काठमाडौं : इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईदउलफित्र’ आज मनाइँएको छ। ईदको अवसरमा काठमाडौंको घण्टाघर लगायतका कश्मिरी मस्जिद परिसरमा मुस्लिम समुदाय नमाज पढ्न बिहानै घुईँचो लागेको हो।
मुसलमानहरुले धार्मिक ग्रन्थ कुरान अवतरणको सुरुवात भएको यो महिनालाई रमजान (रोजा–उपवास) लिने महिना समाप्त भएको भोलिपल्ट ईदउलफित्र मनाउने गरेका छन्। यो पर्वका लागि मुसलमान समुदायले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्ने गर्दछन् ।
ईदलाई मुस्लिम समुदायले आपसी सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाएका छन् । विशेष नमाज पढिसकेपछि आफूभन्दा ठूलावडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा यस पर्वमा रहेको छ ।
ईस्लामिक पात्रो अनूसार हिजरी संवतको रमदान महिनाभर व्रत बसेका इस्लाम धर्मावलम्बीले सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँने गर्छन्।
ईद पर्वको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।
हेर्नुहोस् काठमाडौंको घण्टाघरमा देखिएका दृश्य । तस्बिर :अभिशेक महर्जन