काठमाडौं : आफैंले जिताएका सांसदका गतिविधि हेरेर जनता भन्न थाले, ‘काम छैन भने सांसद बन्नू।’
संसदीय समिति बनाउने कि नबनाउने भन्नेमा महिनौं बितिसक्यो।
बनाउने कुरा मिल्यो रे !
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिने अडान बल्यो टुंगियो। तर, यसले समाधान अझै निकालेन। उही काइते झगडामा सांसदहरू दिन बिताइरहेका छन्।
मूल रूपमा गृहमन्त्री लामिछाने र कांग्रेस महामन्त्री गगन थापाको दोहोरीमा संसद्का धेरै दिन खेर गइसकेका छन्। आइतबार लामिछानेले संसद्मा बोलेको प्रत्युत्तर थापाले संसद् परिसरबाटै पत्रकार सम्मेलन गरेर दिएका छन्।
चुनौती दुवैका, दुवैलाई
उमेरले झन्डै एक वर्ष जेठाकान्छा हुन्, रवि लामिछाने र गगन थापा। कुनै बेलाका यी दाजुभाइ वाकयुद्धमा अन्तत: आमनेसामने भएका छन्। ४९ वर्षीय लामिछाने प्रतिनिधिसभा बैठकमा र ४८ वर्षका थापाले संसद् बाहिर एक अर्का आक्षेप मात्र लगाएनन, चुनौती नै दिए।
नेपाली कांग्रेसका महामन्त्री थापा राजनीतिमा झन्डै ३० वर्षअघि प्रवेश गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेले २०४६ सालदेखि नेपाल विद्यार्थी संघको सदस्यका रूपमा सक्रिय हुँदै राजनीतिमा प्रवेश थापालाई संसद्भित्र गम्भीर आक्षेप लगाए।
उपप्रधान एवं गृहमन्त्री लामिछानेले भने, ‘कांग्रेसका महामन्त्री थापाबाट त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति हुँदा पार्क बनाउन दिइएको बजेटमा ३० लाख रुपैयाँ भ्रष्टाचार भएको, त्रिविको वेबसाइट बनाउन ५ लाख पैसा लिएर वेबसाइट नबनाएको, प्याक्टबाट १५ करोड लिएर नुवाकोटमा बाख्रा पालन गरेको र गोल्फुटारमा मासु पसल खोलेको तर केही समयपछि बन्द गरेको समाचार आएको थियो। के यो र यस्तै समाचारका हेडलाइनका आधारमा नि संसदीय छानबिन समिति गठन गर्ने हो ?’
सहकारी ठगी : जीबी राईले गरेको फोहोर !
उपप्रधान एवं गृहमन्त्री लामिछाने ६ महिनादेखि सहकारी ठगी प्रकरणमा विवादित बनेका छन्। २०७९ सालबाट राजनीतिमा प्रवेश गरेका हुन्, लामिछाने। काठमाडौं–४ बाट निर्वाचित थापाले सहकारी ठगी प्रकरणमा संलग्नता भएको दाबी गरेपछि लामिछाने आक्रोशित भएका छन्। चितवन २ बाट निर्वाचित लामिछानेले व्यंग्य गर्दै भने, ‘जीबी राईले गरेका सबै फोहोर मैले सफा गर्नुपर्छ भन्ने छैन।’
ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई गोर्खा ग्रुप अफ कम्पनीको प्रमुख हुन्। राईले सञ्चालन गरेको ग्यालेक्सी फोर के टेलिभिजनका प्रबन्ध निर्देशक थिए, लामिछाने। टेलिभिजन सञ्चालनका क्रममा राईले सहकारीको रकम लगानी गरेका थिए। राई नेतृत्वको समूहले सातवटा सहकारी सञ्चालन गरेको थियो। जसमध्ये तीनवटा सहकारीमा जीबी नै अध्यक्ष छन्। सहकारी नेटवर्क खडा गरी बचतकर्ताको अर्बौं रकम ठगी गरेका राई फरार छन्।
