरीचरन, काठको चोरी निकासी र वन डँढेलो पनि गुराँसको वन संरक्षणमा चुनौतीको रूपमा रहेको छ। वातावरणीय जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन नगरी राजमार्ग, स्थानीय सडक, जलविद्युत्लगायतका भौतिक पूर्वाधार निर्माणले पनि वनक्षेत्र अतिक्रमित भई गुराँस संरक्षण थप चुनौतीपूर्ण बनेको विज्ञहरूको भनाइ छ।

गुराँसका सबै प्रजातिहरूको संरक्षण र प्रवर्द्धन गर्नु अति आवश्यक रहेको वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक धनञ्जय लामिछानेले बताए। ‘संघ, प्रदेश र स्थानीय सरकारबाट गुराँसको संरक्षण र प्रवर्द्धन गर्नका लागि नीति तथा कार्यक्रम आउनुपर्ने देखिन्छ’, उनले भने, ‘गुराँसलाई पर्यापर्यटन, जैविक विविधता र आर्थिकोपार्जनसँग जोडेर काम गर्न सकिन्छ।’ गुराँसको फूललाई जुस बनाउने गरी प्रशोधन गर्न सके गाउँमै रोजगारी सिर्जना हुने उनको भनाइ छ। 

पर्यटन प्रवर्द्धन र स्थानीयको आयआर्जनमा नांगीलेक क्षेत्रमा फुलेका गुराँसहरूलाई विशेष प्राथमिकतामा राखेर योजना बनाएका छौं। यस क्षेत्रमा पुग्न पदमार्ग निर्माण गरिए पनि पर्यटनका अन्य पूर्वाधार निर्माण गर्नुपर्ने देखिएको छ। पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेछ। संघीय र प्रदेश सरकारबाट नयाँ नीति तथा कार्यक्रम आउने विश्वास गरिएको छ। महावीर राना, उपाध्यक्ष, गौमुखी गाउँपालिका, प्यूठान

उनका अनुसार गुराँसका सबै प्रजातिहरूको संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०७१–२०७७) को लक्ष्यअन्तर्गत ‘गुराँस संरक्षण कार्ययोजना’ तयार पारिएको हो।

गुराँसलाई पर्यटनसँग जोडौं

ग्रामीण पर्यटनसँग जोडेर गुराँसलाई प्रवर्द्धन गरी पर्यटकहरू भित्त्याउन सकिने लुम्बिनी प्रदेशका वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका सचिव मोहनराज काफ्लेले प्रतिक्रिया दिए। ‘मन्त्रालयले गुराँससम्बन्धी हालसम्म त्यस्तो कुनै कार्यक्रम बनाएको छैन’, उनले भने, ‘नागरिकको सुझाव आयो भने सम्भावनाका क्षेत्रहरूको अध्ययन गरेर नयाँ नीति तथा कार्यक्रममा योजना ल्याउन सकिन्छ।’ उनले गुराँसको सम्भावना भएका क्षेत्रहरूमा सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयहरूमार्फत मन्त्रालयमा कार्यक्रम माग गर्नसमेत आग्रह गरे। गुराँसलाई उद्यमसँग भन्दा पनि पर्यटनसँग जोडेर कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावना उनले औंल्याए। 

nullप्यूठानको गौमुखी गाउँपालिका र नौवहिनी गाउँपालिकालाई समेटेर सरंक्षित वन क्षेत्र घोषणाको कार्ययोजना अन्तिम चरणमा पुगेको समेत काफ्लेले सुनाए। संरक्षित वन क्षेत्र घोषणापछि वनजंगलमा भएका गुराँससँगै अन्य वनस्पतिहरूको संरक्षण र प्रवर्द्धन गर्न सहज हुने उनको भनाइ छ। गुराँसको राजधानी भनेर चिनिने तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे–मिल्के–जलजले क्षेत्रमा मात्र यससँग सम्बन्धित कार्यक्रम केन्द्रित रहेको बताउँदै काफ्लेले त्यसलाई सबैतिर विस्तार गर्नपर्नेमा जोड दिए।

