कीर्तिमानी दीपेन्द्रसिंह ऐरी

कीर्तिमानी दीपेन्द्रसिंह ऐरी
तस्बिर : क्यान
सुन्नुहोस्

काठमाडौं : दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा नेपालले एसीसी टीट्वेन्टी प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको । ओमानमा शनिबार भएको खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो।

ओमानको मस्कटस्थित अल अमेरातमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका दीपेन्द्रले दुई विकेट पनि लिएका थिए। कतारका बलर कमरान खानको अन्तिम ओभरमा दीपेन्द्रले ६ छक्का प्रहार गरेका थिए। उनले २१ बलमा सात छक्का र तीन चौकाको मद्दतमा अविजित ६४ रन बनाए। उनले १९ बलमै अर्धशतक पूरा गरेका थिए।

दीपेन्द्रले लगातार ६ छक्का प्रहार गरेको यो दोस्रो पटक हो। यसअघि चीनको हाङआचोमा गत असोजमा भएको १९औं एसियाली खेलकुदमा उनले मंगोलियाविरुद्ध नौ बलमै अर्धशतक बनाउने क्रममा दुई ओभरमा लगाएर लगातार ६ छक्का प्रहार गरेका थिए। एकै ओभरमा दीपेन्द्रले ६ छक्का प्रहार गरेको भने यो पहिलो पटक हो।

अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने दीपेन्द्र पाँचौं खेलाडी हुन्। यसअघि दक्षिण अफ्रिकाका हर्सल गिब्सले २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्स, सन् २००७ मै भारतका युवराज सिंहले टीट्वेन्टी विश्वकपमा इङ्ल्यान्ड, वेस्ट इन्डिजका काइरन पोलार्डले श्रीलंका र अमेरिकाका जसकरण मलहोत्राले पपुवा न्युगिनीविरुद्ध एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १० रनको योगफल खडा गरेको थियो। नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतकीय पालि खेले। उनले ४१ बलमा ६ चौकाको सहयोगमा ५२ रन बनाए। यस्तै कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रनको योगदान दिए। कतारका हिमांशु राठौड र मुसावर साहले तीन÷तीन विकेट लिए। यस्तै अमिर फारुकले एक विकेट हात पारे।

जवाफी ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ७८ रन मात्रै बनाउन सक्यो। कतारका कप्तान मोहमद तनवीरले अर्धशतकीय पालि खेले। उनले ३३ बलमा चार छक्का र ६ चौकाको मद्दतमा ६३ रन बनाए। यस्तै मोहमद अनाफले २३, हिमांशु राठौडले २२, एड्नान मिर्जाले १९ र कमरान खानले १८ रनको योगदान दिए। नेपालका दीपेन्द्र, ललित राजवंशी र गुलसन झाले दुई/दुई विकेट लिए। यस्तै कुशल मल्ल र अविनाश बोहराले एक/एक विकेट हात पारे।

नेपालले अब सोमबार हङकङ र बुधबार साउदी अरेबियासँग खेल्नेछ। यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्। यस्तै समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान, बहराइन, कम्बोडिया र कुवेत छन्। हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। उपाधि विजेता टोलीले एसिया कप क्रिकेटमा 
स्थान बनाउने छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.