टिकटक साथीबाट बर्बाद भएकी सुमना, प्रहरीसँग माग्दैछिन् गुहार

टिकटक साथीबाट बर्बाद भएकी सुमना, प्रहरीसँग माग्दैछिन् गुहार
पीडित भनिएकी २२ वर्षीया युवती।
सुन्नुहोस्

वीरगन्ज : वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका माधव पासवानसँग टिकटकमार्फत भएको चिनजानले २२ वर्षीया सुमना (परिवर्तित नाम) लाई अहिले घर न घाटको बनाएको छ।

टिकटकमार्फत चिनजान भई सुमनासँग प्रेम सम्बन्ध गाँसेका माधवले विहेको प्रलोभन दिएर पटक-पटक शारीरिक शोषण गरे। तिनै माधवले अर्कै युवतीसँग विहे गरेपछि सुमना घर ना घाटकी भएकी हुन्। माधवले अर्कै युवतीसँग विहे गरेपछि धोखा खाएकी सुमना अहिले आफूलाई माधवले बलात्कार गरेको भन्दै उजुरी लिएर प्रहरीमा धाउन थालेकी छन्। 

सुमनासँग कसरी भयो धोखा? 

पर्सा वीरगन्ज-१८ की सुमनाका अनुसार दुबईमा रहेका पर्साको बहुदरमाई नगरपालिका-४ डोकैला बहुअरीका माधव पासवानसँग दुई वर्षअघि टिकटकमार्फत चिनजान भएको थियो। टिकटकमा भएको चिनजान ह्वाट्सअप र इमोमा पुगेपछि उनीहरू झन् नजिकए। नेपाल फर्किएलगत्तै सुमनासँग विहे गर्ने आश्वासन पनि दिएका थिए माधवले।

गत वैशाख १३ गते माधव दुबईबाट गाँउ फर्किए। भोलिपल्ट १४ गते माधवले सुमनालाई फोन गरेर गाँउ नजिकको नहरमा बोलाएर भेटे पनि। त्यसको चार दिनपछि वैशाख १८ गते माधवले सुमनालाई फेरि फोन गरेर गाँउको मठ नजिकै बोलाए। दुवैबीच भागेर विहे गर्ने कुरा पनि भयो। माधवले साइकलमा चढाएर सुमनालाई बाराको नितनपुर र छातापिपराको बीचमा पर्ने मकैबारीमा लगे। शारीरिक सम्बन्धको प्रस्ताव राखे । तर, सुमनाले विहेपछि मात्रै योसब हुन्छ भनेर जवाफ फर्काइन्। माधवले जिद्दी गरे। माधवले जबर्जस्ती शारीरिक सम्बन्ध राखेको सुमनाको भनाइ छ। उनी भन्छिन्,‘ जबर्जस्ती मसँग शारीरिक सम्बन्ध राखेपछि म रुन थाले। त्यसपछि माधवले आफ्नो केटा साथीलाई फोन गरेर बोलायो। उसको साथी मोटरसाइकलमा आएको थियो। मलाई मकैबारीमै छाडेर उनीहरू त्यहाँबाट भागे।’

साँझसम्म मकैबारीमै अलपत्र परेकी सुमनालाई नितनपुरका एक युवकले आफ्नो घरमा लगेर परिवारसँग राखेको उनले बताइन्। भोलिपल्ट विहान वैशाख १९ गते ती युवकले सुमनालाई वीरगन्ज बजारसम्म पुर्‍याइदिए। त्यसपछि सुमना जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका शाखामा पुगिन्। आफूसँग भएको घटनाको बेलिविस्तार लगाइन् प्रहरी सामु। तर, घटनास्थल बारा जिल्लामा पर्ने भएकाले पर्सा प्रहरीले सुमनालाई बाराकै प्रहरी कार्यालयमा जान सुझायो। 

वैशाख २० गते माधवविरुद्ध बलात्कारको जाहेरी लिएर सुमना र उनका बुबा इलाका प्रहरी कार्यालय सिमरामा पुगे। प्रहरीले उनीहरूको कुरा सुन्यो। जाहेरी भने दर्ता गरेन। आरोपित माधवलाई झिकाउन मातहतको प्रहरी चौकीलाई पत्रमात्रै काट्यो। तर, घर छाडेर फरार भएका माधव प्रहरीमा हाजिर भएनन्। 

समोबार छलफलका लागि दुवै पक्षलाई इलाका प्रहरी कार्यालय सिमराले बोलाएकोमा आइतबार नै माधवले बाराको मधुवनकी एक युवतीसँग भारत रक्सौलको मन्दिरमा गएर विहे गरेको सुमनाका बुबा बताउँछन्। उनी भन्छन्, ‘सोमबार दुवै पक्षलाई बोलाएको थियो सिमरा प्रहरी कार्यालयमा। हामी प्रहरी कार्यालयमा गयौं। तर केटा पक्षका कोही पनि आएनन्। सोधीखोजी गर्दा त्यो केटाले मधुवनकी एक केटीसँग रक्सौलको मन्दिरमा गएर विहे गरिसकेको थाहा पायौं। विहे गरेर त्यो केटा भारतमै लुकेर बसेको खबर पाएका छौं।’

सोमबार इलाका प्रहरी कार्यालय सिमरामा पुग्दा प्रहरी नायब उपरीक्षक चिरञ्जिबी दाहालले अझै केही दिन कुरौं नभए जाहेरी दर्ता गरौंला भनेर जवाफ दिएपछि आफूहरू निराश भएर फर्किएको सुमनाका बुबाले अन्नपूर्णपोष्टकर्मीलाई बताए। उनले भने, ‘मेरो छोरीको जीवन बर्बाद पार्ने त्यो केटालाई पुलिसले जसरी होस् पक्रेर जेल हाल्नुपर्छ। छोरीले न्याय नपाएसम्म म लडिरहन्छु।’

यता इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दाहालले भने आरोपित भनिएको माधव र उनका अभिभावकलाई प्रहरी कार्यालयमा हाजिर हुन पटक-पटक ताकेता गरे पनि नआएपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइसकेको बताए। पीडित भनिएकी युवतीको कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराइासकेको तर त्यसको रिपोर्ट आउन भने बाँकी रहेको उनले बताए। उनले भने, ‘जाहेरी आइसकेको छ। अब दर्ता हुन्छ। अस्पतालबाट मेडिकल टेष्टको रिपोर्ट आएपछि प्रहरीले आफ्नो प्रक्रिया अगाडि बढाउँछ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.