सरकारले लगानी गर्नुपर्‍यो

विश्वमा कतै पनि नपाइने तर नेपालमै मात्र पाइने गुराँसहरू दुई थरीका छन्। जसलाई रैथाने गुराँस भनेर भनिन्छ। मुस्ताङ, मनाङ, डोल्पामा ‘लोन्डेसी’ र मुस्ताङ, रसुवा, लाङटाङमा ‘क्वानियनुम’ प्रजातिको गुराँस पाइन्छ। देशका प्रायःजसो भूभागमा पाइने राष्ट्रिय फूलको रूपमा रहेको लालीगुराँस हो। 
सुवास खत्री, वरिष्ठ अनुसन्धान अधिकृत, राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरी, ललितपुर

प्यूठानको गौमुखी गाउँपालिका २ र ३ स्थित अर्खाको नांगीलेकमा झन्डै तीन÷चार सय वर्ष अघिदेखि विभिन्न सात थरीका गुराँसहरू फुल्ने गरेको त्यस क्षेत्रका स्थानीय सामाजिक अगुवा रमेश रानाले जानकारी दिए। प्राकृतिक रूपमा आफैं सजिएर बसेका वनस्पतिहरूको संरक्षण र प्रवर्द्धन हुन नसक्दा यस क्षेत्र ओझेलमा पर्ने गरेको उनले गुनासो गरे। फागुनदेखि जेठको अन्तिम महिनासम्म यहाँ ढकमम्क गुराँसहरू फुल्ने गर्छन्। यस क्षेत्रमा छिमेकी जिल्ला बागलुङको निसीखोला गाउँपालिकाको केही भागसमेत पर्ने गर्छ। 

nullसुर्के तेस्रोधारा र तिखाचुली सामुदायिक वन क्षेत्रमा फैलिएको नांगी लेक क्षेत्रलाई संरक्षित वन क्षेत्र बनाउने योजनापछि यसलाई राष्ट्रिय वनको रूपमा पहिचान गरिनेछ। ‘नांगी क्षेत्रको गुराँसलाई प्रचारप्रसार गर्न सके यहाँ धेरै पर्यटक भित्त्याउन सकिन्छ’, रानाले भने, ‘सरकारले लगानी गर्नुपर्‍यो। यहाँ दुई÷ढाई वर्ष पुराना गुराँसका ठूलाठूला रुखहरू छन्।’ यस क्षेत्र समुन्द्री सतहदेखि २ हजार ५ सयदेखि ३ हजार ६ सय मिटर उचाइमा पर्छ। जेठको अन्तिम महिनासम्म सेतो चिमाल प्रजातिको गुराँस रहने गर्छ। समग्र गौमुखीको पर्यटन प्रवर्द्धन र स्थानीयको आयआर्जनमा नांगी लेक क्षेत्रमा फुलेका गुराँसलाई प्रवर्द्धन गर्ने गरी योजना बनाइएको गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर रानाले जानकारी दिए। यस क्षेत्रमा पुग्नका लागि पदमार्ग निर्माण गरिए पनि पर्यटनका अन्य पूर्वाधारहरू निर्माण गर्नुपर्ने देखिएको उनको भनाइ छ। वन क्षेत्रमा पुग्ने पर्यटकहरूलाई खानबस्ने सुविधासहितको पर्यटकीय पूर्वाधार निर्माणका लागि पहल गर्ने उनले जानकारी दिए। संरक्षित वन क्षेत्र घोषणापछि संघीय र प्रदेश सरकारबाट नयाँ नीति तथा कार्यक्रम आउने उनको विश्वास छ। पालिकाको एक्लो प्रयासले मात्र पूर्वाधार निर्माणको काम पूरा नसकिने बताउँदै उनले सबैलाई साथ दिन आग्रह गरे। 

