बागलुङमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बागलुङ : बागलुङमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ। जिल्ला फुटबल संघ बागलुङको आयोजनामा सोमबारदेखि २०८०/०८१ को जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको हो।
लिगको पहिलो खेलमा बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र)ले विजयी सुरुवात गरेको छ। बागलुङ कालिकाले उद्घाटन खेलमा रुद्रेपिपल युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
खेलको १ मिनेटमै रुद्रेपिपलका विजय बोहोराको आत्मघाती गोलको मद्दतले अग्रता लिएको बागलुङ कालिकाले खेलको ११ औं र १३ औं मिनेटमा मनिक श्रेष्ठले गोल गर्दै पहिलो हाफमा ३–० गोलको अग्रता दिलाएका थिए। दोस्रो हाफमा रुद्रेपिपलले खेलमा फर्किने प्रयास गरेको थियो। रुद्रेपिपलको लागि खेलको दोस्रो हाफको पहिलो मिनेटमा सन्तोष थापाले सुन्दर गोल गरेका थिए। जितसँगै बागलुङ कालिकाले तीन अंक बटुलेको छ।
यस्तै सोमबार नै भएको दोस्रो खेलमा पावर फिटनेश क्लब र कालिका भगवती युवा क्लबले ३–३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्। खेलको चौथो र सातौं मिनेटमा गोल गर्दै बरदान थापाले गोल गर्दै पावर फिटनेशलाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा दुई गोलको अग्रता लिएको पावर फिटनेशले दोस्रो हाफमा गोल बेहोर्न पुगेको थियो। कालिका भगवतीका सोनाम पुनले ह्याट्रिक गर्दै टिमको हार टारेका थिए। पुनले ५० औं, ५३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए। ६० औं मिनेटमा मनोज खत्रीले गोल गर्दै पावर फिटनेशलाई पुनः अग्रता दिलाए पनि कालिका भगवतीका सोनाम पुनले ६८ औं मिनेटमा ह्याट्रिक गोल गर्दै खेललाई बराबरीमा पुर्याए। बराबरीपछि दुवै टिमले एक/एक अंक बाढेका छन्।
जेठ ६ गतेसम्म सञ्चालन हुने जिल्ला लिगमा ८ टिमको सहभागिता रहनेछ। फुटबल संघले ८ टिमलाई दुई समूहमा विभाजन गरेर लिग सञ्चालन गरेको छ। लिगमा एक टिमले तीन खेल खेल्नेछन्। दुई समूहको शीर्षस्थानमा रहने दुई टिमले उपाधि विजेताको लागि प्रतिस्पर्धा गर्नेछन् भने पुछारमा हुने टिम रेलिगेशनमा पर्ने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले बताए।
लिगको समूह ‘क’मा बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, रुद्रेपिपल युवा क्लब, पावर फिटनेश क्लब र कालिका भगवती युवा क्लब रहेका छन् भने समूह ‘ख’मा रामरेखा फुटबल क्लब, गुठी युनाइटेड क्लब, वीर गोर्खाली युवा क्लब र बालजीवन खेलकुद क्लब रहेका छन्।
लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही ५ हजार प्रदान गरिने अध्यक्ष राजभण्डारीले बताए। प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले गरेका थिए।
प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेल रामरेखा फुटबल क्लब र गुठी युनाइटेड क्लब बीच हुनेछ भने दोस्रो खेल वीर गोर्खाली युवा क्लब र बाल जीवन खेलकुद क्लब बीच हुने जिल्ला फुटबल संघ बागलुङका महासचिव रेशम गोतामेले जानकारी दिए।