नागढुंगा सुरुङमार्गको ब्रेक थ्रुपछि जापानी दूतावासले भन्यो- नेपालको विकासमा महत्वपूर्ण कोसेढुंगा
काठमाडौं : नागढुंगा सुरुङमार्गको 'ब्रेक थ्रु'पछि जापानी दूतावासले नेपालको विकासमा महत्वपूर्ण कोसेढुंगा भएको बताएको छ। नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपालीको गौरव भन्दै यसले महत्वपूर्ण कोसेढुंगा पार गरेको बताएका छन्।
२ हजार ६८८ मिटरको उक्त सुरुमार्गको ब्रेक थ्रु भएको भन्दै राजदूत युताकाले थुप्रै चुनौतीहरू पार भएको स्पष्ट पारे। उनले नेपाली र जापानी सरोकारवालाहरूलाई बधाई समेत दिए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७६ कात्तिक ४ गते शिलान्यास गरेपछि सुरुङमार्गको निर्माण थालिएको थियो। कूल २२ अर्ब रुपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा-आन्द्रो जेभीले सुरुङमार्गको ठेक्का लिएको हो। तर, कोरोना महामारीका कारण सुरुङमार्ग निर्माणमा ढिलाइ भएको थियो। यो आयोजनामा जापान सरकारको ऋण १६.६ अर्ब र नेपाल सरकारको ५.५३ अर्ब रुपैयाँ खर्च हुने बताइएको छ।
दूतावासले यो सुरुङमार्गले त्यस क्षेत्रमा हुँदै आएको ट्राफिक समस्या समाधान हुने अपेक्षा गरेको छ। दूतावासले सुरुङमार्ग निर्माणका क्रममा अत्यन्तै कठिनाइ भोग्नुगरेको बताएको छ।
'उत्खननका क्रममा मुख्य सुरुङमा भारी वर्षाका कारण अप्रत्याशित भेल बग्ने, पहिरो खस्नेजस्ता समस्या उत्पन्न भयो। कोरोना माहामारीले पनि प्रगतिमा ढिलाइ हुन गयो,' दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ। यसअघि बीपी राजमार्ग निर्माणमा बटुलेका अनुभवले चुनौतीहरूको सामना गरेको दूतावासले उल्लेख गरेको छ। यस परियोजनाले नेपाली युवा इन्जिनियरहरूलाई उन्नत जापानी सीपहरू हस्तान्तरण गर्ने अवसर प्रदान गरेको दूतावासको भनाइ छ।