१ किलो बढी सुन, करिब डेढ करोड रुपैयाँसहित ७ जना पक्राउ
काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र झन्डै १ करोड रुपैयाँसहित सातजनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा कार्यालयको टोलीले अवैध सुन, नगदसहित सातजनालाई पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो।
उनीहरूको साथबाट सुन जस्तो देखिने पहिलो धातु ९ थान, (तौल १ हजार ७६८ ग्राम) ,१ करोड ४३ लाख ६० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। सुन बिक्रीवितरण गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका -३ टाँटेका ४७ वर्षीय गणेशदत्त बडू,आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल हुन्। यसैगरी भारत महाराष्ट्रका अमोल विभुते,ऋषिकेश प्रकाश विभुते र गणेश सतिश बाल्टे पक्राउ परेको प्रहरीले जानकारी गराएको हो।
पक्राउ परेका गणेश दत्त बडू यसअघि २०७४ भदौ १९ गते ठमेल क्षेत्रबाट बरामद भएको ८८ केजी सुन प्रकरणमा पनि जोडिएक व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो घटनामा गिरोहले चीनबाट तस्करी गरेर सुन ल्याएको प्रारम्भिक निचोड निकालेको छ ।