संक्रामक रोगहरूको जोखिम

संक्रामक रोगहरूको जोखिम

गर्मी र मनसुन सिजनको आगमनसँगै विभिन्न प्रकारका संक्रमणहरू देखिने/फैलने जोखिम बढ्दै गइरहेको छ।

केही दिनअगाडि झाडापखाला लागेर घरमा बसिरहेका एक बिरामीले उपचार तथा परामर्शको लागि लेखकसँग सम्पर्क गरेका थिए।  त्यस्तै ज्वरोका बिरामीहरू पनि विस्तारै देखिन थालेका छन्।  गर्मी मौसमको आगमनसँगै झाडापखाला र ज्वरोजस्ता मुख्य लक्षणहरू लिएर संक्रमितहरू बढ्दै गइरहेको माथि उल्लेखित उदाहरणले संकेत गर्दछ।  यी संक्रमणहरू विशेषतः खानपान, किर्ना÷लामखुट्टेको टोकाइ वा श्वास–प्रश्वासबाट फैलने गर्दछ।  भाइरल हेपाटाइटिस (‘ए’ र ‘इ’), टाइफाइड, हैजा, लेप्टोस्पाइरोसिस, बु्रसेलोसिस, ठेउला, दादुरा, फ्लु, फुड पोइजनिङ, लेप्टोस्पाइरोसिस आदिजस्ता रोगहरू देखिने छन्। 

पछिल्लो समय कोभिड– १९ पनि थपिएको छ।  यीबाहेक कीटजन्य रोगअन्तर्गत डेंगु, चिकुनगुनिया, वेस्टनाइल भाइरस, स्क्रब टाइफस, लाइम डिजिजजस्ता रोगहरू देखिनेछन्।  कीटजन्य रोगहरू विशेषतः मनसुन प्रवेश गरेसँगै देखिनेछन्। 

आजभोलि जारको पानी पिउने चलन बढ्दो छ।  यस्तो पानी सुरक्षित मानिने र सिधै पिउने गरिन्छ।  तर गर्मी महिनामा यस्तो पानीको माग ह्वात्तै बढ्ने हँुदा सो माग धान्न बजारमा प्रदूषित पानी हालेर बेच्ने पनि गरेको विगतका अनुभवहरूले देखाउँदछ।  लेखकले पहिलो पटक जारको पानीबाट मानिसमा हैजा फैलिएको पत्ता लगाएको थियो।  सो समयमा धेरैजसो लेखकको सो दाबीप्रति सशंकित भएको÷हुने गरेको हिजो जस्तो लाग्दछ।  सो दाबीको पुष्टि आधिकारिक संस्थाबाट तीन–चार वर्षपछि मात्र भयो।  अहिले लगभग हरेक वर्षजसो जारको पानीमा फेकल कोलिफर्म देखिने÷भेटिने गरेको समाचार आउने गर्दछ।  केही दिनअगाडि मात्र पनि स्वास्थ्य कार्यालय ललितपुरले जारको पानीमा फेकल कोलिफर्म देखिएको सार्वजनिक गरेको थियो।  यसबाट कुनै पनि दिन÷समय ज्वरो वा झाडापखालाका बिरामी बढ्ने प्रबल सम्भावना देखिन्छ।  कडा झाडापखाला गराउने संक्रमणमध्ये हैजा एक प्रमुख कारक हो÷मानिन्छ र नेपालमा यो लगभग बर्सेनिजसो देखिँदै आइरहेको पनि छ।  दुई वर्षअगाडि (सन् २०२२ मा) मात्र पनि काठमाडौंमा हैजा फैलिएको थियो। 

काठमाडौंमा अस्पताल÷क्लिनिकहरू पर्याप्त भएकोले मृत्युको संख्या नहुने वा अति न्यून हुने गरेको भए पनि काठमाडौं बाहिर फैलिए समयमा उपचार नपाएर संक्रमितले मृत्युवरण गर्नु परेका विगतमा धेरै घटनाहरू छन्।  चौलानी पानीजस्तो दिसा हुनु, बान्ता हुनु, मांसपेशीका (विशेषत खुट्टाका) बाउँडिनु, बेचैनी हुनु हैजाका मुख्य लक्षणहरू हुन्। 

केही घण्टाभित्र उपचार नपाए बिरामी अति जलवियोजनको कारणले अचेत भई मृत्युसमेत हुने गर्दछ।  २०७८ साल असोज महिनामा कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा फैलिएको हैजाबाट संक्रमितको समयमा उपचार नपाउँदा झन्डै आधा दर्जनले ज्यान गुमाउनु परेको थियो। 

