टोल विकास संस्थामा ३० प्रतिशत युवा अनिवार्य
बुटवल : बुटवल उपमहानगरपालिकाले टोल विकास संस्थाको कार्यसमितिमा अनिवार्य ३० प्रतिशत युवाको सहभागीता हुनुपर्ने निर्णय गरेको छ। १६ देखि ४० वर्ष उमेर समूहका युवाहरूको सहभागिता बिना टोल विकास संस्थाको कार्यसमिति मान्य नहुने उपमहानगरपालिकाले जनाएको छ।
कार्यपालिका बैठकले टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका संशोधन गर्दै युवाको सहभागिता अनिवार्य बनाउने निर्णय गरेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए। युवाहरूलाई विकाससँग जोड्दै प्रत्यक्ष सहभागी बनाउने उद्देश्यले निर्देशिका संशोधन गरिएको पाण्डेयको भनाइ छ। टोलदेखि नै विकासमा चासो बढाउने र विकासमा युवाहरूको सहभागिता बढाउने यसले सघाउ पुर्याउने उनको विश्वास छ।
यसअघि टोल विकास संस्थाका कार्यसमितिका पदाधिकारी समावेशी बनाउन कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था रहेकोमा युवाको सहभागिता सुनिश्चित गर्ने प्रावधान थप गरिएको हो पाण्डेयको भनाइ छ।