एमालेको प्रश्न : विश्वासको मत लिने प्रक्रियासमेत अवरोध गरेर कांग्रेसले कस्तो लोकतान्तिक अभ्यास गर्न खोजेको हो ?
काठमाडौं : नेकपा एमालेले सरकार परिवर्तन गर्न गरिएका प्रयास विफल भएको कांग्रेसले सदनमा व्यक्त गरेको दाबी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको बैठकमा चौथो पटक आज विश्वासको मत मागेपछि उनको समर्थन गर्दै एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पर्दाभित्रबाट सरकार बदल्ने खेल माकुरोको जालो जसरी च्यातिएपछि कांग्रेसमा बेचैनी, छट्पटी भएको दाबी गरेका हुन्।
उनले संवैधानिक व्यवस्था अनुसार मुलुकलाई अगाडि बढाउनुपर्ने धारणा राखे। पौडेलले जसपा नेपाल र एकीकृत समाजवादीसमेतलाई लक्षित गर्दै भने, ‘यो प्रतिनिधिसभाले सरकार परिवर्तन होइन, यो सरकारलाई अझ धेरै बल दिन चाहन्छ भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ। सरकार परिवर्तनको प्रयास माकुरोको जाल जसरी च्यातिएपछि स्वभाविक रुपमा त्यसका प्रतिक्रियाहरु सदनमा प्रकट भइरहेका छन्।’
उनले एमाले मुलुकलाई स्थिरता दिन कांग्रेस लगायत विपक्ष दलले पनि विश्वासको मत दिनुपर्ने धारणा राखे। विश्वासको मत लिने प्रक्रियासमेत अवरोध गरेर कस्तो लोकतन्त्रको अभ्यास गर्न खोजेको भन्दै पौडेलले प्रश्न गरे। उनले भने,‘संविधानको व्यवस्था अनुसार जब सम्माननीय प्रधानमन्त्री ज्यूले सदनको विश्वास लिनका लागि अग्रसर हुनुभएको छ। विश्वासको मत लिने प्रक्रिया समेत अवरोध गरेर कांग्रेस कस्तो लोकतन्त्रको अभ्यास गर्न खोजेको हो ?
पौडेलले पहिले पनि कांग्रेसले विश्वासको मत दिएर लोकतान्त्रिक संस्कार प्रकट गरेको स्मरण गरे। उनले भने,‘प्रधानमन्त्रीले विश्वासको मत छ भनेर पुन: विश्वासको मत लिदा पनि सदन अवरोध गर्ने यो कस्तो खालको लोकतन्त्रको अभ्यास हो ? कांग्रेसका सांसदहरुलाई आग्रह गर्छु तपाईंहरुले वेल घेराउ गरिराख्नुभएको छ, सहमतिमा आउनुहोस्।’
पौडेलले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा बनेको सरकारले सबै समस्या समाधान गर्दै मुलुकमा सुशासन कायम हुन्छ भन्ने विश्वास जनतामा जाग्न सुरु भएको बताए। उनले अहिले मुलुकमा विकासले स्पष्ट दिशा तय गरेको जिकिर गरे। उनले सहज रुपमा संसदको क्रियाकलाप अघि बढाउने वातावरण बनाउन आग्रह समेत गरे।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज चौथो पटक आज विश्वासको मत मागेका छन्।