काठमाडौं : एसीसी प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल र हङकङबीचको खेल वर्षाको कारण प्रभावित भएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा खेल हुनु अगाडि हल्का वर्षा भएको हो।
बर्षाका कारण खेल केहि समय पछाडि धकेलिएको क्यानले जनाएको छ। अहिले पिच कभरले ढाकिएको छ। वर्षा रोकिएपश्चात टस हुने भएकाले ओभर घटाएर खेल हुने सम्भावना छ।
हङकङलाई पराजित गर्दै नेपाल लगातार तेस्रो जित निकाल्ने दाउमा छ। आजको खेलमा अंक बाँडिएको खण्डमा नेपाललाई समूह विजेता बन्न सकस पर्नेछ।
समूह ‘ए’ मा रहेको नेपाल चार अंकका साथ शीर्ष स्थानमा छ। उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन्। नेपाल पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई पराजित गर्दै विजयी भएको थियो। समूह ‘ए’मा साउदी अरब दोस्रो,मलेसिया तेस्रो, हङकङ चौथो स्थानमा छन्। हङकङले सेमिफाइनलको यात्रा तय गर्न आज नेपाललाई हराउनुपर्ने दबाब छ।
नेपाली राष्ट्रिय टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, अनिल साह, सन्दीप जोरा, करण केसी, विवेक यादव, प्रतिश जिसी, सोमपाल कामी, ललितनारायण राजवंशी र अभिनास बोहरा रहेका छन्।
समूह ‘बी’मा ओमान,युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। समूह ‘बी’मा ओमान चार अंकका साथ शीर्ष स्थानर युएई चार अंककै साथ दोस्रो स्थानमा छ।
प्रिमियर कपको गत संस्करणको उपाधि नेपालले जितेको थियो। अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो। अघिल्लो संस्करणमा पनि नेपाल प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएको थियो।
एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानले सहभागिता जनाउँछन्। सन् २०२३ को एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो। समूह चरणको अन्तिम खेल वैशाख ५ गते साउदी अरबसँग हुनेछ। प्रतियोगितामा वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया दिनुहोस !