कांग्रेस महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता रहेको प्रमाण भएको दाबी गर्दै आएका छन्। त्यसका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग उनको छ। तर, लामिछानेले आफूमाथि अन्याय भएको जिकिर गरे। ‘संसदीय छानिबनका लागि बाध्य पार्ने कार्य अनुचित हो। अनैतिक हो। अराजनैतिक हो। अवैधानिक हो। अन्याय हो। अति हो र अत्याचार गर्नु हो। म अत्याचार, अन्याय सहन तयार छु,’ उनले भने।
देउवालाई व्यंग्य
आफूमाथिको अभियोगमाथि बोल्न पाउनुपर्ने माग राख्दै आएका हुन्, लामिछाने। प्रतिनिधिसभाको बैठकमा बोल्ने अवसर पाएका लामिछानेले अधिकांश समय नेपाली कांग्रेसका नेताहरूप्रति लक्षित गर्दै व्यंग्य गरे।
लिखित सम्बोधनका साथ रोष्ट्रममा उभिएका लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा, पत्नी आरजु देउवा राणा, उपसभापति धनराज गुरुङ, महामन्त्री थापासहितका नेताहरूबारे पनि विभिन्न समाचार प्रकाशित भएको चर्चा गर्दै छानबिन समिति बनाउन तयार हो कि होइन ? भन्दै प्रश्न गरे।
कांग्रेस सभापति देउवालाई समेत व्यंग्य गर्दै आफूलाई प्रधानमन्त्रीको अफर गरेको बताए। ‘गृहमन्त्री हुन नैतिक रूपमा नमिल्ने भए प्रधानमन्त्री हुन चाहिँ कुन नैतिक रूपले मिल्ने रहेछ ? अफर गर्नेहरूले कान रातो पार्नुपर्दैन। म राजनीतिमा गोपनीयतालाई ख्याल राख्ने मान्छे हुँ’, कांग्रेसले गरेको प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेका कारण संसदीय छानबिन समितिको माग गरिरहेको लामिछानेको दाबी थियो।
‘राति प्रधानमन्त्रीको अफर। अफर अस्वीकार गरेपछि भोलिपल्ट सदन अबरुद्ध र संसदीय समितिको माग। यो राजनीतिक नैतिकताको कुनचाहिँ किताबको कुनचाहिँ पृष्ठमा पर्छ ?’ लामिछानेले प्रश्न गरे। उनले आफूलाई संसद्मा बोल्न नदिएकोमा आपत्ति जनाए। लामिछानेले भने, ‘बीपी, किसुनजी र गणेशमानजीको पार्टी यस्तो अलोकतान्त्रिक हुन्छ ? लोकतान्त्रिक दलले अर्को पार्टीको सांसदलाई बोल्न नदिने निर्णय गर्न मिल्छ ? यो कुन अभ्यास हो ?’
मिडियादेखि रुष्ट
एफएम रेडियो, टेलिभिजन हुँदै विभिन्न सञ्चार गृहको सञ्चालकको अनुभव बटुलेका छन्, लामिछानेले। तर, प्रतिनिधिसभाको बैठकमा उनले आफूमाथि मिडियाले निरन्तर प्रहार गरेको आरोप लगाए।
मिडियालाई जवाफ दिन आफू तयार नभएको र मिडिया मिलाउन पनि नलाग्ने उनको भनाइ थियो। ‘सदनमा बोल्न पत्रपत्रिका मिडिया पढ्नुपर्ने रहेछ, कानुनको लाइन–लाइन पढ्न पर्ने भनेको पत्रिकाको हेडलाइन पढ्नुपर्ने रहेछ,’ लामिछानेले भने, ‘मिडियाको हेडलाइनले अपराध गर्ने मान्छे डराउँछ होला। रास्वपा कायरहरूको पार्टी होइन रवि लामिछाने कायर हैन,’ उनले भने, ‘हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैन। खेल्न र हार्न केही छैन, झुठा मुद्दा र उजुरीसँग डराउँदैन। झुक्न एक इन्च पनि स्वीकार्य छैन।’
गगनले दिए चुनौती
गृहमन्त्री लामिछानेले संसद्मा विपक्षी नेपाली कांग्रेसका नेताहरूमाथि कटाक्ष गरे। छानबिनको दायरामा पर्न सक्ने धम्की थिए। आफूमाथिको सहकारी ठगीको आरोपमा कम बोले। कांग्रेस महामन्त्री थापाका अनुसार, गृहमन्त्री लामिछानेले संसदमा आफू अगाडि र पछाडि कोही पनि बोल्न नहुने जिद्दी गरेका थिए।
