कोरलानाका खुल्लै छ, छैनन् कर्मचारी
मुस्ताङ : उत्तरी चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित नेचुङमा मुस्ताङ भन्सार कार्यालय छ। त्यहाँ पछिल्लो केही साता अघिदेखि कुनै पनि कर्मचारी पनि बस्ने गरेका छैनन्।
कोरला नाका खुला नभएको अवस्थामा पनि भन्सार विभागले उपल्लो मुस्ताङको छोसेरमा भन्सार कार्यालय स्थापना गरेको थियो। जोमसोममा यही भन्सार कार्यालयको एकाइ कार्यालय पनि छ। यहाँका भन्सारले बर्सेनि नेपाल–चीनबीच हुने अन्तरदेशीय अल्पकालीन व्यापार मेलामा सीमित अवधिका लागि राजश्व उठाउन भन्सारका केही कर्मचारी त्यहाँ बस्थे। अन्य समय त्यहाँ कार्यरत भन्सार कार्यालयका कर्मचारीहरू बस्ने थिएनन्।
विगतदेखि नै गुमनाम रहँदै आइरहेको मुस्ताङ भन्सार कार्यालयमा चालु वर्षको कात्तिक २७ गते कोरलानाका औपचारिक रूपमा खुला भएसँगै त्यहाँको भन्सार कार्यालयमा आंशिक कर्मचारी बस्ने गरेका थिए। हिउँदयाम भरी भन्सार कार्यालयमा कार्यालय सहयोगी मात्रै बस्दै आईरहेकोमा पछिल्लो समय मुस्ताङ भन्सारमा कार्यालय सहयोगी समेत बस्न छोडेको त्यस क्षेत्रका एक स्थानीय बासिन्दाले जानकारी दिए।
मुस्ताङ भन्सार कार्यालयमा ७ जना कर्मचारीको दरबन्दी छ। जसमा १ जना अधिकृत, २ जना नायव सुब्बा, १ लेखापाल, १ कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीको दरबन्दी छ। हालसम्म मुस्ताङ भन्सार कार्यालयलाई अधिकृत तहको कार्यालय प्रमुखको दरबन्दी पदपूर्ति हुन सकेको छैन। ७ जना कर्मचारी दरबन्दी रहेपनि मुस्ताङ भन्सारले दरबन्दी अनुसारको कर्मचारी पाएको छैन।
नेपाल–चीन नेचुङ÷लिजी कोरलानाकामा अहिले पनि व्यापारिक कारोबार भइरहेको छ। विगतमा अल्पकालीन आकल झुकल खुला हुने यो नाका विगत ६ महिनादेखि उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुला गरिएको हो। अहिले पनि दैनिक १०/१२ जना व्यापारीहरू नेपाल–चीन नेचुङ÷लिजी कोरलापासको चिनियाँ भूमिमा पुगेर मालसामान आयात गर्ने गरेका छन्। नाकामा व्यापारिक कारोबार आंशिक रूपमा हुने गरे पनि त्यहाँ भन्सार कार्यालयमा राजस्व संकलन गर्ने कर्मचारी नहुँदा समस्या उत्पन्न भएको हो।
लोमान्थाङको नेचुङ भन्सार कार्यालयको क्वारेन्टाइन भवनमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका सुरक्षाकर्मी बस्छन्। त्यही भन्सार कार्यालय परिसरमा छोसेर प्रहरी चोकीका कर्मचारी बस्छन्। त्यहाँ बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरिएपनि भन्सारका कर्मचारी त्यहाँ बस्न छाडिसकेको नाम नबताउने सर्तमा त्यसक्षेत्रका एक सुरक्षाकर्मीले जानकारी दिए। ‘खै किन हो केही हप्तादेखि भन्सारमा एक जना पनि कर्मचारी छैनन्, केही पर्यो की कुन्नी ?’ उक्त सुरक्षाकर्मीले भने, ‘नाका त खुल्लै छ, व्यापारीहरू पनि छिटफुट नाकामा गएर सामान ल्याउने गरेका छन्।’
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उपल्लो मुस्ताङमा रहेका कार्यालयहरूको अनुगमन तथा उपल्लो मुस्ताङीलाई सीमापार पास लिन छुटेकालाई पास वितरण गर्न आफू त्यसतर्फ जाँदै गरेको जानकारी थिए। प्रजिअ पन्तले भन्सारमा कर्मचारी छैनन् भन्ने जानकारी आएको र के रहेछ त्यहाँ पुगेर रिपोर्टिङ गर्ने बताए।
चीनले गत कात्तिक २७ गते उपल्लो मुस्ताङका दुई पालिकाका नागरिकलाई लक्षित गरी कोरलानाका बाह्रै महिना खुला गरेको थियो। नाका खुलेसँगै त्यस क्षेत्रका नागरिकले दैनिक उपभोग्य मालसामान खरिद -बिक्री गर्न सहज भएको छ। सीमा क्षेत्रका बासिन्दाले चीनको कोरलानाका स्थित लिजी पुगेर खाद्यान्न, लत्ताकपडा, कस्मेटिक र दैनिक उपभोग्य सामान खरिद गर्ने गर्छन्। विगतमा यही नाकाबाट भेडा–च्यांग्रा तिब्बतबाट आयात गरिन्थ्यो।यतबाट भने कृषि उपज सामग्री, जटिबुटी र पश्मिना निर्यात हुन्थ्यो।
नेपाल–चीन कोरलानाका औपचारिक रूपमा बाह्रै महिना खुला गरिए पनि यो नाकाबाट हालसम्म भेडा–च्यांग्रा आएका छैनन्। सरकारको पहलमा नाका खुला भएपनि त्यहाँ भन्सार कार्यालयमा पशु क्वारेन्टाईन पूर्वाधार नहुँदा भेडा–च्यांग्रा नेपालतर्फ आयात गर्न समस्या छ।