कपालीलाई छनोट प्रतियोगिताको जिम्मेवारी
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले टेबुलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई दुई फरक अन्तर्राष्ट्रिय टेबुलटेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी दिएको छ।
परिषद्को सदस्यसचिवस्तरीय निर्णयानुसार दुवै प्रतियोगिताका लागि कपालीको संयोजकत्वमा तीन सदस्यीय खेलाडी छनोट समिति गठन गरिएको छ। समितिका सदस्यमा नायव वरिष्ठ टेबुलटेनिस प्रशिक्षक मोहनदास बासुकला र सञ्जीव ढुंगेल छन्।
पहिलो प्रतियोगिता पेरिस ओलम्पिकका लागि हुने दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगिता हो। नेपालमै पहिलो पटक हुन लागेको यो छनोट प्रतियोगिता वैशाख ३१ देखि जेठ २ गतेसम्म हुनेछ। प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी पाँच् राष्ट्रबाट समान २–२ पुरुष/महिला गरी १० खेलाडी सहभागी हुने छन्। समान १–१ पुरुष÷महिला खेलाडीले पेरिस ओलम्पिकका लागि स्थान सुरक्षित गर्ने छन्। नेपालबाट पुरुषमा संयोग कपाली र श्यान्टु श्रेष्ठ तथा महिलामा नविता श्रेष्ठ र इभाना थापाले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
अर्को छनोट प्रतियोगिता दक्षिण एसियाली जुनियर टेबुलटेनिस प्रतियोगिताका लागि हुनेछ। श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि नेपाली खेलाडीको छनोट प्रतिस्पर्धा जेठ ३ देखि ५ गतेसम्म हुनेछ। यो छनोटबाट समान ६–६ पुरुष/महिला खेलाडीले श्रीलंका यात्रा पक्का गर्ने छन्।