कुबेलामा हिउँ परेकाले वीरेन्द्रतालमा हिउँपहिरो

कुबेलामा हिउँ परेकाले वीरेन्द्रतालमा हिउँपहिरो
सुन्नुहोस्

गोरखा : ‍गोरखाको वीरेन्द्रतालमा ९ वर्षपछि ठूलो हिउँपहिरो झरेको छ। आइतबार बिहान पौने ९ बजे सो तालमा हिउँपहिरो खस्दा बूढीगण्डकीमा पानीको बहाव बढेको थियो। एक्कासि आएको बाढीले सामागाउँ र साम्दो जोड्ने खोलामाथिको काठेपुल बगाएको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। 

घटना हुँदा ताल वरिपरि पर्यटकहरू भए पनि अप्रिय घटना भने नभएको उनले बताए। घटनालगत्तै स्थानीयवासी र मनास्लु पदमार्गमा रहेका विदेशी पर्यटकलाई यथा समयमा सचेत गराएर सुरक्षित राखिएको डीएसपी श्रेष्ठले बताए।

यसअघि २०७२ साल चैत २६ गते बिहान ६ बजे गाउँभरि बाफले ढाकिने गरी हिउँपहिरो गएको थियो।  विज्ञहरूका अनुसार कुबेलामा भएको हिमपातका कारण हिउँपहिरो गएको हो। पुस, माघमा पर्नुपर्ने हिउँ चैत, वैशाख लागेपछि परेकाले हिउँपहिरो झरेको मौसम तथा जलवायुविज्ञ ङमिन्द्र दाहालले जानकारी दिए। उनका अनुसार वीरेन्द्रताल हिमताल नभई हिमालमा रहेको ताल मात्र हो।

‘डिसेम्बर, जनवरीमा पर्नुपर्ने हिउँ मार्च लागेपछि परेकाले वीरेन्द्रतालमा हिउँपहिरो गएको हो’, दाहालले भने, ‘त्यसैले यस घटनालाई स्वाभाविक पनि लिन सकिन्छ, अस्वाभाविक पनि लिन सकिन्छ। अस्वाभाविक यस अर्थमा, ग्लोबल वार्मिङको दुष्प्रभावले कुबेलामा हिउँ पर्‍यो। स्वाभाविक यस अर्थमा तापक्रम बढेर तल्लो भागको हिउँ पनि कमजोर, कमजोर भएर पग्लिने अवस्थामा पुगेका बेला माथिबाट ताजा हिउँको भार परेपछि जम्न सकेन र पहिरोका रूपमा झर्‍यो।’ 

हिउँपहिरो अत्यन्त बेगिलो र तेजिलो हुने उनले बताए। ‘हिउँपहिरो पानीजस्तै बिजुली निस्कन सक्ने बेगमा झर्छ’, दाहालले भने, ‘निकै जोडले हिउँपहिरो खस्दा तालमा रहेको पानी विस्थापित भएर बाहिर निस्क्यो र यो अवस्था आयो।’ यस्तो घटना हिमालका मान्छेले नदेख्ने ठाउँमा पनि भइरहेको उनले बताए। ‘वीरेन्द्रताल त गाउँबस्ती नजिकै भयो, मान्छेले देखे र प्रचार भयो, तर यस्ता घटना हिमालका अन्य क्षेत्र, जहाँ मान्छेले देखेका छैनन्, पनि भइरहेको छ’, उनले भने।

हिमपहिरोले बूढीगण्डकीमा आइतबार दिनभरिजसो बाढी चलिरह्यो। अपराह्नतिर पानीको बहाव विस्तारै कम हुन गई पर्यटक तथा स्थानीयवासी आवतजावत गर्न सक्ने भएको प्रहरीले जनाएको छ। हिमपहिरोको बेगले तालको पिँधदेखि नै खोतलेर पानी बगेकाले 
तालको भविष्य खतरामा पर्न सक्ने स्थानीयको अनुमान छ।

पर्यटकमाझ चर्चित वीरेन्द्र ताल 

चुमनुब्री गाउँपालिका— १ साबिक सामागाउँ गाविसमा वीरेन्द्रताल पर्दछ। सामागाउँबाट करिब आधा घण्टाको उकालो पदयात्रा गरेपछि पुगिने यो ताल समुन्द्री सतहबाट ३,६९१ मिटर उचाइमा पर्दछ। मनास्लु हिमालको फेदीमा, मनास्लु बेसक्याम्प जाने बाटोमा पर्ने यो ताल पर्यटकीय दृष्टिकोणले अत्यन्त चर्चित छ।

२०३४ सालमा तत्कालीन राजा वीरेन्द्र सामागाउँको भ्रमणमा जाँदा स्थानीयवासीले सम्मानका खातिर यस ताललाई राजाको नाम दिएका हुन्। त्यसभन्दा अघि यसको नाम यमच्छो थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.