हात्तीबाट जोगाउन सामुदायिक वनमा बेसार खेती

हात्तीबाट जोगाउन सामुदायिक वनमा बेसार खेती
सुन्नुहोस्

झापा  : झापामा जंगली हात्तीको आतंकले यहाँका कृषक आजित बनेका छन्। भारतबाट प्रवेश गरेका जंगली हात्तीको बथान मेचीनगरको बाहुनडाँगी नाका हुँदै अहिले चारकोशे जलथल जंगललाई आफ्नो रैथाने बास स्थान बनाएर बसेको छ। 

भद्रपुर, कचनकवल, हल्दिबारी र बाह्रदशी पालिकाले घेरिएको जलथल जंगलमा २२ सामुदायिक वन पर्छन्। सामुदायिक वन उपभोक्ता समूह र त्यहाँका कृषकले लगाएको अन्नबाली हात्तीले कुल्चिएर र खाएर बर्सेनि क्षति पु¥याउँदै आएको छ। जसका कारण वन उपभोक्ता समूह र कृषकहरू हात्ती विकल्पसँगै माइकेनिया मिक्रान्था र तीतेलहरा वनमारा मिचाहा प्रजातिको न्यूनीकरण र व्यवस्थापन गर्ने योजना बनाएर अघि बढेको पाइएको छ। 

अहिले वन उपभोक्ता समूहहरू जंगलभित्रै वैकल्पिक खेतीको रूपमा अर्गानिक बेसार (हल्दी) खेतीतर्फ आकर्षित भएको देखिन्छ। 

भद्रपुरको दियालो र विशाल, हल्दिबारीको पाथीभरा कालिका, कचनकवलको दुर्गाभिट्टा र त्रिवेणी सामुदायिक वनले जंगलभित्रै अर्गानिक बेसार खेती गर्दै आइरहेको छ। भद्रपुर–१ स्थित दियालो सामुदायिक वन उपभोक्ता समूहले विगत दुई वर्षदेखि करिब सात हेक्टर जमिनमा अर्गानिक बेसार खेती गर्दै आइरहेको समूहका अध्यक्ष देवकुमार लिम्बूले बताए। यो हात्ती प्रभावित क्षेत्र हो। हात्तीको समस्याका लागि बेसार खेती उचित ठानेर लगाइएको हो। ‘हात्तीले अरू अन्नबाली नष्ट गरे पनि बेसारमा त्यति क्षति पुर्या‍उँदैन,’ अध्यक्ष लिम्बूले भने, ‘बेसारको पात पनि हात्तीले खाँदैन, जंगलमा हिँडडुल गर्दा हात्तीले कुल्चिन्छ मात्र, त्यति धेरै नोक्सानी चाहिँ गर्दैन।’

यो वनमा दिउँसो हात्तीले त्यति आक्रमण गरेको छैन। साँझपख जंगलभित्र हात्ती निस्किन्छ। भोलिका दिनमा के हुन्छ त्यो अहिले नै भन्न सकिँदैन। बेसार खेतीमा काम गर्न जाने उपभोक्ताहरू बिहान ८ बजे जान्छन्, साँझ ५ बजेभित्र जंगलबाट निस्किसक्छन्। काम गरिरहेका बेला दिउँसो हात्ती निस्केमा उनीहरू सुरक्षित स्थानतर्फ लागि जान्छन्। हात्तीसँगै माइकेनिया मिक्रान्था र तीतेलहरा वनमारा मिचाहा प्रजातिको न्यूनीकरण र व्यवस्थापनका लागि पनि बेसार खेती उपयुक्त रहेको उनले बताए। यो खेतीले जंगलभित्रको ठूला बोटबिरुवा हुर्काउन पनि सहयोग पुर्या‍उँदै आएको उनको भनाइ छ। 

