वेस्ट इन्डिजका रोड्रिक ओरभिल एस्टविक नेपालका बलिङ कन्सल्टेन्ट
काठमाडौं : वेस्ट इन्डिजका रोड्रिक ओरभिल एस्टविक नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलिङ कन्सल्टेन्टमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एस्टविकलाई बलिङ कन्सल्टेन्ट नियुक्त गरेको जानकारी दिएको हो ।
बारबाडोसका तीव्र गतिका बलर एस्टविकले आठ वर्षभन्दा लामो समयदेखि वेस्ट इन्डिजको सियिनर टोलीसँग काम गरेका छन् । उनले सन् २०१६ देखि २०२२ सम्म वेस्ट इन्डिजको सिनियर टोलीको जिम्मेवारी सम्हालेका थिए । नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाई वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक हुँदा यी दुईले सँगै काम गरेका थिए । ६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इन्डिजको ‘बी’ टोलीका प्रशिक्षक थिए ।
एस्टविकले नेपाली क्रिकेटसँग जोडिन पाउँदा खुसी लागेकोे बताए । नेपालको राष्ट्रिय टोलीसँग काम गर्न पाउनु मेरा लागि गर्वको विषय हो । आफ्नो ज्ञान र सीप नेपाली खेलाडीलाई बाँड्न आतुर छु’, उनले भने, ‘पछिल्लो समय नेपाली क्रिकेटले राम्रो गरिरहेको छ । नेपाली क्रिकेटलाई अझैमाथि लैजान आफ्नो तर्फबाट हरसम्भव कोसिस गर्नेछु ।’
एस्टविकले ३७ प्रथम श्रेणी र ४२ लिस्ट ‘ए’ खेल खेलेका छन् । उनले प्रथम श्रेणीमा एक सय ४१ विकेट लिनुका साथै तीन सय ७६ रन बनाएका छन् ।