कीटजन्य रोगअन्तर्गत डेंगु भाइरस विशेषगरी पछिल्लो केही वर्षयता आक्रामक रूपमा प्रस्तुत हुँदै आइरहेको देखिन्छ।  प्रत्येक प्रकोपसँगै डेंगु झन्झन् कडा÷जटिल हुँदै गइरहेको र मृत्युको संख्या पनि बढ्दो देखिन्छ।  यो वास्तवमा चिन्ताको विषय हो।  लामखुट्टे नियन्त्रण अभियानमा सम्बन्धित निकाय र नागरिक उदासीन हुनु÷देखिनुले थप÷अझ चिन्ता बढाइदिएको छ।  सन् २०२२ मा काठमाडौंमा देखिएको डेंगु महामारी कोभिड– १९ को दोस्रो लहरभन्दा कम देखिएको थिएन। 

लेखकले आकस्मिक कक्षनजिकै बिरामी उपचार गर्दैगर्दा दैनिक दर्जनको हाराहारी हिँड्दाहिँड्दै अचेत हुने गरेको देखेको थियो।  यसबाट पनि आगामी दिन नेपालको लागि डेंगु ठूलो जनस्वास्थ्य चुनौतीको रूपमा खडा हुने प्रस्टै देखिन्छ।  सन् २०२२ को डेंगु महामारीमा डेंगुजस्तो लक्षण भएका तर परीक्षण गर्दा नेगेटिभ भएर विभिन्न अस्पतालका आईसीयूमा (स्नायु प्रणालीमा जटिलता देखिएर) उपचार गराएका पनि थिए।  डेंगु फैलाउने एडिस जातको लामखुट्टेले वेस्टनाइल भाइरस पनि फैलाउन सक्ने भनिएको छ।  सन् २००९–२०१० मा गरिएको अनुसन्धानले काठमाडौंमा वेस्टनाइल भाइरस पनि पुष्टि गरेको थियो।  सो समय १४ जनामा यो भाइरसले संक्रमित गरेको देखिए पनि हालसम्म सर्वसाधारणलाई यो रोगबारे खासै थाहा छैन भने स्वास्थकर्मीबीच पनि बहस भएको पाइँदैन।  अधिकांश संक्रमित (झन्डै ८० प्रतिशत) मा लक्षण नै देखिँदैन।  बाँकीमा ज्वरोसँगै अत्यधिक जिउ दुख्ने, बान्ता हुने, जोर्नी दुख्ने, पखाला लाग्ने तथा शरीरमा बिमिरा देखा पर्ने गर्दछ।  संक्रमण जटिल भएमा विशेषत स्नायु प्रणालीमा असर गर्ने गर्दछ।  स्नायु प्रणालीमा असर गरे झन्डै १० प्रतिशतको मृत्यु हुने गर्दछ।  यस्तो जटिलताको जोखिम विशेषतः ज्येष्ठ नागरिकमा उच्च हुने गर्दछ।  नेपालमा हालसम्म वेस्टनाइल भाइरसको परीक्षण नियमित भने हुने गरेको छैन। 

नेपालमा बर्सेनि आक्रामक उपस्थिति देखाउँदै आइरहेको अर्को कीटजन्य रोग स्क्रब टाइफस हो।  टाइफाइडसँग मिल्दोजुल्दो देखिने यो संक्रमण पछिल्लो केही वर्षयता व्यापक बढ्दै गइरहेको तथ्यांकले देखाउँदछ।  उच्च ज्वरो आउनु, आँखा रातो देखिनु, अत्यधिक टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या देखिने, कानमा कृत्रिम आवाज सुनिने, शरीरमा बिमिरा देखिने, लिम्फ ग्रन्थी सुन्निनेजस्ता लक्षणहरू स्क्रब टाइफसमा देखिने गर्दछ।  छालामा देखिने घाउको कालो पाप्रो (‘स्कार’) स्क्रब टाइफस पहिचान गर्न सबैभन्दा उत्तम मानिन्छ।  यो ‘माइट’ भन्ने परजीवीले मान्छेमा सार्छ।  समयमा स्क्रब टाइफस पत्ता लगाउन सके पूर्ण रूपमा निको हुनेछ।  तर समयमा पहिचान गर्न नसके फोक्सो, मस्तिष्कलगायत विभिन्न अंगमा जटिलता आई बिरामीको मृत्युसमेत हुन सक्छ। 

गर्मी र मनसुन सिजनको आगमनसँगै विभिन्न प्रकारका संक्रमणहरू देखिने÷फैलने जोखिम बढ्दै गइरहेको छ।  हरेक वर्षजस्तै सम्भवतः धेरै मानिसहरू यात झाडापखाला वा ज्वरोका लक्षणहरू लिएर स्वास्थ्य केन्द्र वा क्लिनिक÷अस्पतालसम्म पुग्नेछन्।  तर यदि हामीले खानपान, व्यक्तिगत सरसफाइमा ध्यान दिने, लामखुट्टे नियन्त्रणमा उत्साह÷चासो देखाउने गरे संक्रामक रोगबाट हुन सक्ने प्रकोप÷महामारीलाई रोक्न वा समयमा नै नियन्त्रणमा लिन सकिनेछ। 

डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.