जोमसोमका सार्वजनिक स्थानमा सवारी पार्किङ गरे कारबाही
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिकाले सार्वजनिक स्थानमा सवारी पार्किङ गरे कारबाही गर्ने भएको छ। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षतामा सोमबार भएको बसपार्क कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा भएको छलफलमा उक्त निर्णय भएको हो।
बैठकले घरपझोङ गाउँपालिकामा निर्माण सम्पन्न दुई बसपार्कलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। बैठकले सार्वजनिक स्थानमा सवारी पार्किङ नगर्न सम्पूर्ण होटल व्यवसायी र पर्यटक लगायतलाई अनुरोध गर्ने र नियम पालना नगरी अटेरी गरेको पाइएमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। घरपझोङ ३ र ४ वडामा रहेका बसपार्कको सञ्चालनलाई थप व्यवस्थित गर्दै लैजाने निर्णय गरिएको छ।