‘वीरगन्जमा धार्मिक पर्यटनको प्रचुर सम्भावना छ’
वीरगन्ज : भगवान् श्रीरामको जन्मभूमि भारतको अयोध्यास्थित राम मन्दिरका मुख्य आचार्य दुर्गा गौतमले वीरगन्ज आएर यहाँका हिन्दू मठमन्दिहरूको दर्शन गरेका छन्। अयोध्या धामबाट बुधबार वीरगन्ज आइपुगेका राम मन्दिरका मुख्य आचार्य गौतमले वीरगन्जको घडीअर्वास्थित श्रीराम जानकी मन्दिर र गीता मन्दिरमा पुगेर दर्शन गरेका हुन्।
करिब चार दशकदेखि निजी व्यक्तिको कब्जामा रहेको घडीअर्वास्थित रामजानकी मन्दिरलाई वीरगन्ज महानगरपालिकाले हालै अतिक्रमणमुक्त गराएको हो। अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन भएकै दिन गत माघ ८ गते भव्य धार्मिक अनुष्ठान गरेर भगवान् राम, माता सिता र हनुमानको मूर्ति प्राणप्रतिष्ठा गराएको थियो।
उक्त रामजानकी मन्दिरको दर्शन गर्दै मुख्य आचार्य गौतमले वीरगन्जका धार्मिक मठमिन्दरको संरक्षण र सौन्दर्यकरणमा यहाँका मेयर राजेशमान सिंहले देखाएको अग्रसरताको प्रशंसा गरे। उनले भने, ‘वीरगन्जमा भइरहेको हिन्दु धार्मिक स्थल, मठमन्दिरको संरक्षण तथा सौन्दर्यकरणको काम अत्यन्तै प्रसंशनीय छ। मेयर सिंहको चर्चा अयोध्यासम्म पनि पुगेको छ। त्यहाँ पुग्ने दर्शनार्थीहरूले पनि यहाँका मेयर साबको खूबै प्रसंशा गर्नुहुन्छ।’
धार्मिक स्थलहरूलाई अतिक्रमण मुक्त गर्नु र संरक्षण तथा प्रबद्र्धन गर्नमा वीरगञ्ज महानगरले थालेको कदम अनुशरणीय रहेको बताउँदै उनले वीरगन्जमा धार्मिक पर्यटनको बलियो सम्भावना रहेको पनि बताए। उनले वीरगन्ज महानगर अयोध्याको स्थानीय तथा प्रदेश सरकारसँग आपसी समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए।