लार्के सडकमा ३५ किलोमिटरसम्म चल्न थाले सवारीसाधन
गोरखा : उत्तरी गोरखाको लाइफलाइन बनेको बेनिघाट आरुघाट लार्के सडक निर्माण गर्न सडक विभागले नेपाली सेनालाई हस्तान्तरण गरेको सात वर्ष पूरा भयो। यो अवधिमा सो सडक ३५ किलोमिटरभन्दा धेरै निर्माण भएको छ।
कुल १५४ किलोमिटरमध्ये अति कठिन मानिएको ९२ किलोमिटर खण्ड निर्माण गर्न २०७४ साल वैशाखमा नेपाली सेनालाई हस्तान्तरण भएको थियो। नेपाली सेनाले जिम्मा लिएदेखि हालसम्म ३५ किलोमिटर सडकमा सवारीसाधन चल्ने भएको छ। हावाडाँडादेखि पाङसिङसम्मको सडकमा सवारीसाधन चल्न सक्ने भएको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ।
अहिले सेनाले कामदारलाई विभिन्न समूहमा विभाजन गरी काम गराइरहेको छ। ‘मुख्यगरी पाङसिङभिरमा जोडदार रूपमा काम भइरहेको छ’, सो सडकखण्डमा काम गरिरहेका नेपाली सेनाका कार्यदलका इञ्चार्ज मेजर विनोद भट्ट भन्छन्, ‘न्याकफेदीभन्दा करिब दुई किलोमिटर माथिसम्म पनि काम भइरहेको छ।’ बजेट पर्याप्त भएको भए उपकरणहरू न्याकफेदीभन्दा माथिको खण्डमा पनि लगेर तीव्र गतिमा काम हुने उनको भनाइ छ। यसवर्ष सो सडकका लागि सरकारले १० करोड रुपैयाँ उपलब्ध गराएको छ।
तिब्बतको सीमाना रुइलासम्मको १५४ किलोमिटरमध्य बेनिघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटर खण्ड सडक विभागले नै निर्माण गरेको थियो। बाँकी ९२ किलोमिटर सडक नेपाली सेनाले काम गरिरहेको हो। सेनाको काम लोकप्रिय भएकाले चुम उपत्यकाको सडक पनि नेपाली सेनाले नै बनाउनु पर्ने चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। जताततै विस्फोट गरेर पहाड फुटाइ काम गर्नुपर्ने हुँदा यस्तो काम नेपाली सेनलाई जिम्मा दिँदा सहज हुने ठानी सरकाले सो खण्डको काम गर्न सेनालाई जिम्मा दिएको हो।
३५ किलोमिटर खण्डमध्य धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा बेलिब्रिज पनि निर्माण भएको छ। माछाखोलासम्म यात्रुबाहक बस चल्छ भने माछाखोलाबाट पाङसिङसम्मको खण्डमा यात्रुका लागि जीप र सामान ढुवानीका लागि ट्रक र ट्र्याक्टर सञ्चालन हुने गरेको छ।