स्थानीय उपभोक्तालाई रोजगारी सिर्जना गरिरहेको बताउँदै उनले भने, ‘६० देखि ७० घरपरिवारले रोजगारी पाएको छ, जसले शुद्ध अर्गानिक बेसार उत्पादनमा पनि मद्दत पुगेको छ।’ काँचो बेसारभन्दा सुकाएर पिस्न लाइक बनाएको ‘सिम्टा बेसार’ अघिल्लो वर्ष करिब ३० क्विन्टल उत्पादन गरेर बेचेका थियौं। यस वर्ष पनि उत्पादन बढ्छ। ‘यस वर्ष करिब ४० क्विन्टल उत्पादन हुने लक्ष्य राखेका छौँ,’ उनले भने। पहिला बजारीकरणमा समस्या थियो। अहिले बिस्तारै सहज हुँदै गएको उनले बताए। 

विगतका वर्षहरूमा भद्रपुर नगरपालिकाको ध्यान यस क्षेत्रमा परेको थिएन। यस वर्ष बल्ल नगरपालिकाको ध्यान यहाँ परेको छ। ‘नगरको कृषि शाखाले कृषि र मसलाजन्य वस्तु भनेर बेसार खेतीलाई सहयोग गर्ने आश्वासन दिएको छ,’ उनले भने। नगरपालिकाले सहयोग गरेलगत्तै बेसार खेतीभित्रै तेज पत्ताको बिरुवा लगाउने योजना रहेको उनको भनाइ छ। 

स्थानीय उपभोक्ता सावित्रा तामाङका अनुसार बेसार खेतीले यहाँका गाउँलेलाई रोजगारी दिएको छ। जंगलभित्र काम गर्दा हात्तीको डर लाग्छ। तर, अहिलेसम्म हात्तीले हानि चाहिँ गरिहालेको छैन। ‘खेती नजिकैको खोल्सामा पानी खान बेलाबेला हात्ती आउँछ, हात्ती कराएपछि हामी काम छाडेर सुरक्षित स्थानतर्फ गइहाल्छौँ,’ तामाङले भनिन्। 

त्यसैगरी भद्रपुर–१ स्थित विशाल सामुदायिक वन उपभोक्ता समूहले दुई वर्षदेखि बेसार खेती लगाउन सुरु गरेको हो। पहिलो वर्ष उपभोक्तालाई दिए पनि यस वर्ष वन समूह आफैंले लगाउन सुरु गरेको समूहकी सचिव विनिशा लिम्बूले बताइन्। 
वनभित्र यो खेती लगाउँदा हात्तीलगायत जंगली जनावरले दुःख नदिने, आम्दानी पनि हुने र उपभोक्ताहरूले रोजगारी पनि पाउने गरेको उनले बताइन्। यहाँ उत्पादन भएको काँचो बेसार दियालो वनमा बिक्री गर्ने गरेको उनको भनाइ छ। 

त्यसैगरी, हल्दिबारीस्थित पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहले बेसारलाई प्राथमिकतामा राखेर व्यवस्थित खेती गर्ने योजना बनाएको छ। चार वर्षदेखि बेसार खेती गर्दै आइरहेका छौं। त्यो व्यवस्थित भएन, समूहका अध्यक्ष सागर पोर्तेलले भने, ‘अब व्यवस्थित खेती गर्ने योजनामा छौँ।’

तीन हेक्टर जमिनमा बेसार खेती लगाएका छौँ। यस क्षेत्रमा हात्तीको निक्कै समस्या छ। हात्ती, मृग र बँदेलले अन्नबाली खाइदिने, उखेलिदिने समस्याका कारण किसान आजित बनिसकेका छन्। ‘त्यसैले वन क्षेत्रभित्र बेसार खेती लगाउन सुरु गरेका हौँ, उनले भने, ‘ती जंगली जनावरहरूले बेसार खेतीलाई हानी पुर्या‍उँदैनन्, यसले रोजगारी र आम्दानी दुवै दिँदा फाइदा पुगेको छ।’   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.