व्यावसायिक महत्त्व बढाउन जरुरी

बढ्दो वन फँडानीका कारण माँसिदै जान थालेको गुराँसको व्यावसायिक महत्त्व बढाउनुपर्ने जरुरी देखिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटारका वरिष्ठ वैज्ञानिक डा. रामचन्द्र पौडेलले बताए। ‘गुराँसको संरक्षणसँगै व्यावसायिक महत्त्वका बारेमा गाउँगाउँका स्थानीय पालिकामार्फत जनस्तरमा फैलाउनुपर्छ’, उनले भने, ‘गुराँसको बहुउपयोगी महत्त्व छ। तर, हामीले यसलाई सही रूपमा चिन्न सकेनौं।’ 

उनले गुराँस फुल्ने बोट नजिक ‘सतुवा’ नामक बिरुवा उम्रने र उक्त बिरुवा बहुमूल्य जडीबुटीका रूपमा प्रयोग हुँदै आइरहेको जानकारी गराए। गुराँसको संरक्षणले जडीबुटीसँगै चराचुरुंगी र जंगली जनावरहरूको बासस्थानको समेत सुरक्षा हुने उनको भनाइ छ। गुराँस, वन्यजन्तु र जडीबुटीबीच अन्तरसम्बन्ध हुने उनले बताए।

मानवजातिको विकाससँगै गुराँसको अस्तित्व विस्तारै मेटिँदै गइरहेको समेत पौडेल बताउँछन्। ‘जहाँ मेटिँदै गएको छ त्यहाँ पुनः गुराँस रोप्ने अभियान पनि चलाउनुपर्ने देखिन्छ’, उनी भन्छन्, ‘विशेषगरी पश्चिमी क्षेत्रको जंगलका टापुमा मात्र फाट्टफुट्ट गुराँस पाइने गरेको छ।’ गुराँसकै माध्यमबाट नेपालका धेरैजसो भू–भागहरूमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई लोभ्याउन सकिने प्रशस्त सम्भावना रहेको उनको दाबी छ।

गुराँस संरक्षणका चुनौतीहरू

  •  गुराँसको महत्त्व र उपयोगितासम्बन्धी जानकारीको कमी
  •  मानव दक्खल 
  •  जलवायु परिवर्तनको असर 
  •  गुराँसका वन क्षेत्रमा बढ्दो अतिक्रमण
  •  वन डँढेलो
  •  खुला चरीचरन
  •  चोरी निकासी 
  •  रोगको प्रकोप
  •  गुराँसको काठ फलाम, सुनचाँदी पोल्नका लागि गोल बनाउनु
  •  अव्यवस्थित सडक निर्माणले वन मासिनु
  •  गुराँसका फूल टिप्नु तथा हाँगा भाँच्नु
  •  अन्य प्रजातिबाट थिचोमिचो

नेपालमा पाइने गुराँस

  •  लालीगुराँस
  •  सुनपाती
  •  बारबाटम
  •  चिया फूले गुराँस
  •  नीलो चिमाल
  •  पहेँलो चिमाल
  •  जुँगे चिमाल
  •  सानो चिमाल
  •  लहरे चिमाल
  •  कोरलिङ गुराँस
  •  चिमाल
  •  तकमा चिमाल
  •  कालो गुराँस
  •  सेतो चिमाल
  •  गुलाबी कोरलिङ
  •  भाले सुनपाती
  •  सानो लहरे चिमाल
  •  हिउँ चिमाल
  •  झुन्डिने चिमाल
  •  पुड्के चिमाल
  •  झुसे सुनपाती
  •  थम्सनको गुराँस
  •  पहँेले चिमाल
  •  खियाउने पाते गुराँस
  •  हाँगिने गुराँस
  •  डाक्टर वाइटको गुराँस
  •  चेम्बरलेनी
  •  क्वानियनुम
  •  हुकेरी
  •  ल्यानाटम
  •  लोन्डेसी
  •  मेकोन्जेन्स

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.