गृहमन्त्री लामिछानेले बोलिसकेपछि आफ्नो कुरा सदनमा राख्न सभामुख देवराज घिमिरेलाई अनुरोध गर्दा समय नमिलेको उनले बताए। गृहमन्त्री लामिछानेको आरोप लगाए लगत्तै कांग्रेस महामन्त्री थापाले पत्रकार सम्मेलन गरे। आफूमाथि छानबिन समिति बनाउन चुनौती दिए। गृहमन्त्री लामिछाने संसदीय छानबिन समितिबाट लामिछाने डराएको उनको दाबी थियो।
‘सूर्य दर्शन सहकारीकबाट रवि लामिछानेले ऋण लिनु भएको प्रमाण यो कागज हो,’ सञ्चारकर्मीलाई कागजात देखाउँदै महामन्त्री थापाले भने, ‘सूर्यदर्शन सहकारीमा माग फारम भरेर सिग्नेचर गरेर मलाई १ करोड चाहियो भनेर भरेको फारम यो हो। सुप्रिम सहकारीबाट पनि कहिले २ करोड कहिले १ करोड लिएको रिपोर्ट छ।’
महामन्त्री थापा २०७३ सालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए। लामिछानेले भनेका थिए, ‘स्वास्थ्यमन्त्री भएका बेला १४ करोड लिएर कसैले प्राध्यापक राजकुमार रौनियारलाई बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति बनाएको र पैसा बुझाउनुपर्ने भन्दै आएका दाबीहरू पनि समाचारमा प्रशस्त आएका थिए।’ संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले रास्वपाकै मात्र छानबिन समिति बनाउन पनि चुनौती दिए। ‘हेर्नुस् त आज मलाई उहाँले के–के भन्नुभयो। म फेरि उहाँलाई अनुरोध गर्छु, लौ न तपाईंले एउटा छानबिन समिति बनाइदिनुस्,’ महामन्त्री थापाले चुनौती दिए, ‘गगन थापामाथि छानबिन गर्न रास्वपा पार्टीकै मात्र छानबिन समिति बनाइदिए पनि हुन्छ, लौ न बनाइदिनुस्।’
छानबिन समितिको माग राख्दै हिउँदे अधिवेशनदेखि नै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ। गत साता संसद्मै सत्ता र प्रतिपक्षका सांसदबीच धकेलाधकेल नै भएको थियो। कांग्रेस महामन्त्री थापाले भने,‘सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसदका कामकारबाही अघि बढ्न सक्दैन।’
प्रतिनिधिसभा र पत्रकार सम्मेलनमार्फत रवि लामिछाने र गगन थापाको आरोप प्रत्यारोप
रवि लामिछाने : सूर्यदर्शन सहकारीको एक पैसा पनि मेरो खातामा आएको छैन।
गगन थापा : सूर्यदर्शन सहकारीकबाट रवि लामिछानेले ऋण लिनुभएको प्रमाण यो कागज हो। सूर्यदर्शन सहकारीमा माग फारम भरेर सिग्नेचर गरेर मलाई एक करोड चाहियो फारम यो हो।
ooo
रवि लामिछाने : संसदीय छानबिनका लागि म कहिल्यै डराएको छैन।
गगन थापा : संसदीय छानबिन समितिप्रति गृहमन्त्री डराइरहनु भएको छ।
ooo
रवि लामिछाने : मिडियामा विगतमा विभिन्न नेताका बारेमा आएका समाचारका आधारमा संसदीय समिति बनाउन हामी तयार भएका हौं ?
गगन थापा : गृहमन्त्रीले त धमाधम फाइल खोल्ने हो नि ! फाइल खोलेर देखाउनुहोस्। धम्काउने होइन। गगन थापामाथि छानबिन गर्न रास्वपा पार्टीकै मात्र छानबिन समिति बनाइदिए पनि हुन्छ, लौ न बनाइदिनुस्।
ooo
रवि लामिछाने : देशका गोप्य सूचना बेच्ने एजेन्टलाई पनि संसद्बाट बाहिर पठाइयोस्।
गगन थापा : म फेरि उहाँलाई अनुरोध गर्छु, लौ न तपाईंले एउटा छानबिन समिति बनाइदिनुस्।