पर्साको पटेर्वासुगौलीमा मधेसकै पहिलो थारु संग्राहलय बन्दै
वीरगन्ज : पर्साको पटेर्वासुगौली गाउँपालिका-२ मा मधेस प्रदेशकै पहिलो थारु संग्राहलय निर्माण गर्न थालिएको छ । वडा नम्बर २ स्थित भुमरीमाई पार्क परिसरमा गाउँपालिकाले थारु संग्राहलय निर्माण गर्न थालेको हो ।
बिहीबार थारु जातिका अगुवा एंव जेष्ठ नागरिक प्रमेश्वर गौरोले थारु संग्राहलय निर्माण कार्यको शिलान्याश गरे । पहिलो चरणमा गाउँपालिकास्तरीय २० लाख रुपैयाँको बजेटमा संग्राहलय निर्माणको काम सुरु गरिएको गाउँपालिकाकी उपाध्यक्ष ममता महत्तो थारुले जानकारी दिइन् ।
उनका अनुसार, संग्राहलयमा तीन वटा ब्लक बन्नेछ । त्यसमध्ये अहिले पहिलो चरणमा २० लाख रुपैयाँको लागतमा फस्ट ब्लक बनाउन थालिएको उपाध्यक्ष थारुले बताइन् । उनले भनिन्, ‘चालु आर्थिक वर्षमा फस्ट ब्लकका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । थप दुई ब्लकका लागि आगामी आर्थिक वर्षमा रकम विनियोजन गरेर काम अगाडि बढाइन्छ।’
२०८४ सालभित्र बृहत थारु संग्राहलय निर्माण गरी सञ्चालनमा ल्याउने लक्ष्य आफूहरुको रहेको उनले बताइन् । उनले पटेर्वा सुगौलीमा निर्माण गर्न लागिएको थारु संग्राहलय मधेस प्रदेशकै पहिलो थारु संग्राहलय रहेको बताइन् ।
गाउँपालिका अध्यक्ष दिनेश चौधरीका अनुसार, सग्राहलयमा थारु जातिको पहिचान र रितिसंस्कृति झल्किने घरका नमूना, थारुका पूर्वजले प्रयोग गरेका पहिरन, कृषि उपकरण,खानपानका सामग्री,थारु जातिका कूल देउताका मूर्ती लगायतका सामाग्री प्रदर्शनीका लागि राखिने छ ।
पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ स्थित भूमरीमाई पार्कलाई पर्यटकीय गन्तव्यको केन्द्र बनाउने योजनाका साथ काम भइरहेको र त्यसमै यो थारु संग्राहलयपनि बनाउन लागिएको उपाध्यक्ष महत्तोले बताइन् । पार्क परिसरमै आधुनिक कृषि बजार निर्माणको कामपनि भइरहेको उनले जानकारी दिइन् ।
बिहीबारको शिलाान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष महत्तो, वडाध्यक्ष विजय गैरेका साथै गाउँपालिकाका कर्मचारी,थारु जातिका अगुवा लगायतकोपनि उपस्थिति रहेको थियो ।